नेपालगन्ज समाचारदाता
नेपालगन्ज, वैशाख २५ गते । राप्ती नदीमा पुल नहुँदा बाँकेका तीन वटा गाउँपालिकाका स्थानीय बासिन्दा ज्यान जोखिममा हालेर डुङ्गामा वारपार गर्न बाध्य हुँदै आएका छन् ।
बर्सौंदेखि यहाँका बासिन्दाले राप्ती नदीमा पुल निर्माणको माग गर्दै आएका भए पनि हालसम्म पुल निर्माण हुन सकेको छैन ।
राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले खेतीपातीका लागि पनि नदी पार गर्नुपर्ने बाध्यता रहेको छ । सीमापारि भारतीय बजार र सदरमुकाम नेपालगन्ज पुग्न छिटो र छोटो दुरी हुने भएकाले पनि यहाँका तीन वटा पालिकाका स्थानीयले डुङ्गाको प्रयोग गर्दै आएका छन् ।
राप्तीसोनारी कुडवाका नरेश लुहारले राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणका लागि बर्सौंदेखि माग गर्दै आए पनि हालसम्म सुनुवाइ नभएको दुःखेसो पोख्नुभयो । उहाँले बर्खाको बेला बाढीका कारण पटक पटक डुङ्गा दुर्घटना भई धेरै स्थानीयले ज्यान गुमाए पनि हालसम्म सरकारको ध्यान नगएकोमा चिन्ता प्रकट गर्नुभयो । त्यसै गरी राप्ती सोनारी खल्ला झगडियाका दुर्गाप्रसाद पाण्डेले पिप्रहवाघाटमा करिब चार दशकअघि धेरै जनाको ज्यान जाने गरी डुङ्गा दुर्घटना भएको स्मरण गर्दै त्यति हुँदा पनि राज्यले यहाँको समस्या समाधान गर्न ध्यान दिन नसकेको बताउनुभयो । राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट डुडुवा गाउँपालिका जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा तत्कालै पुल निर्माणको प्रव्रिmयाअगाडि बढाउन स्थानीय बासिन्दाले सरकारलाई फेरि एक पटक गुहारेका छन् ।
नरैनापुरको लक्ष्मणपुरका इस्माइल खानले विगतमा हरेक जसो निर्वाचनको बेला नेता र मन्त्रीले पुल बनाउने आश्वासन मात्रै दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावपछि कसैले पनि यहाँतर्फ ध्यान दिएको देखिँदैन ।
उहाँले भन्नुभयो, “पारि खेतबारी छन् वारि गाउँबस्ती छ । राप्ती नदी नतरेर खेतबारी पुग्ने सकिँदैन । त्यसैले ज्यान जोखिममा हालेर डुङ्गाबाट नदी वारपार गर्नैपर्ने बाध्यता छ । हाम्रो बाध्यतामा मलम लगाइदिने मानिस अहिलेसम्म भेटिएको छैन ।”
सो क्षेत्रको राप्ती नदीमा पिप्रहवा, सतीघाट, बालपूर्वासहित तीन वटा घाट छन् । जहाँ वारपार गर्न सानो डुङ्गा राखिएका छन् । १० वर्षदेखि डुङ्गा चलाउँदै आउनुभएका माझी गुड्डु मल्लाहले नदी तर्दातर्दै तीव्र गतिमा उर्लेर आउने बाढीले डुङ्गा बगाउँदा धेरै पटक जीवन जोखिममा परेर बाँचेको अनुभव सुनाउनुभयो ।