• २५ वैशाख २०८३, शुक्रबार

असिनाले तरकारी खेतीमा क्षति

blog

शारदा समाचारदाता

शारदा (सल्यान), वैशाख २५ गते । सल्यानमा बुधबार दिउँसो परेको असिनापानीले तरकारी खेती तथा सुन्तलाबालीमा क्षति पु¥याएको छ । जिल्लाको कपुरकोट गाउँपालिका क्षेत्रमा लगाइएको तरकारी खेती र बागचौर नगरपालिका तथा छत्रेश्वरी गाउँपालिका क्षेत्रको सुन्तला बगैँचामा ठुलो नोक्सानी पुगेको किसानले बताएका छन् । 

कपुरकोट गाउँपालिकाका वडा नं. २ र ५ लगायतका क्षेत्रमा किसानले लगाएका टमाटर, काउली, बन्दालगायतका तरकारी बालीमा असिनाले क्षति पु¥याएको हो । कपुरकोट गाउँपालिका–५, खाली निवासी कृषक भीष्म बुढाले असिनापानीले आफूले लगाएको टमाटरलगायतका तरकारी बालीमा करिब ९० प्रतिशतसम्म क्षति गरेको बताउनुभयो । 

कपुरकोट–५, सिन्दुरेका किसान टङ्क नेपालीले भर्खरै सारिएका करिब आठ हजार काउलीका बेर्नामा असिनाले क्षति गरेको जानकारी दिनुभयो । असिनाले बेर्ना चुँडिएको, पातमा चोट लागेको तथा धेरै बिरुवा नष्ट भएको उहाँको भनाइ छ । कपुरकोट गाउँपालिकाले भने क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जनाएको छ । गाउँपालिकाका कृषि विकास शाखा प्रमुख गौरव बन्जाडेका अनुसार वडास्तरका कृषि प्राविधिक प्रभावित क्षेत्रमा खटिएर क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । उहाँले किसानलाई राहत उपलब्ध गराउन जिल्लामा सिफारिस गर्ने तथा गाउँपालिकाको विपत् व्यवस्थापन कोषबाट समेत सहयोग गर्न सकिने विषयमा छलफल थालिएको बताउनुभयो । कपुरकोट क्षेत्रका अधिकांश किसान बेमौसमी ताजा तरकारी खेतीमा निर्भर छन् ।

यस्तै असिनाले सुन्तलामा समेत व्यापक असर पु¥याएको छ । फल लाग्ने समयमा परेको असिनाले साना साना सुन्तलाका फल झारिदिएको, फलमा चोट पु¥याएको तथा बोटमै असर गरेको कृषकको भनाइ छ । छत्रेश्वरी–१, दमाचौरका कृषक केबी चन्दले व्यावसायिक सुन्तला खेतीमा यस वर्ष राम्रो उत्पादनको आशा गरिएकोमा असिनापानीले ठुलो क्षति पु¥याएको बताउनुभयो । “फल लाग्न थालेको बेला असिना प¥यो । धेरै फल भुइँमा झरेका छन्, बाँकीमा पनि चोट लागेको छ,” उहाँले भन्नुभयो । बागचौर नगरपालिका क्षेत्रका किसानले समेत भीषण असिनापानीले सुन्तलामा ठुलो क्षति गरेको बताएका छन् ।