बुलबुले समाचारदाता
सुर्खेत, वैशाख २५ गते । सुर्खेतमा अवैध रूपमा नदीजन्य पदार्थको दोहन गर्ने क्रम बढ्दो छ । प्रहरीले अवैध रूपमा नदी दोहन गर्ने सवारीसहित व्यक्ति पक्राउ गरी जिल्ला समन्वय समितिमा बुझाए पनि यो क्रम नरोकिएको प्रहरीले जनाएको छ ।
समितिद्वारा गरिने कारबाही र लिइने राजस्व न्यून भएकाले पनि अवैध रूपमा नदीजन्य पदार्थको चोरीनिकासी बढेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले बताउनुभयो । मङ्गलबार राति मात्र सुर्खेत प्रहरीले मापदण्डविपरीत नदी उत्खनन गरेको भन्दै सवारीसाधन नियन्त्रणमा लिएको छ । भेरीगङ्गा नगरपालिका–१३, सालटाकुरा र लेकबेँसी नगरपालिका–७, टुडेस्थित चिङगाडखोलाबाट तोकिएको मापदण्डविपरीत अत्यधिक मात्रामा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा सवारीसाधन नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
तीन एक्साभेटर, दुई ट्याक्टर र ढुवानी गर्ने १२ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्ड बनाएको छ । जस अनुसार उद्योग दर्तादेखि नवीकरणसम्मका प्रावधान भएको वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी टङ्कप्रकाश लामिछानेले बताउनुभयो । उहाँका अनुसार कारबाही गर्ने अधिकार धेरैलाई दिँदा थप समस्या भएको हो । प्रहरीले पठाएको पत्रका आधारमा वीरेन्द्रनगर नगरपालिकाले राजस्व लिने गरेको छ । सुर्खेतमा इजाजतबिना क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको जिल्ला समन्वय समिति सुर्खेतले जनाएको छ । मापदण्डविपरीत अवैध रूपमा सञ्चालित क्रसर उद्योगका कारण प्राकृतिक स्रोतको दोहनका साथसाथै कतिपय ग्रामीण बस्ती नै जोखिममा परेका छन् । अवैध रूपमा नदी दोहन बढ्दै गएपछि नौ वटै स्थानीय तहलाई परिपत्र गरिएको समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले बताउनुभयो । उहाँका अनुसार मापदण्डविपरीत अवैध रूपमा सञ्चालित क्रसर उद्योगका कारण प्राकृतिक स्रोतको दोहनका साथसाथै कतिपय ग्रामीण बस्ती नै जोखिममा परेका छन् । चुरेक्षेत्रमा पर्ने नदी र खोलाबाटै जथाभाबी ढुङ्गा, बालुवा र गिट्टीलगायतका नदीजन्य वस्तु निकाल्दा जिल्लाका आधा दर्जनभन्दा बढी बस्ती पहिरोको जोखिममा परेको भन्दै उहाँले सम्बन्धित पालिका बढी जवाफदेही बन्नुपर्ने बताउनुभयो । मापदण्ड मिचेर सञ्चालित क्रसर व्यवसाय र फितलो निगरानी पटक पटक उजागर हुने गरेको छ ।