• २५ वैशाख २०८३, शुक्रबार

हुम्लाका कुपोषित बालबालिका जुम्लामा

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), वैशाख २५ गते  । हिमाली जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिकामा गम्भीर कुपोषणबाट प्रभावित पाँच वर्षमुनिका बालबालिकालाई उपचारका लागि जुम्ला ल्याइएको छ । ताँजाकोट गाउँपालिकाका विभिन्न बस्तीमा गरिएको पोषण अवस्थाको मूल्याङ्कन (पोषण लेखाजोखा) का क्रममा ११ जना बालबालिका गम्भीर कुपोषणको अवस्थामा भेटिएपछि उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको हो ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पोषण पुनस्र्थापना केन्द्रका संयोजक महेन्द्र हमालका अनुसार ती बालबालिकासँगै १० जना आमालाई पनि उपचार तथा हेरचाहका लागि जुम्ला ल्याइएको छ । स्वास्थ्यकर्मीका अनुसार बालबालिकाको अवस्था अनुसार उपचार अवधि फरक फरक हुने छ । सामान्यतः उपचार अवधि कम्तीमा तीन हप्तादेखि पाँच महिनासम्म चल्न सक्छ । उपचार अवधिभर बालबालिका तथा उनीहरूको हेरचाहमा रहेका आमाका लागि आउनेजाने भाडा, बसोबास, खानपान र औषधोपचार सबै खर्च प्रतिष्ठानले नै बेहोर्ने गर्दै आएको छ । ताँजाकोट क्षेत्रमा कुपोषण समस्या गम्भीर बन्नुका प्रमुख कारणमा विकट भौगोलिक अवस्था, खाद्य असुरक्षा, जनचेतनाको कमी तथा स्वास्थ्यसेवामा पहुँचको अभाव रहेका छन् । 

हिमाली क्षेत्रमा बसोबास गर्ने धेरै परिवार पोषणयुक्त आहारको अभावका कारण उच्च जोखिममा पर्ने गरेका छन् । यस अभियानलाई सफल बनाउन सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी, गाउँपालिका सरकार तथा जिल्ला स्वास्थ्य सेवा कार्यालयले समन्वयात्मक रूपमा काम गरेका छन् ।  पोषण पुनस्र्थापना केन्द्रका संयोजक हमालका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णाली प्रदेशका विभिन्न पहाडी तथा हिमाली जिल्लाबाट आएका कुपोषित बालबालिकालाई निःशुल्क आवासीय उपचार सेवा प्रदान गर्दै आएको छ । यहाँ बालबालिकालाई पोषणयुक्त आहार, नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार उपलब्ध गराइन्छ । उहाँले विकट तथा दुर्गम क्षेत्रबाट कुपोषित बालबालिकाको पहिचान गरी समयमै उपचारमा ल्याउने कार्यलाई उच्च प्राथमिकता दिइएको पनि जानकारी दिनुभयो ।