गोरखापत्र अनलाइन
काठमाडौँ, फागुन ७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको पहिलो प्राथमिकता देश भएको बताउनुभएको छ । देश रहेमात्र यहाँको विकास गरी समृद्ध नेपाल बनाउन सकिने उहाँले स्पष्ट पार्नुभएको छ ।
बिहीबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उहाँले सो कुरा बताउँदै विकासको प्रमुख तगारो राजनीतिक अस्थिरता भएकाले स्थिर सरकार बनाउने मत दिन उहाँले मतदातामा आग्रह गर्नुभयो ।
“गत भदौ २३ र २४ को राजनीतिक हुण्डरी र विध्वंशपछि फेरि मुलु्कमा अनिश्चयको तुवाँलो बाक्लो गरी फैलियो। लामो सङ्घर्षको उपलब्धि संविधान र समग्र व्यवस्थामाथि धावा बोलियो। स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरियो” भन्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, “आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कातिर विवेक र जिम्मेवारी छ। भत्काउने र बनाउने दुई सोचबिचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ।”
“भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियो, कि देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ?” जिज्ञासा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “भदौ २३ को प्रदर्शनमा कसको घुसपैठ गर्यो ? शान्तिपूर्ण कार्यक्रम सकियो भन्दै घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो ?”
भदौ २३ र २४ का घटनाहरू स्वतःस्फूर्त थिए कि योजनाबद्ध थिए भन्दै अध्यक्ष ओलीले जिज्ञासा गर्नुभयो । निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो ? आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीमाथि किन आक्रमण गरियो ? भनेर उहाँले जिज्ञासा गर्नुभयो ।
“सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा जेनजी प्रदर्शनकारीका कुनै माग थिएनन् । हुँदै नभएको माग पूरा गरेझैं प्रणालीमाथि नै धावा बोल्नेगरी प्रतिनिधिसभाको विघटन किन गरियो ?” जिज्ञासा थप्दै भन्नुभयो, “यी प्रश्नहरू निर्वाचनमा आफ्ना आन्तरिक कमजोरी लुकाउन बनाइएको “देशी–विदेशी षड्यन्त्रको सिद्धान्त (कन्सिप्रेसी थ्योरी)” होइन। संविधान, व्यवस्था र हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न हामीले यसको जवाफ खोज्नैपर्छ।”
अस्थिरताको अन्त्य र राजनीतिक स्थिरताको लागि दशक लामो कठिन यात्रा गरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले संविधान जारी हुनुअघि मात्र हैन, त्यसपछि पनि दलहरूबिच कटुता र बेमेल रहेको, सरकार बनाउने र ढाल्ने अस्वस्थ दौडले जनतामा निराशा बढाएको बताउनुभयो ।
“पछिल्लो पटक ठुला पार्टीहरू मिलेको कारण समस्या आएको होकि भन्ने धेरैको प्रश्नमा म स्पष्ट पार्न चाहन्छु कि ठुला पार्टी मिलेकै कारण आजको सङ्कट आएको होइन । सङ्कट त एकता फुटाउन र अस्थिरताको चक्र फेरि चलाउन निम्त्याइएको हो” अध्यक्ष ओलीले थप्नुभयो, “संवैधानिक प्रक्रियाबाट स्थिर सरकार नढल्ने भएपछि खोजिएको अर्को बाटो, भदौ २३ र २४ गतेको घटना हो।”
देशको समृद्धिका लागि नीति र राजनीतिमा स्थिरता चाहिन्छ भन्नुहुँदै अध्यक्ष ओलीले स्थिरता नभए विकासको गति रोकिन्छ र अर्थतन्त्रप्रति भरोसा रहँदैन भन्नुभयो । देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने बाटोमा सबैभन्दा ठुलो तगारो राजनीतिक अस्थिरता हो, उहाँले भन्नुभयो ।
“निराशा हटाउन समृद्धिको सपना देख्नु अपराध थिएन, होइन। जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा सम्झौता हुँदैन, गरिँदैन” भन्नुहुँदै उहाँले थप्नुभयो, “अहिले ‘नयाँ कि पुरानो’ भन्ने बहस गर्ने गरिन्छ। आम मतदाताले देखि सक्नुभएको छ, नयाँ भनिएका धेरै पात्रहरूले स्थानीय वा सङ्घीय सरकारमा बसेर आफ्नो ‘क्षमता र हैसियत’ देखाइसकेका छन्।”
एमालेसँग विगतका कामका अभिलेखहरू रहेको बताउँदै उहाँले आन्दोलनमा मात्र होइन, नीति, सुशासन, र विकास निर्माणमा एमालेको कार्यशैली जनताले चिनेको उहाँको भनाइ छ। आगामी दिनमा सिंहदरबार, अदालत, संसद् भवन, र अन्य जलाइएका संरचनाहरूको पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी रहेको बताउँदै उहाँले भन्नुभयो, “निजी र व्यावसायिक क्षेत्रको ढलेको मनोबल उठाउनु पर्ने छ । शान्ति सुव्यवस्थाप्रति भरोसा फर्काउनु छ ।”
“एकचोटी दोहोर्याएर भन्छु– भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना होइन, नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण हो । राष्ट्रका विरुद्ध यति ठुलो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन् । हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन” उहाँले भन्नुभयो ।
“देशको भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति सुव्यवस्था, यी सबैभन्दा माथि केही छैन” अध्यक्ष ओलीले थप्नुभयो, “हामी निर्माणको पक्षमा छौं, उत्तेजनाको पक्षमा होइनौं। हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौं, त्यसैले कस्तै आक्रमणको बेलामा पनि मौन बस्दैनौं। हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं।”
आज फागुन ७ गते प्रजातन्त्र दिवस भएकाले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको उहाँले बताउनुभयो । “बलिदानपूर्ण सङ्घर्षबाट हामी रैतीबाट जनता बनेको दिन हो। राष्ट्रिय प्रजातन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।”
जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु उहाँले भन्नुभयो, “राष्ट्रियताको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, न्यायपूर्ण समतामूलक समाज निर्माणका निम्ति भएका सबै आन्दोलन र क्रान्तिमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।”