काठमाडौँ, फागुन ७ गते । आईसीसी टी–२० विश्वकपको समूह ‘बी’मा रहेको जिम्बावे समूह विजेता बनेको छ । टी–२० विश्वकप २०२६ को आयोजक श्रीलंकालाई ६ विकेटले हराउँदै समूह विजेता बनेको हो । एक खेल अगाडि नै सुपर एट प्रवेश गरिसेका दुई टिमको प्रतिस्पर्धामा जिम्बावेले बाजी मारेको हो ।
सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दिएको १७९ रनको लक्ष्य जिम्बावेले १९ ओभर तीन बल खेल्दा मात्र चार विकेट गुमाएर १८२ रन बनाएको हो ।
समूह चरणमा अपराजित जिम्बावे ७ अङ्क जोड्दै समूह विजेता बनेको हो सह–आयोजक श्रीलंका भने ६ अङ्क बनाउँदै समूहको उपविजेता बनेको छ ।
जिम्बावेको जितमा ब्रायन बेनेटले ४८ बलमा ६३ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ खेल्नुभयो । कप्तान सिकन्दर राजाले २६ बलमा ४५ रन बनाउनुभयो । उहाँ प्लेयर अफ द म्याच बन्नुभयो । उसका लागि तडिवान्से मारुमनीले ३४ र रायन बर्लले २३ रन थप्नुभएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि पथुमा निसान्काले अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले ४१ बलमा ६२ रन बनाउनुभएको थियो ।