• २ असोज २०८२, बिहिबार

दलहरूको ध्यान निर्वाचनमा

blog

काठमाडौँ, असोज २ गते । सरकारले प्रतिनिधि सभाको निर्वाचन २०८२ फागुन २१ गतेलार्ई घोषणा गरेपछि राजनीतिक दलहरूका नेताले निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिने क्रम सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरूले निर्वाचनै यतिबेलाको सही बाटो हुने बताएका छन् । पार्टीभित्र निर्वाचनको बहस सुरु हुन थालेको छ । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी तयारीमा लाग्न मातहतका कमिटीलाई फोनमार्फत निर्देशन दिनुभएको छ । निर्वाचन हुने गरी घोषणा भइसकेकाले प्रदेश पदाधिकारी, जनवर्गीय सङ्गठनका नेतालाई उहाँले बुधबार निर्देशन दिनुभएको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “अध्यक्षले पार्टी प्रदेश समिति र जनवर्गीय सङ्गठनका नेतालाई भर्चुअलमार्फत चुनावी तयारीमा लाग्न निर्देशन दिनुभएको हो । अब कुनै न कुनै रूपमा निर्वाचन सामना गर्नु पर्छ भन्ने अध्यक्षको भनाइ छ ।” 

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भन्नुभयो, “निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने अवस्था भयो भने दलहरू निर्वाचनमा जानु पर्छ ।” तर पार्टीले यसबारे बैठकबाट आधिकारिक निर्णय गर्ने उहाँको भनाइ छ । संसद् विघटन सम्बन्धमा संवैधानिक बाटोबाट निकास निकालिनुपर्ने धारणा राख्दै उहाँले यदि त्यसो नगरिए असंवैधानिक भनिएका एजेन्डा जनतामा लिएर जानु नै उत्तम उपाय हुन सक्ने बताउनुभयो । 

नेकपा एमालेका उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले लोकतन्त्रमा चुनाव एउटा महत्वपूर्ण माध्यम रहेको र चुनावले हालको असामान्य स्थिति लयमा ल्याउन सक्ने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, “चुनाव हुने स्थितिमा एमाले दृढतापूर्ण सहभागी हुन्छ । तर त्यहाँसम्म पुग्न पाउँछौँ कि पाउँदैनौँ भन्नेमा गम्भीर चिन्ता छ ।”

नेता ज्ञवालीले संसद् विघटन वैधानिक तरिकाले टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विघटित संसद्का आठ दलले विघटनमाथि गम्भीर प्रश्न उठाएका छन् । विघटनको टुङ्गो लागेपछि बल्ल मुलुक चुनावतिर जान्छ ।”

नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले जेनजी आन्दोलनबारे १६ बुँदामा विश्लेषण गर्दै सरकारलाई सहयोग गरेर निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यसले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटा–पक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढङ्गले अगाडि बढाउने बाटो खोलेको छ ।”

वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने र पार्टीभित्र पनि सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने उपमहासचिव शर्माको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अबको शान्तिपूर्ण बाटो निर्वाचनै रहेको बताएको छ । निर्धारित समयमा चुनावका लागि तयारीमा जुट्न आग्रह गर्दै रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भन्नुभयो, “शान्तिपूर्ण लोकतान्त्रिक विधिमार्फत भ्रष्टाचार, बेथिति र अत्याचार फाल्नु पर्छ, त्यो भनेको चुनावै हो । चुनाव समयमै हुनु पर्छ ।”

परिवर्तित परिस्थितिले राज्यको सुधार खोजेको र त्यसका लागि सुधार गर्न सक्ने जनप्रतिनिधि आउनु पर्छ, त्यसको माध्यम भनेको चुनाव रहेको उहाँको भनाइ छ ।