• १९ साउन २०८२, सोमबार

बढ्यो सार्वजनिक विद्युतीय सवारीप्रति आकर्षण

blog

काठमाडौँ, साउन १९ गते ।  सार्वजनिक विद्युतीय सवारी (इभी) प्रति व्यवसायी र यात्रुको आकर्षण बढ्दो छ । सवारी सङ्ख्या मात्र बढेको छैन, यात्रुको रोजाइ पनि विद्युतीय सवारी हुन थालेको छ । 

वातावरणमैत्री र ध्वनि प्रदूषणमुक्त मात्र होइन, एक पटक लगानी गरेपछि सञ्चालनमा खासै खर्चिनु नपर्ने भएकाले व्यवसायीहरू यसतर्फ आकर्षित छन् । सामान्यतया इन्धनको बसले दैनिक पाँच हजार पाँच सय रुपियाँको तेल खर्च गर्दा विद्युतीय बस एक हजार पाँच सयबराबरको चार्जबाट चल्छ ।

पछिल्लो समय विद्युतीय बस आयातको तथ्याङ्क हेर्दा पनि लगानीकर्ता र यात्रुको आकर्षण बढेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार एक वर्षमा ३१ अर्ब ७६ करोड रुपियाँबराबरको १३ हजार ५७८ विद्युतीय सवारी आयात भएका छन् । २०८०/८१ मा ११ हजार ७०१ वटा आयात भएका थिए । विद्युतीय सवारीसाधन आयातमा निरन्तर वृद्धि भइरहनुले पनि आकर्षण बढेको देखिन्छ । 

भन्सार विभागको २०८१/८२ को तथ्याङ्क अनुसार एक वर्षमा नौ अर्ब ४८ करोड रुपियाँभन्दा बढी मूल्यका यात्रुवाहक विद्युतीय सवारी आयात भएको छ । कुल तीन हजार १३२ वटा सार्वजनिक विद्युतीय बस, मिनीबस र माइक्रोबस आयात गर्दा करिब दुई अर्ब १० करोड रुपियाँ राजस्व सङ्कलन भएको देखिन्छ । 

सरकारले सार्वजनिक विद्युतीय सवारीलाई प्रोत्साहनको नीति लिएपछि ठुला विद्युतीय सवारी आयात ह्वात्तै बढेको देखिएको छ । आयात भएका तीन हजार १३२ सार्वजनिक विद्युतीय सवारी चीनबाट ल्याइएको छ । ५० किलोवाटसम्मका चार हजार ७३२ विद्युतीय सवारी र ५१ देखि १०० किलोवाट क्षमताका सात हजार ४३१ सवारी आयात भएको छ । 

भर्खर विद्युतीय सवारी सञ्चालन गरेको महानगर यातायातका सचिव केशव नेपालले भन्नुभयो, “अहिले काठमाडौँ उपत्यका धुलो धुवाँले तहसनहस छ । धुवाँ फाल्ने पुराना गाडीभन्दा नयाँ विद्युतीय बसमा यात्रा गर्न पाउँदा यात्रुको रोजाइ नहुने त कुनै भएन ।” एसी सुविधासहित अनलाइन भुक्तानीका साथै सिसी क्यामरासमेत हुने भएकाले यात्रुले सुरक्षित महसुस गर्ने गरेको खनालले बताउनुभयो । साझा यातायातले सञ्चालन गरेका विद्युतीय बस अपाङ्गतामैत्री भएकाले पनि आकर्षण बढेको व्यवसायी बताउँछन् । 

विद्युतीय बसको यात्रा आरामदायी र इन्धनबाट चल्ने बसले जस्तो स्वास्थ्यमा असर नपु¥याउने हुँदा वातावरणदेखि सबैका लागि उपयुक्त भएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो । आव २०८१/८२ मा चीनबाहेक भारतबाट तीन हजार २४६ विद्युतीय सवारी आयात गरिएको छ । त्यस्तै मलेसियाबाट ५०, जर्मनीबाट ४५, संयुक्त राज्य अमेरिकाबाट ११, दक्षिण कोरियाबाट छ र इन्डोनेसियाबाट चार वटा विद्युतीय सवारी आयात भएको तथ्याङ्क छ । 

सडकलगायतका भौतिक संरचना भने विद्युतीय सवारीमैत्री हुन नसकेको व्यवसायीको गुनासो छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “नेपालमा सबै हिसाबले विद्युतीय सवारी उपयुक्त छ । लगानी र आकर्षण पनि बढेको छ तर सडक संरचना भने पुरानै छन् । भौतिक पूर्वाधारमा पनि सरकारले ध्यान दिनु पर्छ ।”

आगामी आर्थिक वर्षसम्म सार्वजनिक विद्युतीय सवारी सङ्ख्या दोब्बरले बढ्ने देखिन्छ । सरकारले साझा यातायातमार्फत आगामी दसैँसम्ममा एक सय वटा ठुला विद्युतीय बस ल्याउँदै छ । महानगर र सुन्दर यातायातले पनि थप २०/२० वटा ठुला विद्युतीय बस ल्याउने बताएका छन् ।