• ७ पुस २०८१, आइतबार

जीवितै मूर्ति बनेका मानिस

blog

सन् १९१७ देखि १९२८ सम्म लगभग पाँच लाख मानिस यस्तो भयानक अवस्थाबाट ग्रसित थिए, जुन अवस्था कुनै भुताहा चलचित्रको कथा जस्तो लाग्दछ । पीडितहरू जीवित र होसमा थिए तर उनीहरू बिनाकुनै कारण आफू जकडिएको महसुस गर्दथे र उनीहरूको दिमागलाई त्यो अचल शरीर बन्धनगृहसरह नै थियो ।

इन्सेफ्लाइटिस लेथार्जीका (इएल) अर्थात् ‘दी स्लिपिङ सिक्नेस’ सर्वप्रथम युरोपमा देखा प¥यो । यो समस्या विश्वमा सबैतिर फैलिन धेरै समय लागेन । सन् १९१९ सम्म उत्तर अमेरिका, युरोप र भारतमा यो एक महामारी नै बन्यो । यो रोगले ग्रसित एक तिहाइ मानिसको मृत्युसमेत भएको थियो ।

बाँचेका मानिसमध्ये पनि आधा जतिले त आफ्नो वरिपरिको संसारसँग शारीरिक प्रतिक्रिया देखाउन आफूलाई असमर्थ पाए । जबकि उनीहरूको दिमाग वरपरको वातावरणप्रति पूर्णतया जानकार र सचेत रहन्थ्यो । ती पीडित मानिसको शरीर एक किसिमले जकडिएको थियो । कुनै बेला हल्का बोल्न, आँखा घुमाउन र हाँस्न सके पनि उनीहरू मूर्तिझैँ लाग्दथे । कैयौँ घण्टा, दिन हप्ता होइन कि महिनौँसम्म उनीहरूको शरीर स्थिर रहन्थ्यो । 

यो रोगको कारण अज्ञात नै छ तर एउटा सिद्धान्त के छ भने हरेक वर्षजसो शरीरमा सङ्क्रमण गरी घाँटी बस्ने समस्या ल्याउने जुन स्ट्रेप्टोकोकस ब्याक्टेरिया छ त्यसले मस्तिष्कमा सङ्क्रमण गर्दा मानिसको शरीरमा अचल बन्ने गर्छ । यस ब्याक्टेरियाले दिमाग सुन्नाउनाले यो समस्या आएको यस सिद्धान्तको मान्यता रहेको छ । एक अनुमान के पनि छ भने यस ब्याक्टेरियामा उत्परिवर्तन हुँदा शरीरको प्रतिरक्षा प्रणालीले उग्र भएर मस्तिष्कमा आक्रमण गर्दा पीडित व्यक्ति शारीरिक रूपमा असहाय बन्छ । 

तर कसैलाई पनि स्पष्ट पार्न सकेको छैन, किन यो रोग गायब भयो र कहिलेकाहीँ फेरि किन देखियो । सन् १९५० को दशकमा युरोपमा तथा १० वर्षपहिले चीनमा यो रोग देखिएको थियो । चीनमा १२ वर्षीय बालिका पाँच हप्तासम्म बिरामी पर्दा अस्पताल नै भर्ना गर्नु प¥यो । 

यस्ता कतिपय घटना आम भइसके वा इन्सेफ्लाइटिस लेथार्जीकाले कुनै दिन विश्वमा भयङ्कर सङ्कट ल्याउने हो ? वैज्ञानिकले स्पष्ट पार्न सकेका छैनन् । सन् २००४ मा इन्सेफ्लाइटिस लेथार्जीकासँग मिल्दोजुल्दो लक्षण भएका २० बिरामीको परीक्षणबाट मिलेको नतिजाले आशङ्का बढायो– के यो अझै पनि व्याप्त त छैन ? शरीर जकडेर राख्ने यस्तो रोग एक दुःखस्वप्न नै हो । यस्ता डरलाग्दा घटनाको समाधान कहिल्यै नहुने देखिन्छ । 

–युवामञ्च