फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर ६ गते । आउँदो फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गरी देशभर करिब साढे आठ लाख मतदाता थपिएका छन् । निर्वाचन आयोगले ९ असोजदेखि ५ मङ्सिरसम्म खुला गरेको मतदाता नामावली सङ्कलनमा कास्कीमा १७ हजार आठ सय ९४ मतदाता थपिएका हुन् ।
असोज ९ गते नामावली सङ्कलन सुरु हुनुअघि कास्कीमा महिला एक लाख ५३ हजार चार सय ६८, पुरुष एक लाख ४० हजार तीन सय ९० र अन्य चार गरी दुई लाख ९३ हजार आठ सय ६२ मतदाता थिए । पछिल्लो क्रममा नयाँ मतदाता थपिएपछि कास्कीमा तीन लाख ११ हजार सात सय ५६ मतदाता सङ्ख्या पुगेको छ ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले कार्यालयमा आएर नियमित प्रक्रियाबाट कास्कीमा पाँच हजार चार सय ४८ पुरुष, चार हजार दुई सय ४८ महिला र एक अन्यले मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिनुभयो ।
यसैगरी, राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट आठ हजार एक सय ९७ जना नयाँ मतदाता थपिएका छन् । कास्कीबाट यो अवधिमा मतदाता नामावली ठाउँसारी गर्ने सात सय पाँच जना छन् भने तीन सय ५२ जनाले कार्यालयमा आएर नामावलीको त्रुटि सच्च्याएका छन् ।
सूचना अधिकारी न्यौपाने मतदाताको यकिन विवरण आउन केही दिन लाग्ने बताउनुुहुन्छ । “अरु जिल्लाबाट ठाउँसारी गरी आउनेहरुको विवरण प्राप्त हुँदै छ । घरैबाट दर्ता गर्नेहरुको नामावली रुजू गर्दै छौँ,” उहाँले भन्नुभयो । नामावली रुजू गर्ने क्रममा केही थप विवरण आवश्यक परे वा त्रुटि सच्च्याउन परे मोबाइलमा सन्देश पठाइने उहाँको भनाइ छ।