अमरराज नहर्की
तनहुँ, मङ्सिर ६ गते । पृथ्वी राजमार्ग पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलमा ‘ग्रीडर लन्चिङ’ कार्य सुरू भएसँगै मुग्लिन–पोखरा खण्ड शनिबार देखि मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द गरिएको छ ।
मुख्य यातायात मार्ग भएकाले बिहान ६ देखि ८ र दिउँसो १२ देखि २ बजेसम्म पूर्ण तथा आंशिक रूपमा सवारी आवागमन रोकिँदा वैकल्पिक मार्ग प्रयोग गर्न योजना कार्यालयले आग्रह गरेको छ ।
योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेको ट्राफिक खुलाउन पनि मिल्ने व्यवस्था गरिएको छ ।
दुई पाङ्ग्रे तथा साना सवारीका लागि बुढीबजार–बेलचौतारा–चाउथे हुँदै आवतजावत खुला गरिएको छ भने ठूला सवारीले लेखनाथको पावर हाउस चोक–बागमारा–बिरौट मार्ग प्रयोग गर्नुपर्नेछ ।
सङ्घीय राजधानी काठमाडौँ र पर्यटकीय गन्तव्य पोखरालाई जोड्ने यो प्रमुख राजमार्ग अहिले मुग्लिन–पोखरा सडक योजना अन्तर्गत तीव्र गतिमा स्तरोन्नति हुँदैछ ।
स्तरोन्नति कार्यसँगै सडकमै सकारात्मक परिवर्तन देखिन थालेको छ । पोखरा–जामुने (पश्चिम) खण्डमा विस्तार र कालोपत्रे काम उल्लेख्य प्रगति गरेको छ ।
३८ किमि लामो यस खण्डमध्ये ३७ किमि एकतर्फी कालोपत्र पूरा भइसकेपछि स्थानीयवासी, व्यापारी तथा दैनिक यात्रुहरूले यात्रा सहज र सुरक्षित बन्दै गएको अनुभूति गरिरहेका छन् ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले धेरै भागमा कालोपत्र सकिएपछि यातायात निर्बाध र सहज भएको बताउनुभयो ।आयोजनाको इन्जिनियर सहनशीला कायस्थका अनुसार समग्र भौतिक प्रगति करिब ५९.८९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७.८० प्रतिशतमा पुगेको छ।
हालसम्म २९.६१ किमि चार लेन र ७.७९ किमि दुई लेन कालोपत्र सम्पन्न भइसकेको छ । तीमध्ये १८.८ किमि दुई लेन सडकमा दोस्रो तहको ‘अल्फाट’ तह पूरा गरिएको छ। यसैगरी सर्भिस लेनमा ३.०४ किमि कालोपत्र सकिएको छ ।
चालु आर्थिक वर्षमै १४ किमि कालोपत्रे कार्य सम्पन्न हुँदा यातायात सुगमता झनै बढेको छ । योजनाअन्तर्गत कल्भर्ट र पुल निर्माण पनि समानान्तर रूपमा अघि बढेका छन् ।
१०५ कल्भर्टमध्ये अधिकांश काम सकिएको छ भने पश्चिम खण्डका १२ पुलमध्ये ११ वटा पूरा भइसकेका छन् । पोखराको सेती नदीमा निर्माण भइरहेका पुलमा ५१.६१ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर टोलीले जनाएको छ ।
आवश्यक चार वटा पाइलक्याप र १२० वटा पाइल निर्माण भइसकेका छन्, जसले पुल निर्माणलाई तीव्र गतिमा अघि बढाएको छ । सडक र पुल निर्माण, कालोपत्र, नाला तथा संरचनागत काममा दैनिक औसत छ सय मजदुर खटिन्छन्।
मासिक रूपमा झन्डै १८ हजार मजदुरले रोजगारी पाउने गरी काम अघि बढिरहेको योजना कार्यालयले जनाएको छ ।२० जना परामर्शदाता प्राविधिक रूपमा खटिएकाले कार्यसम्पादन व्यवस्थित रूपमा हुँदै आएको आयोजनाले जनाएको छ ।
लक्ष्यअनुसार पोखराको सेतीपुल–तल्लो गगनगौँडा, तनहुँको दुलेगौंडा र खैरेनीटार बजार क्षेत्रमा ६ लेन सडक निर्माण हुनेछ भने अन्य भागमा ४ लेनको आधुनिक सडक बनाइँदै छ ।
नाला निर्माणमा ५१.५ किमि लक्ष्यमध्ये ४५.२ किमि काम सकिएको छ ।यद्यपि, कतिपय अवरोधले गर्दा केही काम प्रभावित भएका छन् ।
विशेष गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संरचना, पाईभेट टास्क हाइड्रोल प्रणाली, खानेपानीका संरचना सार्ने प्रक्रिया, रुख कटानीका अनुमति तथा स्थायी संरचना हटाउन ढिलाइले प्रगति केही सुस्त बनाएको इन्जिनियर टोली बताउँछ ।
सेतीपुल उत्तरतर्फका मगर समाजसहित तीन घर हटाउन प्रक्रिया नटुंगिँदा त्यही भागमा काम रोकिएको छ ।२०७८ जेठ ३ गते सम्झौता भएको यस खण्डको काम आगामी पुस १६ गतेसम्फधि पूरा गर्ने लक्ष्य छ ।
सडक बन्दका कारण केही दिन असुविधा भए पनि स्तरोन्नति कार्य तीव्र गतिमा अघि बढिरहेको कार्यालयको भनाइ छ । जसका परिणामस्वरूप चाडै नै यात्रुहरूले आधुनिक र सुरक्षित राजमार्गको अनुभव पाउने अपेक्षा गरिएको छ ।