• ६ मंसिर २०८२, शनिबार

विद्यार्थी अपहरणको श्रङ्खला बढेपछि नाइजेरियाका विद्यालय बन्द

blog

अबुजा (नाइजेरिया), मङसिर ६ गते । आतङ्कवादी समूहद्वारा विद्यार्थीको अपहरणको श्रङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालय बन्द गर्ने आदेश दिएको छ ।

नाइजेरियाको मध्य राज्य नाइजरको एक विद्यालयमा संदिग्ध आतङ्ककारीले आक्रमण गरी कम्तिमा २१५ विद्यार्थी तथा १२ जना शिक्षकलाई शुक्रबार अपहरण गरेको नाइजेरियाको क्रिश्चियन एसोसिएसन-क्यान)ले जनाएको छ ।

नाइजर राज्यका क्यानका प्रवक्ता डेनियल एटोरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अगवारा स्थानीय सरकारी क्षेत्रको निजी संस्था सेन्ट मेरी स्कूलमा आक्रमण गरी सन्दिग्ध आतङ्ककारीले विद्यार्थी र शिक्षकलाई बन्धक बनाएको बताउनु भएको छ । एटोरीले अपहरण गरिएका बच्चाका अभिभावकलाई भेटेपछि बच्चालाई उद्धार गरी सुरक्षितरूपमा फिर्ता ल्याउनका लागि सरकार र सुरक्षा निकायसँग मिलेर काम गरिरहेको बताउनु भएको छ ।  

नाइजर राज्य सरकारका सचिव अबुबकर उस्मानले घटनाको पुष्टि गर्नु भएको छ भने गुप्तचर रिपोर्टले राज्यका केही भागमा सुरक्षा खतरा बढेको सङ्केत गरेका छन् । सतर्कताको आधारमा सरकारले सबै निर्माण गतिविधि स्थगित गर्न र प्रभावित क्षेत्रका स्कुल अस्थायीरूपमा बन्द गर्न आदेश दिएको उहाँले बताउनु भएको छ । 

स्थानीय सुरक्षा निकायले विद्यार्थीको सुरक्षित फिर्ती सुनिश्चित गर्न पूर्ण अनुसन्धान तथा खोजी र उद्धार अभियान सुरु गरेको जनाइएका छन् । नाइजर राज्यका प्रहरी प्रवक्ता वासिउ अबियोडुनलाई उदृत गर्दै अपहरण गरिएका विद्यार्थीलाई उद्धार गर्नको लागि नजिकैको जङ्गलकामा सैन्य शक्ती र अन्य सुरक्षा एजेन्सीसहित अर्धसैनिक निकायलाई घटनास्थलमा तैनाथ गरिएको सिन्ह्वाले जनाएको छ ।

संघीय सरकारको स्वामित्वमा रहेका विद्यालय लक्षित यो निर्देशन यस अघि नै लागु भइसकेको शिक्षा मन्त्रालयको विज्ञप्ति मार्फत जनाएको छ । “देशका केही भागमा सुरक्षा चुनौतिको कारण सुरक्षा उल्लङ्घन रोक्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस अघि हप्ताको सुरुमा भएको आक्रमणमा उत्तरी राज्य केब्बीको सरकारी माध्यमिक विद्यालयका कम्तीमा २५ जना विद्याथी छात्रा पनि सन्दिग्ध आतङ्ककारीले अपहरण गरेको जनाइएको छ । रासस/सिन्ह्वा