काठमाडौँ, मङ्सिर ६ गते । नेपाली कांग्रेसले आउँदै गरेको निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र माघ ११ हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्य सचिवलाई बैठकले जिम्मेवारी दिएको छ ।
कांग्रेस बैठकले २८ असोजमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको लिखित मन्तव्यलाई स्वागतसहित अनुमोदन गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट र आगजनीका विध्वंसकारी घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय उपलब्ध गराउन सरकारसँग गरेको छ ।
जेनजी पुस्ताले आन्दोलनमार्फत् उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हकको सुनिश्चितताजस्ता प्रमुख विषय स्वाभाविक वैध र आम नागरिकका आवाज भएको कांग्रेसको निष्कर्ष छ ।
जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त शहीदहरूप्रति श्रद्धान्जली अर्पण गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घाइतेहरूको नि:शुल्क उपचार गर्न पनि माग गरेको छ ।