• २ कात्तिक २०८१, शुक्रबार

मासुका लागि उपत्यकामा ४८ हजार पशु खपत

blog

काठमाडौँ, कात्तिक २ गते । यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा ४८ हजारभन्दा बढी खसी, बोका, च्याङ्ग्रा, भेडा, बाख्री, राँगा बिक्री भएका छन् । पशु सेवा विभागका अनुसार दसैँलाई लक्ष्य गरेर काठमाडौँ उपत्यकामा मासुका लागि त्यो सङ्ख्याका पशु बिक्री भएका हुन् । 

दसैँका लागि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट एक हजार सात सय र निजी क्षेत्रबाट ४६ हजार ५७३ गरी ४८ हजार २७३ वटा पशु बिक्री भएको विभागले जनाएको छ । 

विभागका अनुसार यस पटक दसैँमा मासुका लागि बिक्री भएका पशुमध्ये सबैभन्दा बढी खसी ३६ हजार ७४२ वटा, च्याङ्ग्रा तीन हजार १२६, बोका एक हजार ६३५, भेडा छ सय, रागाँभैँसी एक हजार १७८ र बाख्री ८० वटा बिक्री भएका छन् । 

सो अवधिमा चार हजार ९१२ वटा कुखुरा आएका छन् भने १२९ मेट्रिकटन माछा भित्रिएको विभागले जनाएको छ ।

विभागको क्वारेन्टाइन महाशाखाका प्रमुख डा. राजेश यादवले विभागले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राखेर पशुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँका अनुसार विभागले उपत्यकाका नौ स्थानमा पशुचौपाया र एक स्थानमा माछाको स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षण भएकामध्ये छ वटामा स्वास्थ्य समस्या आएको उहाँले बताउनुभयो ।  

विभागले पशुको स्वास्थ्य परीक्षणका लागि उपत्यकाका १० स्थान तोकेको थियो । सबैभन्दा बढी कलङ्की खसीबजारबाट खसीबोका बिक्री भएका छन् । त्यस क्षेत्रबाट २१ हजार १३० वटा खसीबोका बिक्री भएका थिए । 

टुकुचा र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गरी पाँच हजार ७५५ वटा, धापाखेल चापागाउँमा एक हजार १६५ खसीबोका, टोखा सकेधारामा दुई हजार ७६१ वटा खसीबोका, लोकन्थलीमा तीन

हजार ९९२ वटा खसीबोका, सल्लाघारीमा च्याङ्ग्रा तीन हजार ९०१ वटा, चन्द्रागिरि–दहचोक दाउरा डिपो) मा खसी, बाख्री, भेँडा गरी तीन हजार ६३३ वटा र चोभार चाल्नाखेलमा १९८ वटा राँगाभैँसी आएका थिए । 

यो वर्ष कम बिक्री

यस वर्षको दसैँमा मासुका लागि कम पशु बिक्री भएका छन् । विभागका अनुसार गत वर्ष दसैँका बेलामा खसीबोका, च्याङ्ग्रा, भेडा, बाख्री र राँगा गरेर ५२ हजार ५२४ वटा बिक्री भएकामा यो वर्ष ४८ हजार २५१ वटा बिक्री भएको हो । यो सङ्ख्या गत वर्षभन्दा चार हजार २५१ ले कम हो । 

यो वर्ष दसैँ नजिकिँदै गर्दा देशभर आएको अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले सडक अवरोध हुँदा आयातमा समस्या भएको विभागका पशु चिकित्सक हरिसिंह भाटले जानकारी दिनुभयो । 

सरकारी स्वामित्वको खाद्य कम्पनीले जिउँदो खसीबोकाको मूल्य ६७० रुपियाँ प्रतिकेजी निर्धारण गरेको थियो भने च्याङ्ग्राको एक हजार २३० रुपियाँ तोकिएको थियो । यो मूल्यमा १० प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ । उपत्यकामा दाङ, सल्यान, सुर्खेत, सिन्धुली, मकवानपुर, उदयपुर, रुकुम रोल्पा, ओखलढुङ्गा, नुवाकोट, रामेछाप, धनुषा, सर्लाही, बर्दिया, मुस्ताङलगायतका जिल्लाबाट मासुका लागि पशु ल्याइएको थियो । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइएको थियो ।