• २२ वैशाख २०८१, शनिबार

'आमाको प्रेरणाले सहयोग गर्ने भावना जाग्यो'

blog

गोरखापत्र संस्थानको वार्षिकोत्सवको अवसरमा पाएको पुरस्कारको रकम दिलशोभा श्रेष्ठलाई प्रदान गर्नुहुँदै रामकुमार बस्नेत । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, वैशाख २८ गते। गोरखापत्र संस्थानका कर्मचारी रामकुमार बस्नेतले आफूले पाएको पुरस्कारको रकम आमाको घरलाई हस्तान्तरण गर्नुभएको छ। 

गोरखापत्र प्रकाशनको १२२ औं वर्ष प्रवेशको अवसरमा गोरखापत्र संस्थानले उहाँलाई उत्कृष्ट कर्मचारी घोषित गर्दै २५ हजार नगदसहित सम्मान पत्रबाट सम्मानित र पुरस्कृत गरेको थियो। बस्नेतले सोही रकम आमा घरका सञ्चालक दिलशोभा श्रेष्ठलाई बुधबार हस्तान्तरण गर्नुभएको हो। 

विगत २९ वर्षदेखि आश्रम चलाउँदै आउनुभएकी श्रेष्ठले दाताकै कारण आजसम्म आमा घर चलेको बताउँदै सहयोग प्राप्त भएकोमा खुशी प्रकट गर्नुभयो। 

गोरखापत्रमा २७ वर्षदेखि कार्यरत बस्नेतले आमाको प्रेरणाले नै सहयोग गर्ने भावना जागेको बताउनुभयो। बस्नेतले भन्नुभयो, “आमा शब्द आफैंमा व्यापक छ, आमाको घरलाई मैले पनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने भावना पहिलेदेखि नै थियो, आमाले धेरै आमा पाल्नुभएको छ, आमाको प्रेरणाले नै मैले सहयोग गर्ने उत्प्रेरणा पाएँ।” 

काठमाडौंको रवि भवनमा रहेको आमा घरमा हाल ३० जना आमा आश्रित हुनुहुन्छ। अन्य ५ वटा स्थानमा पनि आमा घरका आश्रम छन्।