• १३ चैत २०८२, शुक्रबार

योगदानकर्तालाई सञ्चय कोषले राखिदियो मुनाफा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १३ गते । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा आर्जित मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा करिब पाँच अर्ब ३० करोड रुपियाँ जम्मा गरेको छ ।

कोषका अनुसार करिब पाँच अर्ब १९ करोड रुपियाँ सञ्चयकर्ताको खातामा र १० करोड ५५ लाख रुपियाँ योगदानमा आधारित निवृत्तिभरण कोषका योगदानकर्ताको खातामा जम्मा गरिएको हो ।

कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले आव २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ताको व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा एक प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मुनाफा रकम खातामा जम्मा गरिएको कोषले जनाएको छ ।

कोषले प्रत्येक वर्ष आर्जित कुल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्ताको खातामा जम्मा गर्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा राख्ने व्यवस्था गर्दै आएको छ ।

चालु आवमा कोषले सञ्चित रकममा ४.२५ प्रतिशत ब्याज प्रदान गरेको छ । यसमा एक प्रतिशत मुनाफा जोडिँदा कुल प्रतिफल ५.२५ प्रतिशत पुग्ने कोषले जनाएको छ । कोषबाट लिइने विशेष सापटीमा ५.७५ प्रतिशत ब्याजदर कायम रहेको छ ।

कोषले सञ्चयकर्तालाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत, सरल तथा जग्गा खरिद सापटी जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ । साथै स्वास्थ्य उपचार शोधभर्ना, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा तथा दुर्घटना क्षतिपूर्ति जस्ता सामाजिक सुरक्षा सुविधा पनि प्रदान गर्दै आएको छ ।

हाल पाँच लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ता आबद्ध रहेको कोषले जनाएको छ ।