बैतडी समाचारदाता
बैतडी, चैत १३ गते । बिरामी पशुचौपायाको उपचारमा प्रयोग हुने पीडानाशक औषधी गिद्धका लागि विष नबनोस् भन्नेतर्फ सजगता बढ्न थालेको छ । पछिल्लो समय बिरामी पशुको उपचारमा डाइक्लोफेनक नामको औषधी पूर्ण रूपमा बन्द भएकाले गिद्धलाई कुनै असर नपरेको एक अध्ययनले देखाएको छ ।
नेपाल पन्छी संरक्षण सङ्घको धनगढीस्थित प्रदेश कार्यालयका पन्छीविज्ञ हिरूलाल डगौराले प्रदेशका विभिन्न जिल्लाका पशु चिकित्सक, औषधी बिक्रेता र समुदाय स्तरमा अध्ययन गर्नुभएको छ । सो अध्ययनले पछिल्लो समय बिरामी पशुको उपचारमा प्रतिबन्धित गरिएका डाइक्लोफेनक नामको औषधी भेटिएको छैन । पशुको उपचारमा पछिल्लो समय गिद्धलाई असर गर्ने मेलोक्सिक्याम र टोल्फेनामिकक एसिड औषधीको प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।
बैतडीमा लोपोन्मुख प्रजातिका गिद्धको बसोबास र गुँड रहेका छन् । प्रकृतिको कुचिकारका रूपमा चिनिने लोपोन्मुख गिद्ध संरक्षणका लागि नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको खोजी गर्दै आएको छ । खोजीका क्रममा बैतडीका विभिन्न स्थानमा हिमाली खैरो जातको गिद्धको बसोबास र तिनका गुँड भेटिने गरेको छ । अध्ययनले बैतडीमा बस्ने गिद्धको प्रजनन क्षमता ७५ प्रतिशत रहेको पाइएको छ ।
नेपालमा पाइने नौ किसिमका गिद्धमध्ये सुदूरपश्चिमको कञ्चनपुर र कैलालीपछि पहाडी जिल्ला बैतडीमा सबैभन्दा बढी गिद्धको बासस्थान रहेको डगौराले बताउनुभयो । उहाँका अनुसार बैतडीको पाटन नगरपालिका–८ को खोड्पे आसपासका अग्ला भिरमा लोपोन्मुख गिद्धका गुँड भेटिएका छन् । त्यसै गरी सँगै जोडिएको क्षेत्र डडेलधुरामा डँगर गिद्धको पनि गुँड भेटिएको छ । उहाँले बैतडीमा खैरो जातको अति सङ्कटापन्न गिद्धका साथै सुन, सेतो, डँगर, राज, हिमाली खैरो, हाडफोर प्रजातिका लोपोन्मुख गिद्धहरू भेटिएको उहाँले बताउनुभयो । सङ्घका पदाधिकारीले गिद्ध संरक्षणका लागि बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेर गिद्धको खोजी गर्ने कार्य गरिरहेको छ । डगौराले बैतडी जिल्ला गिद्धको सुरक्षित वासस्थानका रूपमा उपयुक्त देखिएको बताउनुभयो ।
वातावरण सन्तुलनका लागि प्रकृतिको कुचिकार गिद्धको संरक्षण गर्नु अनिवार्य मानिए पनि पछिल्लो समय पहाडी जिल्लामा आहारको कमी हुँदै गएको छ । किसानले मरेका पशु चौपाया खाल्डोमा गाड्ने गर्दा आहारको कमी हुन थालेको छ भने डढेलोका कारण गिद्धका गुँड सङ्कटमा पर्ने गरेका छन् । पछिल्लो समय बिरामी पशुको उपचारमा डाइक्लोफेनक नामको औषधी पूर्ण रूपमा बन्द भएकाले गिद्धलाई कुनै असर नपरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडी कार्यालयका निमित्त प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिलेको जस्तो बिरामी पशुको उपचारमा डाइक्लोफेनक प्रयोग हुँदैन । डाइक्लोफेनक औषधी दिएको पशु मर्दा गिद्धले आहारा बनाए किड्नीमा समस्या हुन्थ्यो । अहिले सो औषधी पूर्ण रूपमा बन्द छ ।
आहाराको कमीसँगै बैतडीमा डढेलो अर्को चुनौती रहेको डगौराले बताउनुभयो । उहाँले नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या ९० प्रतिशत घटेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मङ्सिरदेखि माघसम्म गिद्धले प्रजनन गरेर फूल पारेर ओथारो बस्छन् । ७५ दिनसम्म ओथारो बसेर चल्ला कोरल्दा चैत वैशाख सुरु हुन्छ । त्यही बेलो बैतडीका वनमा डढेलो लाग्ने गर्दा गिद्धका गुँड सङ्कटमा पर्दै आइरहेका छन् ।”