तम्घास समाचारदाता
तम्घास (गुल्मी), चैत १३ गते । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको गुल्मी अस्पतालको नयाँ भवन पाँच वर्ष पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन । ठेकेदारले विभिन्न बहानाबाजी बनाई गरेको ढिलासुस्तीले काम अझै पूरा हुन सकेको छैन ।
२०७८ असार १८ गते सम्झौता भई सुरु गरिएको पाँच तलाको सुविधासम्पन्न भवन २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा निर्माण गर्ने जिम्मा स्वच्छन्द–बाँनिया जेभी, हेटौँडा (मकवानपुर) ले पाएको थियो । सम्झौता अनुसार २०८० असार १७ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म भौतिक प्रगति करिब ९१ प्रतिशतमा सीमित छ ।
ठेकेदार कम्पनीका सबइन्जिनियर अरवीन्द्र चौधरीका अनुसार अहिले भवनमा बिजुली, आल्मुनियम जडानलगायतका काम भइरहेका छन् । विभिन्न कारण देखाउँदै समयमै काम अघि बढ्न नसकेको उहाँले स्वीकार गर्नुभयो । देशमा पछिल्लो समय देखिएको आन्दोलन, दसैँ, तिहार र छठ जस्ता पर्वका कारण कामदार अभाव हुँदा काममा सुस्तता आएको उहाँले दाबी गर्नुभयो तर पाँच वर्षसम्म पनि यिनै कारणले मात्र ढिला भएको हो भन्ने कुरा स्थानीयले उठाउँदै आएका छन् ।
यसअघि म्याद थप गर्दा गत दसैँसम्म काम सक्ने प्रतिबद्धता जनाएको ठेकेदार कम्पनीले पछि चैत मसान्तभित्र भवन हस्तान्तरण गर्ने जनाएको थियो तर सो समयसीमा पनि पालना हुन नसक्ने सङ्केत देखिएको छ ।
गुल्मी अस्पतालमा हाल रहेका भवन साना र सेवाग्राहीमैत्री नभएकाले सेवा प्रवाहमा समस्या हुँदै आएको छ । नयाँ भवन निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीयवासी तथा सेवाग्राही असन्तुष्ट छन् । सरोकारवाला निकायको प्रभावकारी अनुगमन र दबाबको अभावमा निर्माण प्रक्रिया थप ढिलिँदै गएको उनीहरूको गुनासो छ ।
अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले भवन छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई निरन्तर खबरदारी गरिँदै आएको बताउनुभयो । गुल्मी अस्पताल २०७१ सालमै ५० शøयामा स्तरवृद्धि भएको भए पनि पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । नयाँ भवन समयमै सम्पन्न नहुँदा सानो र साँघुरो संरचनाबाट सेवा दिन बाध्य अस्पतालले जनाएको छ ।