हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत १३ गते । मुस्ताङमा चालु आर्थिक वर्षको आठ महिनामा १० क्षयरोगी फेला परेका छन् । जिल्लाका पाँच वटै स्थानीय तहमा चालु आव २०८२/८३ को साउनदेखि फागुन महिनासम्म १० जनामा क्षयरोग पुष्टि भएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका स्रोतव्यक्ति राजेन पहाडीका अनुसार सङ्क्रमितको सम्पर्कमा रहेका र लक्षण देखिएर स्वास्थ्य संस्थामा आएकाको जाँचबाट नयाँ क्षयरोगी पहिचान भएका हुन् । जिल्लाको घरपझोङ गाउँपालिकामा चार जना, थासाङ गाउँपालिकामा तीन जना, ल्होमन्थाङ गाउँपालिकामा दुई जना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एक जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । गत आव २०८०/८१ मा १३ जना, आव २०८१/८२ मा १६ क्षयरोगी फेला परेको स्रोतव्यक्ति पहाडीको भनाइ छ । चालु आवमा क्षयरोगीको पहिचान भएकोमा तल्लो मुस्ताङका तीन गाउँपालिकामा आठ जना र उपल्लो मुस्ताङमा एक जना छन् ।
मुस्ताङको सदरमुकाम जोमसोममा दुई वटा र बाँकी सबै पालिकामा एक/एक गरी छ वटा खकार परीक्षण ल्याब रहेको छ । बिरामीले बिचमा औषधी छोड्दा रोग पुनः बल्झिएर उपचारमा फर्किने गरेका छन् । धेरै जसो खकार परीक्षणबाट रोगीको पहिचान भए पनि एक्सरे र फोक्सो र घाँटीबाट समेत रोगको पहिचान हुने गरेको छ ।
हाम्रा म्याग्दी समाचारदाता अमृतप्रसाद पौडेलका अनुसार म्याग्दीमा चालु आवमा ३१ जनामा क्षयरोग पुष्टि भएको छ । चालु आवको फागुन मसान्तसम्म जिल्लाभित्र उक्त सङ्ख्यामा क्षयरोगी पत्ता लागेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिएक लाख जनसङ्ख्यामा २४५ जनामा क्षयरोग हुन्छ तर म्याग्दीमा चालु आवमा निकै न्यून सङ्ख्या देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
म्याग्दीमा चालु वर्षमा बेनी नगरपालिकामा १३ जना, अन्नपूर्ण गाउँपालिकामा पाँच जना, मङ्गला गाउँपालिकामा तीन जना, मालिका गाउँपालिकामा सात जना, रघुगङ्गा गाउँपालिकामा दुई जना र धवलागिरि गाउँपालिकामा एक जना गरी कुल ३१ जना बिरामी पहिचान भएको हो ।
विश्व क्षयरोग दिवसका अवसरमा आयोजित पत्रकार अन्तर्क्रिया कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार गण्डकी प्रदेशमा कुल एक हजार ४५२ जनामा पुष्टि भएको छ । सबैभन्दा कम मुस्ताङमा १० जनामा क्षयरोग पुष्टि भएको छ भने सबैभन्दा बढी नवलपरासी सुस्तापूर्वमा ३५९ जनामा पुष्टि भएको ठकुराठीको भनाइ छ ।
ढोरपाटन समाचारदाता प्रदीप पन्तका अनुसार बसाइँसराइका कारण बागलुङमा क्षयरोगका बिरामी बर्सेनि बढ्दै गएका छन् । बागलुङमा यस आव २०८२/८३ को फागुन महिनासम्ममा १४४ जना क्षयरोगका बिरामी फेला परेका हुन् ।
विश्व क्षयरोग दिवसका अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा बागलुङमा क्षयरोगका बिरामी बढ्दै गएको जानकारी दिइएको हो ।
प्रत्येक वर्ष क्षयरोगका बिरामी फेला पर्ने क्रम भइरहेको र यसलाई नियन्त्रणका लागि अभियानसमेत सञ्चालन गरिँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताउनुभयो । गत आवमा जिल्लामा २६४ जना क्षयरोगका बिरामी फेला परेकामा यस आवको फागुनसम्ममा थप १४४ जना पुष्टि भएको उहाँले बताउनुभयो ।
क्षयरोगका बिरामी जिल्लामा भेटिने क्रम भएको र नियमित औषधी सेवन नगर्दा समस्या बढ्दै गएको शर्माले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी बडीगाड गाउँपालिकामा ३८ जना, ढोरपाटन नगरपालिकामा ३२ जना, गलकोटमा २७, बागलुङ नगरपालिकामा १५, निखीखोला गाउँपालिकामा १३ जना बिरामी फेला परी औषधी सेवन गर्दै आएका छन् ।
त्यसै गरी जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकामा पाँच/पाँच जना, ताराखोला र तमानखोलामा चार/चार जना र बरेङ गाउँपालिकामा एक जना क्षयरोगका बिरामी साउनदेखि फागुनसम्ममा फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । रोग नियन्त्रणका लागि बागलुङका स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा परीक्षण र औषधी प्रदान गरिँदै आएको घिमिरेले बताउनुभयो ।
स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार स्याङ्जामा चालु आवको हालसम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ । यहाँको बिरुवा गाउँपालिका, भिरकोट, चापाकोट, वालिङ र गल्याङ नगरपालिकामा क्षयरोगले एक/एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले क्षयरोग निवारण दिवस जानकारी दिइएको हो । यहाँ अहिले १६० जना क्षयरोगका बिरामीले औषधी सेवन गरेको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो ।
सबैभन्दा धरै वालिङ नगरपालिकामा ५० जना र सबैभन्दा कम फेदीखोला गाउँपालिकामा दुई जना क्षयरोगका बिरामी रहेका छन् । त्यसै गरी गल्याङ नगरपालिकामा २९ जना, कालीगण्डकी गाउँपालिका र चापाकोट नगरपालिकामा १४/१४ जना, भिरकोट नगरपालिकामा १३ जना, पुतलीबजार नगरपालिकामा ११ जना, बिरुवा गाउँपालिकामा १० जना, हरिनासमा आठ जना, अर्जुनचौपारी गाउँपालिकामा पाँच जना, आँधीखोला गाउँपालिकामा चार जना क्षयरोगको बिरामी रहेका छन् ।
हाम्रा नवलपुर समाचारदाता बोमलाल गिरीका अनुसार नवलपुरमा चालु आवमा मात्रै क्षयरोगका ३६२ जना नयाँ बिरामी फेला परेका छन् । चालु आवको फागुन मसान्तसम्म जिल्लामा फेला परेका ३६२ मध्ये १६ जनाको मृत्यु भइसकेको प्रदेश जनस्वास्थ्य कार्यालयका स्रोतव्यक्ति डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार नवलपुरमा देखिएको यो सङ्ख्या गण्डकी प्रदेशका ११ जिल्लामध्येकै सबैभन्दा बढी हो भने गत आवको भन्दा जिल्लामा देखिएको कम हो । गत आवमा जिल्लामा ६७२ जना क्षयरोगका बिरामी भेटिएकामा १५ जनाको मृत्यु भएको तिवारीले जानकारी दिनुभयो ।
गत आव र चालु आवको तथ्याङ्कका आधारमा यहाँ सबैभन्दा बढी क्षयरोगका बिरामी भेटिएका हुन् । कार्यालयले दिएको जानकारी अनुसार नयाँ भेटिएका बिरामीमध्ये १४ वर्षमुनिका दुई जना रहेका छन् । उनीहरूमध्ये बहुऔषधी प्रतिरोध बिरामी भएका आठ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको जनस्वास्थ्य कार्यालय प्रमुख डा. केशवप्रसाद चापागाइले जानकारी दिनुभयो । क्षयरोग परीक्षण कार्यक्रम अन्तर्गत जिल्लाका आठ वटै पालिकामा चार हजार ७७९ जनाको छातीको एक्सरे र ३२४ जनाको खकार परीक्षण गरिएको चापागाईंले जानकारी दिनुभयो ।
लमजुङ समाचारदाता नवीनराज कुइँकेलका अनुसार लमजुङमा चालु आवको आठ महिनामा ६२ जना नयाँ क्षयरोगका बिरामी भेटिएका छन् । चालु वर्षको साउनदेखि फागुन मसान्तसम्म भेटिएका नयाँ ६२ जनामा क्षयरोगका बिरामी उपचारार्थ रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार सबैभन्दा धेरै बेँसीसहर नगरपालिकामा १५ जना नयाँ सङ्क्रमित भेटिएको छ ।
त्यसै गरी सुन्दरबजार नगरपालिकामा ११ जना, मध्यनेपाल नगरपालिकामा १४ जना, राइनासमा आठ जना, मस्र्याङ्दीमा सात जना, दोर्दी गाउँपालिकामा पाँच जना र दुधपोखरी गाउँपालिकामा दुई जना नयाँ सङ्क्रमित फेला परेको ल्याब टेक्निसियन निरीक्षक निरोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । गत आव २०८१/८२ मा १०४ जनामा क्षयरोग देखिएकोमा सात जनाको मृत्यु भएको ल्याब टेक्निसियन श्रेष्ठले बताउनुभयो ।