शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शंकर केसी
सल्यान, चैत १३ गते । सल्यानको कपुरकोट गाउँपालिका–५ पांग्राङमा आगलागीबाट एक घर पूर्ण रूपमा नष्ट भएको छ । डिलबहादुर बिकको घरमा गएराति करिब पौने १२ बजेतिर अचानक आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका हुन् ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, रासायनिक मलखाद लगायतका घरायसी सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको पीडित डिलबहादुरको घरमा बिहानै पुग्नुभएका कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जनाउनुभयो ।
उहाँका अनुसार स्थानियहरुले राति नै आगो नियन्त्रणको प्रयास गरेका थिए । तर घरको चारैतिरबाट एकसाथ आगो फैलिएकाले नियन्त्रण असम्भव भएको थियो ।
आगलागीबाट लाखौं रुपियाँ बराबरको क्षति भएको बताइएको छ । आगलागीका कारण खुल्न बाँकी रहेको छ । घटना भएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।