नन्द सिंह
सिमकोट (हुम्ला), चैत १३ गते । हुम्लाको सदरमुकाम सिमकोटस्थित मुख्य सरकारी कार्यालयहरूले खानेपानीको ‘डाइरेक्ट लाइन’ जोड्दा बजारवासीमा खानेपानीको समस्या चुलिएको छ।
खानेपानी उपभोक्ता समितिले विगत केही वर्षदेखि जिल्ला प्रशासन कार्यालय हुम्ला र मानसरोवर माध्यमिक विद्यालयलाई सिधै पाइपलाइन (डाइरेक्ट लाइन) जडान गरेपछि सिमकोट बजार तथा आसपासका बासिन्दामा पानी अभाव बढ्दै गएको हो।
खानेपानी अभावबारे सेवाग्राहीहरूले जिल्ला प्रशासन कार्यालय र सिमकोट गाउँपालिकामा गुनासो गरेपछि यसको मुख्य कारण डाइरेक्ट लाइन जडान भएको पाइएको हो।
स्थानीय मानबहादुर सिंहका अनुसार बजारमा लामो समयदेखि खानेपानीको अभाव भइरहेका बेला जिम्मेवार निकायले नै डाइरेक्ट लाइन जोड्नु उपयुक्त नभएको हो। जिल्ला प्रशासन कार्यालयले करिब तीन वर्षअघि र मानसरोवर माध्यमिक विद्यालयले पाँच वर्षअघिदेखि डाइरेक्ट लाइन जडान गरेको पाइएको छ।
हालसम्म यी दुई निकायले मात्र डाइरेक्ट लाइन जडान गरेको जानकारी प्राप्त भएको छ। अन्यले चोरी गरेर लाइन जोडेको भन्ने सूचना आए पनि पुष्टि हुन सकेको छैन। ती कार्यालयहरूले मूल ट्याङ्कीभन्दा अगाडिकै पाइपबाट सिधै पानी लिएका छन्।
बजारवासीले भने मूल ट्याङ्की हुँदै रिजर्भ ट्याङ्कीबाट आउने पानी उपभोग गर्दै आएका छन्, तर पर्याप्त पानी नपुग्दा दैनिक जीवन प्रभावित भएको स्थानीय सेवाग्राहीहरूको भनाइ छ।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले पुरानो खानेपानी उपभोक्ता समितिले आवश्यक चासो नदिँदा समस्या बढेको बताउनुभयो। उहाँका अनुसार पुरानो समिति खारेज गरी नयाँ कार्यसमिति गठन गर्नेबारे छलफल भइरहेको छ।
खानेपानी उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष लोकमणि रावतले डाइरेक्ट लाइन जडान भएको स्वीकार गर्दै यस विषयमा छलफल गरिने बताउनुभयो। साथै, हेप्का खोलाबाट ल्याइएको बृहत् खानेपानी योजनामा समस्या आएकाले पनि अभाव भएको उहाँको भनाइ छ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय हुम्लाका निमित्त प्रमुख नवाङ लामाका अनुसार सिमकोटमा करिब ५ हजार जनसंख्या रहेको छ र प्रतिव्यक्ति दैनिक ४५ लिटर पानी आवश्यक पर्छ।
उहाँका अनुसार हालको ट्याङ्की क्षमता दुई लाख ५५ हजार लिटर रहेको छ भने दैनिक करिब २१५ घनमिटर पानी आपूर्ति भइरहेको छ। तर आवश्यकता अनुसार कम्तीमा २२५ घनमिटर पानी आवश्यक पर्ने हुँदा करिब १० घनमिटर अभावकै कारण सिमकोटमा खानेपानी संकट चुलिएको हो।