वासुदेव शर्मा
जाजरकोट, चैत १३ गते । जाजरकोट आयुर्वेद स्वास्थ्य केन्द्रले तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सदरमुकाम खलङ्गामा आयोजित शिविरमा ८१ जना बिरामीले सेवा लिएका छन्।
आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा गुदद्वारसम्बन्धी रोगहरू-पाइल्स, फिसर, फिस्टुला, स्क्रिनिङ, क्षारसूत्र तथा सामान्य शल्यक्रियासम्बन्धी निःशुल्क शिविर सञ्चालन गरिएको थियो। तीन दिनसम्म सञ्चालन भएको शिविरमा ८१ जना बिरामीले सेवा लिएका हुन्।
शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले पेटसम्बन्धी रोग, श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्या, हाडजोर्नी तथा नसासम्बन्धी रोग, दीर्घरोग, महिलाको पाठेघरसम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचाप, पाइल्स, फिसर, फिस्टुलालगायतका रोगहरूको परीक्षण, औषधि वितरण तथा परामर्श सेवा प्रदान गरेको थियो।
आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सुदर्शन पोख्रेलका अनुसार मलद्वारसम्बन्धी रोगहरूको जाँच तथा आवश्यक बिरामीको शल्यक्रियासमेत गरिएको हो। शिविरमा सेवा लिन आएका ८१ जना बिरामीमध्ये पाइल्सका ७ जना, फिस्टुलाका २ जना, क्रोनिक फिसरसहित पाइल्स भएका ५ जना र रेक्टल प्यापिलाका १ जना गरी जम्मा १५ जनाको शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार शल्यक्रिया डा. कृष्ण ज्ञवालीको नेतृत्वमा गरिएको थियो। शरीरमा विभिन्न रोगहरू आहार–विहारका कारण हुने भएकाले जङ्क फुड, मसालेदार तथा पिरो खाना, मैदाबाट बनेका परिकारलगायत स्वास्थ्यका लागि हानिकारक खानेकुराबाट सचेत रहनुपर्ने उहाँको भनाइ छ।
पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ सर्वसाधारणको आकर्षण बढ्दो रहेको छ। शल्यक्रिया, औषधि वितरण, थेरापी तथा बाफ लिन आउने बिरामीको संख्या बढ्दै गएको केन्द्रले जनाएको छ। केन्द्रको आफ्नै भवन नहुँदा भाडाको भवनबाट सेवा प्रवाह गरिँदै आएको छ।