शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डिलबहादुर सिंह
डोटी, चैत १३ गते । डोटीको आदर्श गाउँपालिका–७ दहकालीकामा खाना खाने क्रममा मासुको टुक्रा घाँटीमा अड्किँदा एक जना पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार खाना खाने क्रममा घाँटीमा मासुको टुक्रा अड्किँदा आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको ज्यान गएको हो।
बिहीबार राति करिब ८ बजे आफ्नै घरमा खाना खाने क्रममा अचानक मासुको टुक्रा घाँटीमा अड्किएपछि नेपाली बेहोस हुनुभएको थियो। घटनापछि परिवारका सदस्यहरूले तत्काल उद्धारको प्रयास गरेका थिए।
अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि राति करिब ११ बजे दिपायल राजपुरस्थित सुजङ अस्पताल पुर्याइएको थियो। अस्पतालमा पुगेपछि चिकित्सकले जाँच गर्दा उहाँलाई मृत घोषणा गरिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।