• १३ चैत २०८२, शुक्रबार

पहिरोपीडितलाई सुरक्षित आवास

blog

पीडित परिवारलाई घर हस्तान्तरण गरिँदै । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, चैत १३ गते । छ महिनाअघिको पहिरोले घरबारविहीन बनेका परिवारले सुरक्षित घर पाएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–४, बौरीडाँडाका छ विपन्न परिवारले सुरक्षित घर पाएका हुन् । गत साउनमा परेको बर्सात र पहिरोले घरमा क्षति पु¥याएपछि विस्थापित भएका परिवारले सुरक्षित घर पाएका हुन् । 

पहिरोले विस्थापित परिवारको सङ्घीय, प्रदेश र स्थानीय सरकारको गरी चार लाख लगानीमा घर बनेपछि पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । पहिरोले विस्थापित बनेका परिवार यस वर्षको बर्सातअघि नै घर पाएपछि खुसी भएका छन् । 

गत वर्षको अविरल वर्षा र पहिरोले घरमा बस्नै नमिल्ने गरी क्षति पु¥याएको थियो । घरमा क्षति पुगेपछि विस्थापित बनेका पविसरा आले, हुमबहादुर गाहा, तुलबहादुर गाहा, यामबहादुर दर्लामी, यानीसरा गाहा र कोपिलासरा रानाको परिवारले सुरक्षित घर पाउनुभएको हो । 

तीन तहका सरकारको अनुदान र घरपरिवारको श्रमदानबाट घर बनेको यामबहादुर दर्लामीले बताउनुभयो । छ महिना छिमेकी र पालमुनि बसेका परिवारले घर पाएपछि सुरक्षित भएको महसुस गरेको दर्लामीले बताउनुभयो । 

पहिरोले घर लगेपछि नयाँ घर बनाउने पैसा नै थिएन । सरकारले घर बनाउन सहयोग गरेर आफूहरूलाई सुरक्षित बनाएको घर पाएपछि खुसी भएको तुलबहादुर गाहाले बताउनुभयो । 

आवास हस्तान्तरण गर्दै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय सरकारले नागरिकको सुख दुःखमा साथ दिने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले घरबारविहीन भएका परिवारलाई सुरक्षित गर्ने स्थानीय सरकारको दायित्व हो ।” तिनाउमा पालिकाको आन्तरिक स्रोतबाट पनि थप तीन विपन्न परिवारको घर बनाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।