• १ असोज २०८१, मङ्गलबार

स्केट बोर्ड र रोलर स्केट हुने

blog

स्केट बोर्ड प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, असोज १ गते । बागमती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ सङ्घको आयोजनामा असोज ४ र ५ गते काठमाडौँमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड  प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा स्केट बोर्ड र रोलर स्केट गरी दुई विधामा आयोजना हुने र त्यसमा सातै प्रदेशका एक सय ७० खेलाडीले प्रतिस्पर्धा गर्ने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा  आयोजक सङ्घका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । 

थापाथलीस्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी हुनेछन् । स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा हुनेछ। जसमा ७० खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा पुरुष र महिला दुवैले एउटै इभेन्टसमा बराबरी रूपमा प्रतिस्पर्धा गर्नुपर्ने पनि आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेताले ३० हजार, उपविजेताले १५ हजार, तेस्रो हुनेले १० हजार र चौथो हुनेले पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न आठ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । 

सङ्घका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्थानीय पालिकासँग यस खेलको विकासका लागि समन्वय गर्दै अघि बढ्ने नीति अनुरूप काठमाडौँ महानगरपालिकाबाट स्केट बोर्डको पूर्वाधार बनाउन जग्गा प्राप्त भएको जानकारी पनि दिनुभयो ।