• १३ साउन २०८१, आइतबार

महानगरमै छैन कालोपत्रे सडक

blog

सन्तोष सुवेदी

कास्की, वैशाख २८  गते । पाँच वर्षअघि पोखरा महानगरपालिकाको गठन हुँदा ग्रामीण भेगहरू पनि समेटिए । महानगरमा समेटिने क्रममा पर्यटकीय क्षेत्र फेवातालको सिरानक्षेत्र घट्टेछिना, वाम्दी, पामे, चापापानीलगायतका स्थान पनि जोडिन पुगे । महानगर बनेको उक्त क्षेत्रमा अहिलेसम्म पनि सडक भने पिच हुन सकेको छैन । जुन आशाले मत दिएर जनप्रतिनिधि बनाए उनीहरूले उक्त क्षेत्रका सडकलाई पिच बनाउन सकेनन् । वडा नम्बर २३ का स्थानीयको एउटै चाहना छ, सडक बर्खामा हिलाम्मे नहोस् र हिउँदमा धुलाम्मे । 

पाँच वर्षपछि फर्केर हेर्दा स्थानीय लोकमाया पराजुलीले आफ्नो मत खेर गएको गुनासो गर्नुभयो । उहाँले जे आशा बोकेर मत दिनुभयो, त्यो आशा पूरा हुन सकेन । उहाँ भन्नुहुन्छ, “अहिले फेरि एक पटक कालो बाटो देख्न पाइन्छ कि भन्ने आशामा छौँ । अब आउनेले बनाइदिन्छन् कि ।” पाँच वर्षअघि यो वडा पोखरा महानगरपालिकामा परेपछि विकासको आसमा रहनुभएकी लोकमायाले सडक मर्मत गरिदिए पोखरा आउन–जान सहज हुने बताउनुभयो । 

पोखरा महानगरपालिका यति बेला चुनावी रौनकले तातेको छ । प्रत्येक दिन उम्मेदवारहरू घरदैलोमा पुगेर मतदातासँग साक्षात्कार गरिरहेका छन् । उहाँले मत माग्दै घरदैलोमा पुगेका उम्मेदवारलाई एउटै कुरा भन्नुभएको छ, “कालो बाटोमा हिँडाउनुहुन्छ भने भोट दिन सकिन्छ ।”

७० वर्षकी शोभा पौडेल आफ्नो वडाको विकास भएको देख्न आतुर हुनुहुन्छ । उहाँले भन्नुभयो, “मेरो बूढोले पाँच वर्षसम्म खपौँदीमा बसेर बाटो खन्नुभयो । उहाँ अहिले स्वर्गवास भइसक्नुभयो तर मेरो बूढोको सपना पूरा हुन सकिरहेको छैन ।” २३ वडावासीलाई सुविधासम्पन्न बाटोको खाँचो रहेको उहाँले सुनाउनुभयो । 

भौगोलिक रूपमा महानगरभित्र परे पनि त्यो ठाउँको सडक विकट गाउँको भन्दा पनि दुःखदायी छ । वडा नम्बर २३ मा अहिलेसम्म तीन सय मिटर मात्र बाटो पिच भएको छ । यहाँ मात्र नभई पोखरा महानगरभित्र जम्मा ६४१ किलोमिटर सडक अहिले पनि धुलाम्मे अवस्थामा छन् । पोखरा–२३ मा रहेको खहरेखोला र लौरुक खोलाको सिल्टेसन ड्यामका कारण जोखिम बढेको भन्दै यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीय विष्णुप्रसाद दाहालले बताउनुभयो ।