• १३ वैशाख २०८१, बिहिबार

लमजुङमा निर्वाचनको तयारी अन्तिम चरणमा

blog

बेलिना थापा
लमजुङ, वैशाख २७ गते ।
  लमजुङमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक गतिविधि तथा क्रियाकलापको कार्य अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश शिवप्रसाद खनालका अनुसार वैशाख ३० गते शुक्रबार हुने निर्वाचनलाई सफल बनाउनका लागि आवश्यक कर्मचारी खटाइएको छ । १२३ मतदान स्थल र १८२ मतदान केन्द्रमा ८९५ जना कर्मचारी खटिएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका छन् ।

निर्वाचन आयोगबाट प्राप्त सामग्री र स्थानीय तहमा खरिद गरिएको सामग्री कर्मचारीलाई दिइएको छ । मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट दिइएको छ । अन्य सामग्री मतपेटिका, मतदाता नामावली, परिचयपत्रलगायतको ५८ प्रकारको सामग्री दिइएको जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रले बताउनुभयो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी मङ्गलबार बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुग्नुपर्नेछ ।

निर्वाचन सामग्रीलाई सुरक्षाकर्मीका साथ सुरक्षित रुपमा मतदान केन्द्रमा लैजान थालिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनीतिकदल र स्वतन्त्र उमेदवारहरुलाई परिचयपत्र दिन थालिएको छ । शुक्रबार सवारी साधन सञ्चालन नहुने भएकाले सवारी पासका लागि सिफारिस र प्रदान भइरहेको छ ।

यसवर्ष निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगरेका कारण मतदाता अलमलिन सक्ने सम्भावना भने देखिएको छ । यसअघिका वर्षमा महिना दिनदेखि मतदाता शिक्षा सञ्चालन हुने गरेपछि यसवर्ष नभएको हो । सम्बन्धित पालिकाका राजनीतिक दललाई सहजीकरणका लागि अनुरोध गरिएको छ । सम्बन्धित मतदान केन्द्रले पनि बुधबार र बिहीबार राजनीतिक दल र स्थानीयलाई मतदाता शिक्षा दिने छ ।

कर्मचारीले मतदान गर्ने प्रक्रियाबारे जानकारी गराउने छन् । दुई दिनसम्म मतदाता शिक्षा सञ्चालन गरिने भनिएपछि छोटो अवधीको शिक्षा प्रभावकारी नहुने सरोकारवालाले बताएका छन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जिल्लामा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा व्यवस्थामा कडाइ गरेको बताउनुभयो । सम्बन्धित मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरु आवश्यकता अनुसार परिचालन गरिएको बताउनुभयो ।

केन्द्रहरुमा कर्मचारीसँगै नेपाली सेन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटिएका छन् । सुरक्षाको हिसावले मजबुत पारिएको र शान्तिपूर्ण रुपमा निर्वाचन सफल हुने अपेक्षा गर्नुभयो ।

निर्वाचन सफल बनाउन राजनीतिक दल, कर्मचारी, पत्रकार, स्थानीयको महत्वपूर्ण भूमिका रहने भएकाले सहयोग गर्न अनुरोध गर्नुभयो । निर्वाचन आचार संहिता उल्लङ्घन भएको खण्डमा तत्काल खबर गर्न अनुरोध गर्दै तत्काल कारबाही हुने बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभयो । निर्वाचनका लागि बाहिरी घेरामा ४६० नेपाली सेना खटिएका छन् । नेपाल प्रहरी ६०९ जना, शसस्त्र प्रहरी २७६ जना र ९८७ जना म्यादी प्रहरी परिचालित भएका छन् । मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षककोे नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन् ।

एउटा केन्द्रमा नौ देखि १४ जना प्रहरी कर्मचारी खटिएका छन् । निर्वाचनको समयमा झोला, पर्स, मोबाइल, हातहतियार, सलाई, लाइटर जस्ता सामग्री लान रोक लगाइएको छ । प्रहरीलाई निर्वाचन बिथोल्ने काम भएमा आफ्नो बल प्रयोग गर्न समेत निर्देशन गरिएको कार्कीले बताउनुभयो ।

लमजुङमा हालसम्म निर्वाचन आचारसंहिता पालना भएको पाइएको र निर्वाचन पनि शान्तिपूर्ण तवरले सम्पन्न हुने अपेक्षा गरिएको मुख्य निर्वाचन अधिृकत शिवप्रसाद खनालले बताउनुभयो । उहाँले राजनीतिक दलहरुलाई पटकपटक आचारसंहिताबारे सचेत गराइएकै कारण आचारसंहिताको पालना भएको पाइएको बताउनुभयो । हालसम्म आचारसंहिता उल्लङ्घनको उजुरी नपरेको जानकारी दिनुभयो । मौखिक रुपमा केही जानकारी आएको र यसलाई मौखिम रुपमा समन्वयको काम गरिएको बताउनुभयो । कही कतै आचारसंहिता हुन लागेको जानकारी आउने बित्तिकै सचेत गराइएको बताउनुभयो । बेंसीशहरमा दुई÷तीन वटा मौखिक उजुरी परेको थियो । त्यसलाई छलफल गरेर निर्वाचन अधिकृतको कार्यालयले टुङ्ग्याएको छ ।लमजुङका आठ स्थानीय तहमा एक लाख ३१ हजार ४९४ मतदाता छन् ।