• ३ जेठ २०७९, मङ्गलबार

नेपाली पत्रकारिताको गौरव

blog

नेपाली छापा पत्रकारिताको गौरवमय इतिहास बोकेको गोरखापत्र शनिबार १२२ वर्षमा प्रवेश गरेको छ । लगभग सवा शताब्दी पाठकलाई निरन्तर योगदान दिएको गोरखापत्र नेपालको सूचना क्रान्तिको जग मात्र होइन, दक्षिण एसियामै सय वर्ष नाघेको सीमित अखबारमध्ये एकसमेत हो ।  नेपाली पत्रकारिता क्षेत्रमा एउटा अध्याय रचिएको दिन वैशाख २४ को यो ऐतिहासिक दिनलाई  सम्मान गर्दै  सरकारले राष्ट्रिय पत्रकारिता दिवससमेत मनाउन थालेको छ । यसले गोरखापत्र र यसका प्रकाशनले आम पाठकमा पु¥याउँदै गरेको योगदानलाई राज्यले थप संस्थागत गरेको छ । थप गौरवमय बनाएको छ ।

 निश्चय नै उदारवादी राणा प्रधानमन्त्री देवशमशेरले छापा पत्रकारिताको कल्पना र त्यसलाई यथार्थमा परिणत गर्नु त्यस बेलाको सानो योगदान होइन । सनद लेखी पण्डित नरदेव पाण्डेलाई जिम्मेवारी दिएको लगभग दुई सातामै  विक्रम संवत् १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशन आरम्भ हुनु त्यति बेलाको चमत्कार हो  । राणाकालमा उदय भएको गोरखापत्र सरकारी स्तरबाट प्रकाशन भएको विश्वकै दुर्लभ पत्रिकासमेत हो । दुनियाँको पत्रकारिताको इतिहास हेर्ने हो भने शासकले विरलै पत्रिका प्रकाशन गर्छन् । गोरखापत्रभन्दा १२१ वर्षअघि भारतको कोलकाताबाट प्रकाशित भएको दक्षिण एसियाकै पहिलो पत्रिका ‘बंगाल बजेट’ निजी क्षेत्रबाट प्रकाशित भएको थियो । जेम्स अगस्टस हिक्कीले  ‘कलकत्ता एड्भरटाइजर’बाट प्रकाशित गरेको सो पत्रिकालाई तत्कालीन औपनिवेशिक शासकले केही अङ्कभन्दा बढी प्रकाशित हुन दिएनन् । बन्द गराए र हिक्कीलाई भारतबाटै निकालिएको इतिहाससमेत छ ।

पत्रकारितामा शासकको त्यस्तो कुदृष्टिको छिमेकी अनुभवसँगै प्रकाशित भएको गोरखापत्रको यावत् कालखण्ड नेपाली पत्रकारिताको सिङ्गो विश्वविद्यालय भन्दा फरक पर्दैन । उच्च शिक्षामा पत्रकारिताका पठनपाठनको इतिहास आधा शताब्दी हाराहारीमा चल्दै छ तर गोरखापत्रको अनुभवले निजी क्षेत्रको पत्रकारिता समृद्ध हुँदै गएको गौरवमय विगत नेपालमा छ । गोरखापत्र  १२२औँ वर्ष प्रवेश अवसरमा शनिबार आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र र यसका प्रकाशन स्मार्ट युगतर्फ प्रवेश गर्न लागेकोमा खुसी प्रकट गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रताप्रति सरकारको अटल विश्वास मात्र व्यक्त गर्नुभएन, नेपाली पत्रकारिता जगत्ले भोगेको समस्या सरकारले राम्ररी बुझेको र ती समस्या क्रमशः समाधान गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

गोरखापत्रको जन्मदिनमै राष्ट्रिय पत्रकारिता दिवसले संस्थागत मान्यता पाउनु हाम्रा लागि चुनौती र अवसरको दिनसमेत हो । चुनौती यस अर्थमा, सरकारी स्वामित्व रहेको गोरखापत्र र यसका प्रकाशनका आफ्नै केही सीमितता छन् । ती सीमितता र असुविधा चिर्दै गोरखापत्रले आम नेपाली पाठकको मन जित्नुपर्नेछ । नागरिक र सरकारबीच सेतुको भूमिकामा रहनुपर्नेछ । सूचना प्रविधिले पल–पलमा अद्यावधिक हुने पाठकको सूचना, ज्ञान, शिक्षा, मनोरञ्जनको सन्तुष्टिलाई पूरा गर्दै जानुपर्ने चुनौती छ । यी चुनौतीको सामना प्रभावकारी रूपमा गर्न सक्दा अवसर प्राप्त हुन्छ । गोरखापत्रले संस्थागत रूपमै ती चुनौतीको सामना गर्ने अग्रसरता लिई स्मार्ट रूपमा अगाडि बढिरहेको छ । त्यसले निश्चय नै अवसर सिर्जना गर्न सक्नेछ ।

तीन दशकअघि, खासगरी ०४६ सालको परिवर्तनपछि नै सरकारी सञ्चार माध्यमलाई के कसरी सञ्चालन गर्नु उपयुक्त हुन्छ भन्ने बहस निरन्तर अगाडि बढिरहेको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवाको प्रसारण मोडेलमा अगाडि बढाउने धेरै पहल भए पनि अझै त्यसले निश्चित आकार लिन सकेको छैन । लोकतन्त्रमा सरकारले मिडियालाई के कसरी व्यवस्था गर्नुपर्छ भन्ने अनेक अन्तर्राष्ट्रिय सैद्धान्तिक मान्यता छन् । त्यस बहसभित्र गोरखापत्रले समेत ठाउँ लिनुपर्छ ।

गोरखापत्रका पूर्वकार्यकारी अध्यक्ष तथा प्रधान सम्पादकसमेत हुनुभएका वरिष्ठ पत्रकार किशोर नेपाल गोरखापत्रलाई विधायिकामातहत राखेर यसलाई नयाँ युगमा लैजान सुझाव दिनुहुन्छ । यस्तो सुझाव र बहस अझै अगाडि बढाउनुपर्ने आवश्यकता छ । नेपालको आम पत्रकारिताको जग गोरखापत्र भाषा, साहित्य, पत्रकारिता, इतिहास सबै क्षेत्रको गौरव हो । यो राष्ट्रिय गौरवलाई आम नेपाली पाठकको मन जितेर निरन्तर कायम राख्न स्मार्ट रूपमा अगाडि बढ्ने प्रतिबद्धताको कार्यान्वयन अबको मूल कार्यसूची हो । आगामी दिनको गन्तव्यसमेत हो ।