• २४ चैत २०८२, मङ्गलबार

सातामा दुई दिन बिदा

blog

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । साविकमा सातामा शनिबार मात्र बिदा हुने गरेकोमा अब आइतबार थपिएको छ । कार्यालय खुलेका साताको पाँच दिन भने समय बिहान ९.०० बजे सुरु भई अपराह्न ५.०० बजेसम्म हुने छ । नेपालमा राणाकालदेखि नै शनिबार बिदा दिने चलन सुरु भएको हो । शुक्रबार भने साविकभन्दा अलि चाँडो बिदा दिने गरिएको थियो । अब शुक्रबार पूरै कार्यालय समय रहने छ । यो निर्णय तत्कालै कार्यान्वयनमा आउनुको मुख्य कारण इन्धन सङ्कट रहेको छ । अमेरिका र इजरायलको इरानसँग जारी युद्धले पश्चिम एसिया एक महिनाभन्दा बढी समयदेखि अशान्त छ । यो अशान्तिले तेल उत्पादन र आपूर्ति शृङ्खलामा गम्भीर अवरोध खडा गरेको छ । कच्चा तेलको मूल्य १० देखि २० प्रतिशतले बढेको छ । भाउ बढ्ने मात्र होइन, खाडी मुलुकबाट तेल आपूर्ति हुने हर्मुज जलघाँटीलगायतको मार्गमा अवरोध सिर्जना भएको छ । विश्व तेल बजारमा २५ प्रतिशतसम्म आपूर्ति हुने हर्मुज जलमार्गमा इरानको नियन्त्रण रहेको छ । सो जलमार्गमा युद्धले अवरोध सिर्जना हुँदा पूर्वी तथा दक्षिण एसियामा आउने तेलको मात्रमा कमी आएको छ । नेपालले इन्धन आयात छिमेकी मुलुक भारतबाट गर्दै आएको छ । भारतले बाहिरबाट कच्चा तेल ल्याएर प्रशोधन गरी आन्तरिक खपतका साथै नेपाललाई समेत आपूर्ति गर्दै आएको छ । 

इन्धनको बढ्दो मूल्यसँगै नेपाल आयल निगमको घाटा बढ्दो छ । तीन सातामा तीन पटक कतिपय इन्धनको भाउ बढाइए पनि अझै परल मूल्यभन्दा न्यून नै छ । त्यसैले इन्धन कम खपत गर्ने रणनीति अख्तियार अनिवार्य हुँदै गएको छ । दुई दिन बिदा दिने निर्णयले केही हदसम्म इन्धन खपत घटाउन सक्ने भए पनि वाञ्छित रूपमा इन्धन खपत कम गर्न सक्ने अवस्था देखिन सकेको छैन । कतिपय एसियाली मुलुकले इन्धन खपत कम गर्न साताको तीन दिनसम्म बिदा दिने गरेका छन् । कतिपय काम घरबाटै गर्ने प्रबन्ध पनि गरेका छन् तर पनि तेलको सङ्कट व्यवस्थापन असहज नै हुँदै गएको छ । दुई दिन बिदाले सेवाग्राहीमा के कस्तो असर पर्छ भन्ने अवस्थाको समीक्षा पनि जरुरी भएको छ । स्मरणयोग्य के छ भने साताको दुई दिन बिदा दिने निर्णय नेपालमा नौलो भने होइन । विगतमा पनि अभ्यास भएको थियो । विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । प्रशासनिक सुधार आयोगको सिफारिस अनुसार शनिबार र आइतबार बिदा दिन थालियो । पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिन थालियो । यो परीक्षण लामो समय रहेन । सेवाग्राहीको सास्ती अझ बढेको भन्दै एक वर्षपछि अवस्था साविकमै फर्कियो । पछि पनि इन्धनको खपत कम गर्न साताको दुई दिन बिदा दिने निर्णयले निरन्तरता पाएन ।

तेस्रो पटक सरकारले साताको दुई दिन बिदा दिने निर्णय चैत २३ गते सोमबारदेखि कार्यान्वयनमा आएको छ । संसारका धेरै देशमा साताको दुई दिन शनिबार र आइतबार बिदा दिने प्रचलन कार्यान्वयनमै छ । बाँकी पाँच दिन सेवाग्राहीको गुनासो नआउने गरी नै काम हुन्छ । यसले साताको दुई दिन फुर्सदमा घरपरिवार तथा पर्यटकीय गतिविधिमा समय खर्चिने हुँदा अर्थतन्त्रमा पनि योगदानको राम्रै अभ्यास देखिन्छ । नेपालमा यो पटक भने इन्धनको खपत न्यूनीकरणका निम्ति बिदाको नयाँ नियम लागु गरिएको बिर्सन मिल्दैन । सरकारी सवारीसाधन साताको दुई दिन नचल्दा इन्धन बचत हुने छ । कार्यालय जाने कर्मचारी घरमै बस्दा सार्वजनिक सवारीसाधनमा पनि चाप कम भई इन्धनको माग घटाउन सक्ने छ । बैङ्क तथा वित्तीय संस्था पनि साताको दुई दिन नै बिदा दिइँदा इन्धन बचतमा केही राहत हुने नै देखिन्छ तर पनि निजी क्षेत्रका कतिपय कार्यालय तथा कलकारखाना भने खुल्नै पर्छ । अर्थतन्त्र चलायमान बनाउन पनि यो जरुरी नै छ । अब विद्युतीय ऊर्जाको उत्पादन र प्रयोगलाई बढोत्तरी दिने नीति, योजना र कार्यक्रम अगाडि बढाउनु पर्छ । अझ सङ्कटको बेला इन्धन बचत गर्न थप नीति तथा रणनीति अख्तियारीका साथै सबैको साथ सहयोगसमेत आवश्यक हुन्छ ।