• ३ भदौ २०८१, सोमबार

श्रीमानद्वारा श्रीमतीमाथि खुकुरी प्रहार

blog

श्रीमानको खुकुरी प्रहारबाट घाइते हुनुभएको श्रीतमी कविता । तस्बिर : हरि कोइराला

हरि कोइराला
उर्लाबारी, भदौ ३ गते । 
मोरङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । मोरङको कानेपोखरी –७ का ३३ वर्षीय हिराधन तामाङले खुकुरी प्रहार गर्दा ३० वर्षीया श्रीमती कविता घाइते हुनुभएको हो ।

अस्थायी प्रहरी चौकी कानेपोखरीका प्रहरी सहायक निरीक्षक राजेशकुमार श्रेष्ठका अनुसार आइतबार राती १० बजे हिराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई मार्ने उद्देश्यले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट कविताका दुवै हातका हत्केलामा गहिरो चोट लागेको छ । कविताका हाल विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कविताले खुकुरी रोक्ने क्रममा हातमा गहिरो चोट लागेको इन्चार्ज श्रेष्ठको भनाइ छ ।

छिमेकीहरूका अनुसार झण्डै ११ वर्ष मलेसिया बसेर ६ महिना अघि घर फर्केका तामाङ दम्पतीबिच यस अघि पनि सामान्य झगडा भइरहन्थ्यो ।

श्रीमतीलाई खुकुरी प्रहार गरी भागेका तामाङलाई राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय पठाइएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्रेष्ठले बताउनुभयो ।