• १० मंसिर २०८१, सोमबार

घर नै पहिलो व्यावहारिक पाठशाला

blog

मानिसको पहिलो पाठशाला घर हो । उसको बोलीचाली, व्यवहार, संस्कार घरबाटै विकास भएको हुन्छ । औपचारिक शिक्षाबिना नै मानिसको जीवन सहज रूपमा चल्न सक्छ । हिजोका मानिस थोरैलाई मात्र औपचारिक शिक्षा लिने अवसर थियो भने अधिकांश मानिस अनौपचारिक शिक्षाबाटै जीवन गुजारा गर्थे । समयक्रमसँगै शिक्षाको महत्व बढ्दै गयो । औपचारिक शिक्षाले जीवन जति सहज बन्न सक्छ, त्योबिना त्यति सहज नहुने हँुदा औपचारिक शिक्षा अनिवार्य बन्न पुग्यो । हाम्रो औपचारिक शिक्षा बढी सिद्धान्तमा आधारित देखिन्छ भने अनौपचारिक शिक्षा बढी व्यावहारिक मानिन्छ; जुन मानिसले सहज रूपमा अनुभूत गर्न सक्छन् ।

मानिस समाजमा जन्मन्छ, हुर्कन्छ, केही कुरा सिक्छ । अनि मात्र उसलाई औपचारिक शिक्षाका लागि विद्यालय पठाइने गरिन्छ । विद्यालय जानुअघि उसले केही कुरा जानिसकेको हुन्छ । बौद्धिकताको हिसाबले पहिलो पाठशालारूपी घरले दिएको शिक्षा औपचारिक शिक्षा दिने पाठशालाको शिक्षाभन्दा धेरै गुणा माथि हुन्छ । जसरी काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै वस्तु बने झैं बालक पनि काँचो माटो जस्तै हो । उसले चिन्न र जान्न सक्ने भएपछि देखेका दृश्य, भोगेका अनुभव, गरेका क्रियाकलाप तिनका आधारमा बनेको अनुभूति यसरी बस्दछ कि त्यसलाई जबरजस्ती देखाइएका दृश्य, बनावटी अनुभव गर्नका लागि गरेका कार्य र तिनका आधारमा बनेको अनुभूतिले कहिल्यै स्थानान्तरण गर्न सक्दैन ।

औपचारिक शिक्षा हासिल गर्न प्रयोग हुने बनावटी साधनभित्र वास्तविक जीवनको न कथा भेटिन्छ न त व्यथा नै । वास्तविक जीवनको भोगाइलाई किताबका पानामा कसैले कसैका लागि कोरिएका ती अक्षरले नक्साङ्कन त गर्न सक्ला तर त्यसको भित्री मर्म छिचोल्न सक्दैन । भित्री मर्म छिचोल्न मानिसले भोग्नु पर्छ, देख्नु पर्छ । काँडाले घोच्दा दुख्छ भनेर किताबका पानामा पढ्दा त्यसको अनुभूति कति होला जति साँच्चिकै काँडाले घोचेर रगतसमेत बाहिर निस्कँदा । तसर्थ अनौपचारिक शिक्षा वास्तविक जीवन हो भने औपचारिक शिक्षा बनावटी जीवन हो । 

बच्चा जन्मन्छ । चार/पाँच वर्षको उमेर पुगेपछि उसलाई औपचारिक शिक्षाका लागि विद्यालय पठाइन्छ । उसले त्यहाँ धेरै कुरा सिक्छ, सिक्दै जान्छ पनि । केही समयपछि विशेष योग्यता पनि हासिल गर्छ । पढाइ सक्छ । अनि काम गर्न थाल्छ । पेसामा आबद्ध हुन्छ । पेसामा रहँदा उसले गर्ने क्रियाकलापमा यस्तो लेप लाग्छ; जुन लेप उसले लामो समय लागेर आर्जन गरेको औपचारिक शिक्षाको भन्दा ऊ हुर्केको घर, परिवार, समाज, सामाजिक क्रियाकलापबाट प्राप्त शिक्षाको बढी प्रभाव रहन्छ ।

प्रसङ्गलाई घरसँग जोड्दा एउटा घरमा जुम्ल्याहा बच्चा जन्मन्छन् । एउटा छोरी र अर्को छोरा । बिस्तारै दुवै बच्चा हुर्कने क्रममा सबै विषय समान रहन्छन् । उनीहरूको लुगा, खाना, स्याहारसुसार तथा पाउने सुविधा सबै समान रहन्छ । विस्तारै ठुलो हुँदै जाँदा उनीहरू घरमा, समाजमा हुने क्रियाकलापसँग अभ्यस्त हुने गर्छन् । उनीहरू देख्छन् कुन काम कसले गरेको छ, कसले गरेको छैन । गर्दा के हुन्छ ? नगर्दा के हुन्छ ? यस्ता विषयको गहिरो अध्ययन उनीहरूले घरबाट सिक्छन् । सिक्ने र सिकाउने क्रममा छोरा र छोरीलाई गर्ने व्यवहारबाट पनि सिकाइको एउटा तह निर्माण हुन्छ । उनीहरूमा बसेको एउटा अनुभव र घरव्यवहारबाट उनीहरूप्रति गरिने व्यवहारले केही हदसम्म प्रभाव पार्छ । औपचारिक शिक्षाका लागि त समान वातावरण होला तर अनौपचारिक तथा घरायसी शिक्षाका लागि सिकाइको तह तथा वातावरण असमान हुन्छ । छोरा र छोरीलाई लगाइने काम, दिइने जिम्मेवारी, गरिने व्यवहारले उनीहरूको सिकाइ र सोचमा फरक मानसिकताको विकास भइरहेको हुन्छ किनभने हाम्रो समाज, परिवार तथा व्यक्ति स्वयम्को सोचमा पितृसत्ताको अवशेष यसरी जरा गाडेर बसेको छ; जुन तुरुन्तै आजको भोलि परिवर्तन हुनै सक्दैन । तसर्थ यो बिस्तारै परिवर्तन हुने विषय हो । त्यसैले घरायसी व्यवहारबाट सिकाउँदै समग्र सोचमा परिवर्तन ल्याउन सकिन्छ । 

घरमा आमा उठेर घरको ढोका खोल्छिन् । भान्सामा गएर खाना तयार गर्छिन् । भाँडा माझ्ने, लुगा धुने त आमाले सधैँ गर्ने कार्य हो । यस्ता विषय छर्लङ्ग देखेर, भोगेर आउँदै गर्दा उनीहरू आपूmले गर्ने कामबारे स्पष्ट हुन्छन् । दिदीभाइ स्कुल गएर सँगै घर फर्कन्छन् । मिलीजुली खेतमा काम गर्छन् । उनीहरू घरमा कसले के गरिरहेको छ र के गरिरहेको छैन भन्ने विषय पनि स्कुलबाहेकको समयमा पढिरहेका हुन्छन् ।

विद्यालयको पढाइभन्दा घरको पढाइ बढी व्यावहारिक हुने भएर हो कि विद्यालयको पढाइ घरको पढाइले ओझेलमा पर्न थाल्छ । छोरा र छोरीलाई समान व्यवहार गर्ने प्रयास गर्दागर्दै अलि बढी छोरीलाई काम गराउन थालिन्छ । भन्दै गर्दा तिमीले भोलि बिहे गर्नु पर्छ, अर्काको घरमा जानु पर्छ, श्रीमान् कस्तो पर्छ, कस्ताकी छोरी रैछ, आमाले सिकाएकी रैनछ भनेर आमालाई दोष दिन्छन् तसर्थ तिमीले सबै थोक जान्नु पर्छ । तिमी भाइसँगै आवाज निकालेर हाँस्नु हुँदैन, केटा जस्तै खेल खेल्नु हुँदैन, छोरीको जस्तै लुगा लगाउनु पर्छ, तडकभडक गर्नु हुँदैन, नक्कल पार्नु हुँदैन भन्दै सिकाइँदै गर्दा हुन्छ के त ? यसरी सम्झौता गरिरहने आपूmलाई होइन, अरूलाई खुसी बनाउने प्रयास गरिररहने शिक्षाले विद्यालय शिक्षा ओझेल पर्दै जान्छ । अर्कातिर छोरा यी सब सर्तबाट मुक्त रहन्छ । केवल ऊ विद्यालय शिक्षामा एकोहोरो लागिरहन्छ । यस्तो अवस्थामा छोराका लागि घरको शिक्षा ओझेल पर्छ । 

यिनै घरायसी विषयको गहन अध्ययन गर्ने बानी परेको हुन्छ छोरीलाई । अनि समालेर राख्छे घरपरिवारलाई, अड्याउँछे समाजलाई । समाजलाई बुझ्ने क्षमताको विकास गराउँछ छोरीहरूमा घरभित्रको शिक्षाले । परिवारका घटनाक्रमलाई सहज रूपमा सहन सक्ने क्षमता रहन्छ छोरीहरूमा । यही घरायसी शिक्षाको अभावले होला श्रीमती बितेको १३ दिनपछि नै बिहेको कुरा हुन थाल्छ छोरा मान्छेको ।

हाम्रो समाज सदियौँदेखि यसमै अडिएको छ । यसलाई परिवर्तन गर्न नसक्दासम्म यस्ता विषय सक्रिय भइरहन्छन् । यो लामो समयबाट विकसित परिस्थिति मानिसले चाहेर पनि आजको भोलि केही हुनेवाला छैन । जसरी विकासको क्रम क्रमिक रूपमा अगाडि बढ्यो, त्यसरी नै त्यसको परिवर्तित स्वरूपको विकास पनि क्रमिक रूपमा हुने छ । घरायसी शिक्षाको प्रभाव छोरीमा बढी प¥यो भने छोरामा विद्यालय तथा किताबी शिक्षाको प्रभाव प¥यो । यसले गर्दा छोरा र छोरीको व्यवहार, सोच, बानी, सहन सक्ने क्षमता, व्यक्त गर्ने शैली आदि विषयको व्यवस्थापनमा फरकपन देखिन गएको हो ।

घर पहिलो र लामो समय व्यतीत गर्ने पाठशाला हो । यो पाठशालामा सिद्धान्तभन्दा व्यावहारिक कक्षा सञ्चालन हुन्छ । यहाँ कसको भूमिका बढी र कसको कम भनेर स्पष्ट रूपमा प्रत्यक्ष देख्न र अनुभूत गर्न सकिन्छ ।  कतिपय विषय प्रकृतिले उपहारस्वरूप प्रदान गरेका हुन्छन् । ती विषय एउटा बलियो जगका रूपमा ग्रहण गर्दै बाँकी विषयलाई समान रूपमा घरका शिक्षकशिक्षिकाबाट सिकाउन, बुझाउन र कार्यान्वयन गर्न सक्नु पर्छ; अनि मात्र समग्र समाजको रूपान्तरण हुन्छ । समृद्धिको यात्रामा सफलता हासिल गर्न सकिन्छ ।