• ११ असोज २०८२, शनिबार

७० हजार बराबरको म्याद नाघेका खाद्य वस्तु नष्ट

blog

अखाद्य वस्तु नष्ट गरिदै ।

इमान सिं राना

रामपुर (पाल्पा), असोज १० गते । पाल्पाको रामपुरमा म्याद नाघेका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । चाडपर्वलाई लक्षित गरी रामपुर नगरपालिका –५ बेझाँड बजार क्षेत्रको पसल अनुगमनको क्रममा फेला परेको ७० हजार रुपियाँ मूल्य बराबरको म्याद नाघेका तथा लेभल नभएका सामग्री जफत गरी नष्ट गरिएको हो । 

दशैं तिहार लगायतका पर्वहरुलाई मध्यनजर गर्दै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रशासन कार्यालय रामपुर, करदाता सेवा कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, रामपुर नगरपालिका र ईलाका प्रहरी कार्यालय रामपुरको संयुक्त टोलीले अनुगमन गरेको थियो । 

अनुगमन टोलीले बेझाँड बजार क्षेत्रमा सञ्चालनमा रहेका मार्ट, खाद्यान्न तथा किराना, मदिरा, मासु तथा डेरी उद्योग, होटल, तरकारी तथा फलफूल पसल लगायतका ५३ वटा पसलको अनुगमन गरेको छ । 

अनुगमनको क्रममा फेला परेका ७० हजार ४७० रुपियाँ बराबरको म्याद गुज्रिएको तथा लेभल नभएका सामान जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले बताउनुभयो । चाडपर्वको बेला मिसावत् भएका अखाद्य वस्तु, म्याद नाघेका सामग्री विक्री वितरण तथा नापतौलमा ठगी हुन सक्ने भन्दै मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको छ । 

टोलीले खाद्य वस्तुको म्याद, भए नभएको, होटल तथा मिठाई पसलमा प्रयोग गर्ने तेलको गुणस्तर मापन, खाद्य वस्तुमा रङ प्रयोगको अवस्था, मासु पसल तथा दुग्ध उद्योगको सरसफाइको अवस्था, नापतौल उपकरण ठिक भए नभएको, व्यवसाय दर्ता सम्बन्धित निकायमा गरे नगरेको, अन्तशुल्क तिरे नतिरेको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरेका व्यवसायीहरुलाई दर्ता तथा नविकरण गर्न, मूल्यसूची नराखेका अवस्थामा तत्काल मूल्यसूची राख्न आग्रह गर्नुका साथै म्याद नाघेको खाद्य वस्तु, पेय पदार्थ, मदिरा लगायतका वस्तु जफत गरी व्यवसायीलाई सचेत गराइएको घरेलु तथा साना उद्योग कार्यालय तानसेनका वरिष्ठ उद्योग अधिकृत केशव सुनारले जानकारी दिनुभयो । 

इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले अनुगमनका क्रममा देखिएका कमी कमजोरी तत्काल सुधार गर्न निर्देशन दिइएको बताउनुभयो । खाद्यान्नमा मिसावत भए नभएको जाँच्ने विधि सिकाउनुका साथै खरिद गरेर ल्याएका सामान जाँच गरेर मात्र विक्री गर्न आग्रह गरिएको खाद्यतथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो ।