• ११ असोज २०८२, शनिबार

चाडपर्वमा अनुगमन टोली सक्रिय, महानगरमा खाद्य स्वच्छता शिविर

blog

सांकेतिक तस्बिर ।

काठमाडौँ, असोज ८ गते । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडवाड लक्षित निरन्तर अनुगमन भइरहेको बताएको छ । विभागका निर्देशक भरत प्रसाद आचार्यका अनुसार बुधबारदेखि नौबिसे–मुग्लिङ्गसम्म पृथ्वीराजमार्गतर्फ अनुगमन टोली प्रस्थान गरेको छ । 

उहाँले काठमाडौं उपत्यकाको रिङ्गरोड क्षेत्र तथा नयाँ सडक (न्यूरोड) केन्द्रीत अनुगमन गर्दै आएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सधैँजसो चार वटा टोली थियो । अहिले ६ वटा टोली खटिएका छन् । दैनिक उपभोग्य वस्तु, फेन्सी सामान, लत्ताकपडा जस्ता बजारमा अनुगमन भइरहेको छ ।” सकेसम्म अधिकांश क्षेत्रमा अनुगमन टोली खटाउने प्रयास भएको उहाँको भनाइ छ । 

उहाँका अनुसार बिहीबारदेखि बनेपा–बर्दिबास क्षेत्रमा पनि सो अनुगमन टोली परिचालन हुनेछ । 

उहाँले भन्नुभयो, “पानी परेर बाटो नराम्रो भयो भने वातावरणले कतिको साथ दिन्छ हेरौं । बाटो नराम्रो भएको अवस्थामा सजग रहन भनेका छौं । अरु सबै ठिकै छ ।”

उहाँले कृत्रिम बजार अभाव देखाएर कालोबजारी हुने जोखिम रहने गरेको तर अहिले यो अवस्था नरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सामानको आपूर्ति व्यवस्था ठीकै छ । राम्रो छ भन्ने सूचना प्राप्त गरेका छौं । अभावको स्थिती छैन, स्थरिता नै छ । सटेज देखाएर उपभोक्ता ठग्न खोज्ने हुन्, त्यो पनि अहिले छैन ।” सामान्यतया, तरकारीमा पनि मूल्यवृद्धि नभएको उहाँको भनाइ छ ।

उहाँले दसैँमा नवमी र दशमीबाहेक अरु दिन अनुगमन टोली तत्पर रहने बताउनुभयो । 

महानगरमा खाद्य स्वच्छता शिविर

काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेका अनुसार महानगरले खाद्य स्वच्छता सम्बन्धी अनुगमन सुरु गरेको छ ।

उहाँका अनुसार असोज ८ गते बुधबार घुम्ती खाद्य प्रयोगशाला प्रयोग गरी दरबारमार्ग क्षेत्रमा काठमाडौँ महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त बजार अनुगमन गरेको थियो । 

महानगरले  असोज १० गते शुक्रबार साना डेरी उद्योग र डेरी पसल व्यवसायीलाई लक्षित गरी अनुगमन गरेको छ । शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दरबार हाई स्कुलमा खाद्य स्वच्छता प्रवद्र्धन शिविर आयोजना गरिएको छ ।  

उहाँले असोज २७ गते सोमबार घुम्ती खाद्य प्रयोगशाला प्रयोग गरी क्षेत्रपाटी क्षेत्रमा महानगरपालिका र विभागले संयुक्त बजार अनुगमन गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । 

उहाँले जनगुनासोको आधारमा गरिने अनुगमन यथावत शैलीमा गरिने बताउनुभयो ।