• ११ असोज २०८२, शनिबार

दलहरूभित्र आत्मसमीक्षा जरुरी

blog

जेनजी आन्दोलनले सिर्जना गरेको सत्तापलटसँगै नेपालको राजनीतिमा नयाँ नयाँ अवधारणा र अनुमान प्रकट हुन थालेका छन् । समाजमा फरक प्रकारको मनोविज्ञान देखा पर्न थालेको छ । एकातिर आशाका किरण देखिएका छन् भने अर्कातिर भय, संशय, आशङ्का, अनिश्चितता र आत्मसुरक्षाको त्रासले नेपाली समाजको मनोदशा उद्वेलित हुन पुगेको छ । यद्यपि समय व्रmमसँगै आशा र विश्वासको बलियो मनोविज्ञानले गर्दा उज्यालो भविष्यको कल्पना र प्राप्तिमा सकारात्मक प्रयासहरू अगाडि बढन थालेका छन् । 

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपश्चात् नेपालको सन्दर्भमा परम्परागत रूपमा भनिँदै र बुझिँदै आएको राजनीतिको परिभाषामा खाडल पैदा भएको छ । विद्यमान राजनीतिक बुझाइमा पैदा भएको खाडलसँगै अबको राजनीतिले कस्तो कोर्स ग्रहण गर्छ भन्ने विषयमा पनि पृथक् प्रवृत्तिका अनुमान र अडकलवाजी मुर्झाउन थालेका छन । यो स्वाभाविक किन पनि भइरहेको छ भने एकातिर आन्दोलनको माग र भावनालाई सम्बोधन गर्नुपर्ने आवाज उठिरहेको छ, अर्कोतिर वर्तमान संविधानको जीवन्ततामा पनि त्यत्तिकै वकालत भइरहेको छ । यही डिस्कोर्सको पृष्ठभूमिमा अन्तरिम सरकारको गठन र विद्यमान प्रतिनिधि सभाको विघटन भइसकेको अवस्था छ ।

नेपालमा ऐतिहासिक प्रकृतिका राजनीतिक आन्दोलनहरू विसं २००७, २०४६ र २०६२÷६३ मा पनि भएका थिए । विसं २००७ मा भएको आन्दोलनपश्चात् देशमा प्रजातन्त्र स्थापना भएको थियो । विसं २०४६ को आन्दोलनले २०१७ सालमा खोसिएको प्रजातन्त्रलाई पुनस्र्थापित गरेको थियो । त्यसै गरी २०६२÷६३ मा भएको आन्दोलनपश्चात् तत्कालीन राजतन्त्रात्मक व्यवस्थालाई विस्थापन गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको थियो । उल्लेखित आन्दोलनहरूले तत्कालीन राजनीतिक व्यवस्थाहरूको विकल्पमा नयाँ राजनीतिक व्यवस्थाको आधार खडा गरेको थियो । ती आन्दोलनहरू मूलतः राजनीतिक व्यवस्था परिवर्तनका लागि केन्द्रित थिए तर हालै सम्पन्न भएको जेनजी आन्दोलनले नयाँ राजनीतिक व्यवस्था स्थापना गरेको अवस्था छैन । यही लोकतान्त्रिक राज्यप्रणालीमा सुधारको अपेक्षा गरेको छ ।

जेनजी आन्दोलनको पृष्ठभूमिमा एक प्रकारको आव्रmोश, असन्तोष र हतासको मनोदशा थियो । विशेष गरी यस्तो प्रकारको आव्रmोश र असन्तोषको मानसिकता युवामा थियो । आधुनिक र प्राविधिक परिभाषा अनुसार त्यो युवा नै वास्तवमा जेनजी थियो । राज्यमा भइरहेको भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपात, बेरोजगारी र कुशासनको कारणले जेनजी पुस्ता भित्रभित्रै असन्तुष्ट हुँदै गएको थियो । वास्तविक अर्थमा भन्नु पर्दा उक्त समूहले राज्य र सरकारका तर्फबाट युवाको समस्या, माग र भावनालाई बेवास्ता भएको महसुस गरेको थियो । यद्यपि उनीहरूले आफ्ना असन्तुष्टि र गुनासाहरूलाई भने तीन वर्षयता विभिन्न सामाजिक सञ्जालमार्फत प्रकट गर्दै आएका थिए । 

कुनै समाजमा परिवर्तन ल्याउन मिडियाको भूमिका केन्द्रविन्दुमा रहेको हुन्छ । मिडिया आफैँमा प्रविधि र उपकरण हो । यद्यपि यसको दायरा निष्कण्टक साधन र उपकरणमा मात्र सीमित रहँदैन–यसको क्षितिज सञ्चार र आमसञ्चार हुँदै वैश्विक सञ्चारसम्म फैलिएको हुन्छ । जसले तत्कालीन समाजको वास्तविकतालाई ऐनाले देखाए जस्तै गरी प्रतिविम्बित गर्ने र निश्चित एजेन्डामा जनमत सिर्जना गर्ने आधार निर्माण गर्छ । 

वास्तवमा सञ्चार माध्यमले मानव समाज स्नायु प्रणालीको समकक्षकै हैयिसतमा काम गरेको हुन्छ, जसरी मानव हृदयमा रगतको सञ्चरणले उसलाई जीवन प्रदान गरेको हुन्छ । विश्वमा सन् १४५० को दशकपछि छापा माध्यमले आमसञ्चारको भूमिका निर्वाह गरेको थियो । त्यसपछि सन् १९२० को दशकपछि रेडियो र सन् १९५० को दशकपछि टेलिभिजन मूल प्रवाह भूमिकामा रहेको थियो । यसै गरी पछिल्लो समयमा विशेष गरी सन् १९६९ मा इन्टरनेटको विकास र सन् २००० को दशकपछि उदाएका विभिन्न सामाजिक सञ्जाल आमसञ्चारमा मूल प्रवाहको भूमिका निर्वाह गरेका छन् । विश्वमा भएका विभिन्न राजनीतिक परिवर्तनमा तत् तत् समयमा तत् तत् मिडियाको भूमिका रहेको तथ्य अनुसन्धानबाट प्राप्त भएका निष्कर्ष हुन् । नेपालकै सन्दर्भमा विश्लेषण गर्ने हो भने पनि २०४६ सालको राजनीतिक परिवर्तनमा तत्कालीन छापा माध्यमको भूमिका उल्लेखनीय रहेको थियो । त्यसै गरी २०६२÷६३ मा रेडियो र टेलिभिजन मिडियाको भूमिका अतुलनीय रहेको विषयमा कसैको विमति सायदै रहला । यही शृङ्खलामा पछिल्लो समय देखा परेका सामाजिक सञ्जाललाई मूलधारको सञ्चार माध्यमको रूपमा स्वीकार गर्न नसक्दा र त्यसमा प्रकट भएका युवाका गुनासा र असन्तुष्टिलाई सामाजिक प्रतिविम्बलाई बेवास्ता गर्दाको परिणाम आज यो परिस्थिति उत्पन्न भएको हो ।

अझै पनि समयले नेटो काटिसकेको छैन । लोकतन्त्रको विकल्प परिष्कृत लोकतन्त्र नै हो । अहिले नेपाली जनताले बोल्न, लेख्न र भेला हुन पाउने स्वतन्त्रताका साथसाथै सुशासन, भ्रष्टाचाररहित र सर्भिस डेलिभरीसहितको अधिकार भएको व्यवस्थालाई लोकतन्त्र मान्ने पक्षमा छन् । जेनजी पुस्ताले चाहेको, देख्न खोजेको व्यवस्था पनि यही नै हो । यस विषयमा अन्तरिम सरकारमा रहनुभएका प्रधानमन्त्री र मन्त्री एवं पदाधिकारीले आफूलाई खरो रूपमा उतार्न सक्नुपर्ने बेला आएको छ । यसै गरी राजनीतिक दलहरूले पनि गम्भीर ढङ्गले आत्समीक्षा गरी धरातलीय मागबमोजिम आफूलाई परिष्कृत गरेर नयाँ शिराबाट उठ्नु जरुरी छ ।   

यति बेला जेनजीको आन्दोलन सम्पन्न भई देशको राजनीतिक माहोल सामान्य र मत्थर हुँदै जान थालेको छ । आन्दोलनको राप र ताप भने सेलाइसकेको अवस्था छैन । सामाजिक सञ्जालमा तत्कालीन सरकार र प्रमुख राजनीतिक दल एवं नेताहरूको विषयमा अझै पनि प्रश्नहरू उठाइएका छन् । एउटा परिघटना भइसकेपछि त्यसको बैठान प्राकृतिक रूपमै हुनु पर्छ । यस्तो अवस्थामा तत्कालै ‘रिएक्टिभ’ भइहाल्ने प्रकारको व्यवहारले कस्तो परिणाम उत्पन्न गर्छ– त्यसको गम्भीर ढङ्गले लेखाजोखा गर्नु जरुरी छ । 

निश्चित रूपमा भ्रष्टाचार र सुशासन दिन नसकेको सवाल आव्रmोशको वर्तमान आन्दोलनको जड थियो तर राष्ट्रियताको संरक्षण, पूर्वाधार विकासका लागि भए गरेका प्रयास, आर्थिक विकासका सकारात्मक सूचक र लोकतान्त्रिक पद्धति एवं संरचनात्मक आधारको निर्माणले नेपालको अवस्थालाई मजबुत बनाएको तथ्यलाई बेवास्ता गर्न मिल्दैन । तथापि आन्दोलनको सगरमा आएको केही ध्वंसात्मक घटनाले नेपाली समाजमा निराशा र त्रासको मनोविज्ञान उत्पन्न गरेको छ । यस्तो अवस्थामा परिस्थितिलाई ‘भडकाव’ को मोडमा जान नदिने साझा दायित्व सम्पूर्ण आन्दोलनकारी शक्ति, वर्तमान सरकार, सम्पूर्ण राजनीतिक दल एवं नागरिक समाजको हो । यसतर्फ बेलैमा सचेत हुन जरुरी छ । 

नेपाल जस्तो भूराजनीतिक अवस्था र रणनीतिक अवस्थितिमा रहेको मुलुकप्रति शक्ति समूहहरूको चासो र स्वार्थ हुनु स्वाभाविक कूटनीति हो । अब दोष कसैले कसैलाई लगाएर आफू चाखो हुन सक्ने अवस्था छैन । भागेर जाने ठाउँ पनि छैन । नेपालीकै हातबाट नेपाली जनता मारिएका छन, नेपालीकै हातबाट नेपालको सम्पत्तिमाथि आगजनी र विनाश भएको छ । यस्तो अवस्थामा एकआपसमा दोषारोपण गरेर प्रतिशोधको राजनीति गर्नु भनेको देश र जनतालाई थप बरबादीको मार्गमा लैजानु हो । तसर्थ अब आफँैले आफैँलाई आत्ममूल्याङ्कन र समीक्षा गरी सहकार्यको हात अगाडि बढाउनुमा नै देशको भलाइ र कल्याण हुने छ । यसमा अर्को विकल्प छैन । 

यहाँनेर बुझ्नुपर्ने सवाल के हो भने पुस्तान्तरण मात्र महìवपूर्ण पक्ष होइन । कुनै पनि समाजमा पहिलो, दोस्रो र तेस्रो पुस्ता स्वाभाविक रूपमा रहन्छ, त्यो प्राकृतिक विज्ञान हो । महìवपूर्ण कुरा भनेको नियत हो । यसै गरी समाजलाई बुझ्ने हेराई एवं समाजको मागलाई सम्बोधन गर्ने दृष्टिकोण र प्रयास हो । रचनात्मक र सिर्जनात्मक समाज निर्माणका लागि समाजप्रति हेर्ने दृष्टिकोणमा सकारात्मकता चाहिन्छ । अनि मात्रै सकारात्मक पहल र प्रयास अगाडि बढ्न सक्छन् । 

नेपाल जस्तो देशमा साधन र स्रोतको सीमितता छ भन्ने तथ्य जो कोहीका लागि पनि सामान्य ज्ञान र जानकारी भएको विषय हो । वर्तमान सरकारको हकमा पनि त्यो लागु हुन्छ । देशको विकास भनेको जादुको छडीले गर्ने होइन, व्रmमबद्ध प्रव्रिmया र पहलले हुने लामो समयको उपलब्धि हो । नेपालमा बसेर अहिलेकै अवस्थामा युरोप, अमेरिका र बेलायतको गुणस्तरीय जीवन प्राप्त गर्न सकिँदैन । गुणस्तरीय जीवन प्राप्तिको यात्रामा अगाडि बढ्ने पाइला सरकारले अगाडि बढाउनुपर्ने हुन्छ । यतिबेला आमनेपाली जनताले वर्तमान अन्तरिम सरकारलाई यही मापदण्डको आधारमा मूल्याङ्कन गर्न तमतयार भएर निगरानी गरिरहेका छन् । यही सन्दर्भ अर्को के कुरा पनि स्मरणमा राख्नु पर्छ भने– लोकतन्त्र र प्रजातन्त्रका लागि लामो बलिदानी र सङ्घर्षको इतिहास बाकेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका प्रमुख राजनीतिक दलहरू पनि कतै यस मामिलामा चुकेका त होइनन् ? आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।