• ११ असोज २०८२, शनिबार

भ्रष्टाचार उन्मूलन र जेनजी पुस्ता

blog

जेनजी पुस्ताले एउटा नयाँ इतिहास लेखे । संसारले हेर्‍यो र नतमस्तक भयो, नेपाली जेनजी पुस्ताको अदम्य साहस देखेर । जो साँच्चै थ्रेसहोल्ड पार गरेको चरणमा थियो, हुनुपर्ने थियो । संसारले नेपाली राजनीतिकर्मीमाथि भ्रष्टाचारको गन्ध लतपतिएको दृश्य देखेकै हो । आमनागरिक भ्रष्टाचारको दलदलमुनि थिचिएको अनुभूतिले थिलोथिलो थिए । भ्रष्टाचारको जालोबाट उम्किने बाटो खोजिरहेका थिए । 

साना साना भाइबहिनीको बलिदानसँगै राष्ट्रिय धरोहरमाथि पनि प्रहार भएको छ, जो नहुनुपर्ने थियो । जेनजीको उद्देश्य धरोहर मास्ने पटक्कै थिएन । जेनजी पुस्ता मात्र भ्रष्टाचार अन्त्यका लागि ऐक्यबद्ध थिए । यो साहस सामूहिक एकतामा थियो । देशभरका मात्र नभई विदेशमा रहेका नेपाली जेनजीले समेत ऐक्यबद्धता जनाएका थिए । यो ऐक्यबद्धताका कारण सम्भव भनेको थियो यो आन्दोलन । हामी चाहन्छौँ, यो एकता सधैँ कायम रहिरहोस् । 

यतिबेला सबैले जेनजीका मागलाई उचित सम्मान दिएका छन् । यो सबै भ्रष्टाचारीबाट पीडित भएका छन् भन्ने सन्देश हो । सबै न्याय चाहन्छन, विभेदरहित विधान र कर्म चाहन्छन् । यसै अनुरूप यो आन्दोलनलाई सबै पुस्ताले खुलेर समर्थन पनि जनाए । सबैको शुभकामना बोकेर अगाडि बढेको जेनजी पुस्ताको मर्म अब टुव्रिmनु हुँदैन । यसभित्र पसेर कसैले टुक््रयाउने चाल चल्दै छ भने हामी सबै सचेत हुनु जरुरी छ । 

जेनजी पुस्ताको चाहना अनुसार नेपाली सेनाको सहजीकरणमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभयो । निडर र हक्की महिला सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बन्नुभएको छ । अब जेनजीको चाहना अनुसार भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गराउन प्रधानमन्त्री लाग्नु हुने आमअपेक्षा छ । सरकारले पूर्ण आकार पाएपछि भ्रष्टाचारसम्बन्धी र आन्दोलनमा ७४ जनाको ज्यान जाने गरी भएको घुसपैठविरुद्ध पनि उच्चस्तरीय न्यायिक छानबिन समिति बन्नु पर्छ । यो आमनेपालीको माग हो । 

जेनजीले चाहेको भ्रष्टाचार मुक्त देश, न्यायप्रिय सत्ता प्रणाली, निष्पक्ष फैसला र लोकको हित अनुरूपका कार्य योजना हो । यसको सम्बोधन गर्न सक्षम व्यक्तिको खोजी गरी राष्ट्रलाई गति दिने काममा ढिलाइ नगरौँ । 

अन्तरिम सरकारको मुख्य काम चुनाव गराउने हो । चुनावपछि बन्ने सरकार नै बलियो सरकार हुने छ । जसले अघिल्लो सरकारले थालेका कामलाई निरन्तरता दिई नयाँ अभियान थाल्ने छ । अन्तरिम सरकारले गराउने चुनावमा हामीलाई कस्ता उम्मेदवार चाहिन्छन्, तिनका आचरण राष्ट्र हितमा छन्छै/नन्, जेनजी पुस्ता र जेनजीपछिका अल्फा पुस्तासमेतको शिक्षा, स्वास्थ्य, रोजगारी र नागरिक सम्मानको हेक्का राख्न सक्ने मर्यादित व्यक्तिको खोजी गर्नु पर्छ । आजै हामीले यस्ता उम्मेदवार खोजी गरी मानसिक रूपमा ती उम्मेदवारलाई उचित तरिकाले बुझ्न र कार्य गर्न तयार गराउन सकेनौँ भने धेरै ढिला हुने छ । 

आन्दोलनका बेला जेनजीको नाममा घुसपैठ समूह राष्ट्र दोहन गर्ने, विध्वंस र विनाशकारी कार्यमा अग्रसर देखियो । यसको पहिचान गरी कानुनी दायरामा ल्याउनु पर्छ । राष्ट्रिय धरोहर र सम्पत्ति नष्ट गर्ने कार्यमा तल्लीन जोकोही भए पनि त्यो नेपाली हुँदै होइन । यो कुरा बुझ्न जति ढिलाइ हुन्छ त्यति नै छिटो हामी असफलातिर लम्किने छौँ । जेनजीका माग र मर्ममाथि त्यति नै कुठाराघात हुने छ । राष्ट्रविरोधी गलत शक्तिले टाउको उठाउने छ । त्यतिबेला पछुताउनुको विकल्प हुने छैन ।

जेनजी र आमनागरिकले परिकल्पना गरेको भ्रष्टाचारमुक्त देश हो, सुशासन, सामाजिक न्याय र समतामूलक समाज हो । अहिलेको नेतृत्व पुस्ताले जे ग¥यो । ग¥यो अब यो पुस्ताबाट आशा गर्ने ठाउँ बाँकी छैन । सबै राजनीतिक दलले जेनजीको यो मनोभावना बुझेर उम्मेदवारी तय गर्नु पर्छ । अहिले आन्दोलनको तारो बनेको पुस्ताका व्यक्तिले उम्मेदवारी दिने अवस्था उत्पन्न भयो भने त्यो स्वीकार्य नहुन सक्छ । यसतर्फ सचेतता अपनाउनु पर्छ । नागरिकले चाहेको, समाजले चिनेजानेको र स्वार्थ नभएको युवालाई छान्नु पर्छ ।

हाम्रो सार्वभौमसत्ता र देशको अस्तित्व जोगाउन संविधानमा के लेखिएको छ त्यो बुँदामा रहेर देशको रक्षा गर्नु पर्छ । त्यसबाट पनि सम्भव नभए नयाँ संवैधानिक संरचना बनाउनु आवश्यक छ । यसका लागि कानुनविद् र संविधानविद्को सुझाव सल्लाह लिन जरुरी छ । जेनजी पुस्तालाई अब झुक्याउन र उनीहरूका मागमाथि प्रहार गर्ने चेष्टा कसैले गर्नु हुन्न । उनीहरूको राष्ट्रप्रतिको प्रेम सबैले संसारकै झ्यालबाट राम्रोसँग हेरेका छन् । अब पनि उनीहरूको मागको सुनुवाइ भएन भने फेरि यस्तै विपत्ति नआउला भन्न सकिन्न । त्यसका लागि तोकिएको समयमा निर्वाचन र भ्रष्टाचार उन्मूलन गरी सुशासन स्थापित हुनै पर्छ । सरोकारवाला सरकार, राजनीतिक दल र नागरिक समाजले बेलैमा सचेतता अपनाउन जरुरी छ । जेनजी आन्दोलनको आकलन न सरकारले गर्न सक्यो न त सुरक्षा संयन्त्रहरूले नै । भविष्यमा यस्तो विपत्ति नआओस् ।