• १२ साउन २०८१, शनिबार

सिरानचोक गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

blog

गुणबहादुर रोका

सुलीकोट, जेठ २९ गते । गोरखाको सिरानचोक गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपन गाउँपालिका घोषणा गरिएको छ । सिरानचोक गाउँपालिकामा खोप लगाउनु पर्ने एक जना बालबालिका नभेटिएकाले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले हरेक वर्ष सबै वडाहरूमा पूर्णखोप सुनिश्चित भए नभएको अनुगमन गरेर मात्र पूर्णखोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठको भनाइ छ । 

गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वर्षको ३ महिना माघ, फागुन र चैत महिनामा पालिकाले आफ्नो पालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाहरूको खोजी कार्य गर्ने र कोही छुटेको भए खोप लगाइदिने गरेको उहाँले बताउनुभयो । 

जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षमा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित एवम् दिगोपन पालिका घोषण गर्ने छ । खोप समन्वय समितिले हरेक वर्ष पालिकाहरूभित्र १६ देख २३ महिना सम्मका बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खाले खोप लगाए नलाएको अनुगमन गरेर पालिकाहरूलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषण गर्ने गरिएको छ । 

अहिले गोरखाका ११ वटा स्थानीय तहहरूमध्ये ८ वटा स्थानीय तहहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषण गरिसकेका छन् भने अब ३ वटा पालिकाले मात्र घोषण गर्न बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।