• १२ पुस २०८१, शुक्रबार

चलचित्रमा बालबालिकाका कथा

blog

युवराज गौतम

चलचित्रमा कस्ता कथावस्तु र अभिनय दर्शकको रोजाइमा पर्छन् भन्ने कुराको प्रस्ट जवाफ निर्माता–निर्देशकसँग छैन । दर्शकको मनोविज्ञान बुझ्ने काम त्यति सजिलो छैन । अभिनयको कुरा गर्दा सबैलाई कुनै एक कलाकारको अभिनय मन पर्छ भन्ने पनि हुँदैन । दर्शकको मनोविज्ञान, भावना र चाहना बुझेर निर्देशक, पटकथा लेखक र निर्माताले काम गरेको पनि पाइँदैन । त्यसैले धेरै नेपाली चलचित्र सफलताको शिखर टेक्न पाउँदैनन् । 

बालमनोविज्ञान समेटिएका चलचित्र, बालकलाकारको भूमिका वा अभिनयका बारेमा मात्र समीक्षा गर्ने हो भने नेपाली सिने उद्योगमा यसको उपस्थिति त्यति छैन । निर्देशक भीषण राई बालकलाकार र बालबालिकामा आधारित चलचित्र निर्माणमा सन्तोषजनक नभएको स्वीकार्नुहुन्छ । “वास्तवमा दूरदराजका नेपाली बालबालिकाको कथा र कलाकार सिने उद्योगले पर्याप्त खोज्न सकेकै छैन । सतही रूपमा आएका कथावस्तुले देशभरका बालबालिकाको प्रतिनिधित्व गर्दैन । त्यसैले बालबालिकाको वास्तविक चित्रण र मौलिक कलाकारको खोजी गर्न ढिला भइसक्यो,” राईले भन्नुभयो ।

हुन त चलचित्रमा देखिएका बालकलाकार लामो समयसम्म यो क्षेत्रमा टिकेको इतिहास छैन । निर्देशक शोभित बस्नेतका छोरा सलोन बालकलाकार हुँदै कालान्तरमा अभिनेता बने पनि उहाँ सफल बालकलाकारको सूचीमा पर्न सक्नु भएन । होचो कदका प्रतिभावान् कलाकार गोपाल नेपाल ‘फिस्टे’ डेढ दशकअघि निकै चर्चित हुनुहुन्थ्यो । टेलिशृङ्खलामा उहाँको अभिनयले खुबै ताली पाउँथ्यो । ‘ट्वाक्क टुक्क’ नामक हास्य टेलिसिरियलबाट स्थापित हुनुभएका उहाँ ‘जिरे खुर्सानी’ र ‘तितो सत्य’मा निकै चर्चित बन्नुभयो । ठूलो पर्दाका चलचित्रमा पनि उहाँको खुबै गुनगान भयो तर उमेरले जवानी भएसँगै उहाँ अमेरिका पलायन हुनुभयो । अभिनयमा व्यावसायिक निरन्तरता दिन सक्नुभएन ।

गोपाल र सलोन प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यस्ता धेरै बालकलाकारले पर्दालाई नै आफ्नो भविष्य देख्न सक्नुभएन । बाबुआमा कलाकार भएका नाताले बाल्यावस्थामै कला क्षेत्रमा आउनुभएका तर स्थापित नभएकाहरूको सूची पनि लामै छ । बालकलाकार सिने क्षेत्रमा स्थापित हुन नसक्नुमा अभिभावकको भूमिका पनि महìवपूर्ण हुने बताउनुहुन्छ– कलाकार पवन भट्टराई । “सन्तानको इच्छा एकातिर हुन्छ तर अन्य क्षेत्रमा प्रेरित गराउँदाको परिणाम पनि हो यो । त्यसका अलावा नेपाली चलचित्रमा कलाकारको भविष्य सुनिश्चित नहुनु अर्को दुर्भाग्यको कुरो हो,” उहाँले भन्नुभयो ।

‘नाइँ नभन्नु ल २’ चलचित्रमा अभिनय गरेर सबैको रोजाइमा पर्नुभएको छ– अनुभव रेग्मी । यस चलचित्रको सबै सिक्वेलमा अभिनय गर्नुभएका रेग्मीले ‘भिसा गर्ल’बाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । त्यस्तै आठ वर्षकै उमेरमा ‘लभ यु बाबा’ चलचित्र निर्देशन गरेर चर्चामा रहनुभएका छ– सौगात विष्ट । पहिलो चलचित्रबाट ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल हुनुभएका सौगातले ‘हैरान’ पनि बनाउनुभएको छ । सानी परी भनेर चिनिने एन्जल राईले ‘हैरान’मा सडक बालिकाको रूपमा अभिनय गर्नुभयो । यो भूमिकापछि उहाँको धेरैले तारिफ गरे ।  हलिउड र बलिउडको अवस्था हेर्दा बालमनोविज्ञानमा आधारित नेपाली चलचित्र र बालकलाकारमा थुप्रै कमजोरी पाउन सकिन्छ । समीक्षकले नेपाली चलचित्रको गुण र दोष केलाउने क्रममा यस्ता चलचित्र र बालकलाकारका बारेमा सल्लाह सुझाव दिन्छन् तर निर्माता–निर्देशकले समीक्षालाई आफ्नो मार्गदर्शन नठान्दा समस्या देखिने गरेका छन् । दर्शक र निर्माता–निर्देशकको बौद्धिकतामा देखिएको भिन्नताले पनि यो समस्या देखिएको हुन सक्छ तर ठूलो पर्दाका चलचित्रभन्दा वृत्तचित्रमा बालकलाकार र बालबालिकाका कथाले सफलता हासिल गरेका छन् । बालबालिकाको अवस्था, जीवनशैली, घरेलु बालश्रमिक, बालयौन हिंसालगायतका विषयमा बनेका वृत्तचित्रले उत्कृष्ट नतिजा दिइरहेका छन् । 

यसको उदाहरण सञ्चारकर्मी तथा निर्देशक सङ्गीता श्रेष्ठले निर्माण गर्नुभएको चलचित्र ‘आइसक्रिम’ हो । केही महिनाअघि मात्र यस चलचित्रले ‘अफ्रिका फिल्म फेयर इम्प्याक्ट फेस्टिबल’मा दुई विधामा पुरस्कार पाएको थियो । बालयौन शोषणमा आधारित नौ मिनेट लामो यस वृत्तचित्रले सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा बोलेको छ । बालिका यौन शोषणमा कसरी पर्छन् र यस किसिमको अपराधबाट कसरी बचाउने भन्ने उद्देश्यले वृत्तचित्र बनाएको श्रेष्ठको भनाइ छ । 

चर्चित साहित्यकार झमककुमारी घिमिरेले बाल्यकालमा भोग्नुपरेका सामाजिक, पारिवारिक समस्यालाई आधार मानेर निर्माण गरिएको ‘जीवन काँडा कि फूल’ले एक बालिकाको जीवन सङ्घर्षलाई उतारेको छ । बालमनोविज्ञान र आमा–छोराबीचको सम्बन्धबारे निर्माता सन्तोष सेनले निर्माण गर्नुभएको ‘मेरी मामू’ चलचित्रमा सात वर्षीय आयुव सेनलाई मुख्य भूमिकामा उतार्नुभएको छ । संवेदनशील र जीवन्त शैलीमा निर्माण भएको चलचित्र ‘कालोपोथी’ वृत्तचित्रले जर्मनीको ‘भेनस फिल्म फेस्टिभल’मा ‘बेस्ट अवार्ड’ जित्न सफल भयो । मीन भामले निर्देशन गर्नुभएको यस चलचित्रमा माओवादी जनयुद्ध चलिरहेका बेला बालमनोविज्ञानमा परेको असर र मुगु जिल्लाको सेरोफेरोलाई जीवन्त रूपमा उतारिएको छ । सामान्य कथालाई सशक्त शैलीमा उतार्नु, स्थानीय बालकलाकारलाई प्राथमिकता दिनुले पनि चलचित्रलाई उत्कृष्ट बनाएको छ । बेचिएको पोथी फर्काउन दुई बालक प्रकाश (खड्का नेपाली) र किरण (शुक्रराज रोकाया)ले गरेको सङ्घर्ष निकै मार्मिक भएकाले उत्कृष्ट बनेको समीक्षकको दाबी छ ।

भन्नलाई चलचित्रलाई ‘दृश्य साहित्य’ पनि भनिन्छ । दृश्यलाई नयाँ सिर्जना दिनसक्नु चलचित्रको सफलता हो । लामोभन्दा छोटा चलचित्रमा समेटिएको वास्तविक मौलिकता दर्शकको रोजाइमा परिरहेको छ । कस्मेटिक मौलिकताले भने चलचित्रलाई ओरालो यात्रामा प्रेरित गरेको पाइन्छ । नेपालमा बनेका छोटा चलचित्रहरू पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन हुन पाउनु र सफल हुनुलाई गर्वको विषय भएको समीक्षक तथा लेखक जीवन पराजुली बताउनुहुन्छ । “वास्तविक मौलिकता, जीवन्त कथावस्तु र स्थानीय पात्रको संयोजनमा बनेका चलचित्र सफल भएका छन् । यसबाट चलचित्र निर्माता निर्देशकले सिक्नुपर्छ,” पराजुलीले भन्नुभयो । 

बालबलिकाको सपना र इच्छालाई मुख्य आधार मानेर निर्माण गरिएको राजेशप्रसाद खत्रीका ‘जुलुङ्गो’ले केही महिनाअघि नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट जुरी अवार्ड नै जितेको थियो । त्यस्तै सडक बालबालिकाको वास्तविक कथामा आधारित चलचित्र ‘चकलेट’ पनि नेपाली दर्शकको रोजाइमा परेको चलचित्र हो ।

बलिउड स्टार प्रियङ्का चोपडाले निर्माण गरेको ‘पाहुना’ले पनि नेपाली बालबालिकाले द्वन्द्वमा भोगेको कथा बोकेको छ । द्वन्द्वकालमा नेपालबाट ज्यान जोगाउन भागेर भारतको सिक्किम पुगेका तीन बालबालिकाको कथा यस चलचित्रमा छ । यस कथाले तीनवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । यस्तै घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको चलचित्र ‘अञ्जली’मा देखिएका बालकलाकारको अभिनयले खुबै ताली पाएको थियो । यद्यपि नेपाली फिल्म नगरीमा बालकलाकार र बालकथामा आधारित चलचित्रले व्यावसायिक सफलता भने पाउन सकेको छैन । 

अहिलेको डिजिटल युगमा चलचित्रले बालबालिकाको मनोविज्ञानमा ठूलो असर पु¥याएको अध्ययनले देखाएको छ । बालमनोविद्ले चलचित्रमा देखाइने दृश्य र विषयवस्तुले बालमस्तिष्कमा नकरात्मक–सकरात्मक दुवै असर पारिरहेको बताउने गरेका छन् । बालमस्तिष्क कोमल र संवेदनशील हुने र त्यसमाथि नक्कल गर्ने स्वभावका कारण कहिलेकाहीँ दुर्घटना पनि निम्तिने गरेको छ । भारतीय सिने स्टार ऋतिक रोशनको चलचित्र ‘क्रिस’ हेरेर एक आठ वर्षीय बालक क्रिसजस्तै बन्न पटनाको एक अपार्टमेन्टको आठौँ तलाबाट हामफालेको खबरले सन् २००६ मा निकै चर्चा पाएको थियो । त्यसैले चलचित्र निर्माण गर्दा बालमनोविज्ञानलाई पनि ध्यान दिनुपर्छ ।