• १७ कात्तिक २०८२, सोमबार

पर्यटक आगमनमा सुधार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १७ गते । सन् २०१४ को अक्टुबरमा नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालबारे अन्योलको सूचना प्रवाहित हुँदा गिरावट आएको पर्यटक आवागमनमा पुनः सुधार आएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि अक्टुबरसम्म नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये अक्टुबरमा मात्रै एक लाख २८ हजार ४४३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन सन् २०२४ को तुलनामा तीन प्रतिशतले बढी हो । 

अक्टुबरमा सबैभन्दा बढी भारतबाट १७ हजार २९८, अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५ र जर्मनीबाट छ हजार ३६६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डका अनुसार सन् २०२५ जनवरीदेखि अक्टुबरसम्मको १० महिनामा सबैभन्दा बढी भारतबाट दुई लाख ४३ हजार, अमेरिकाबाट ९३ हजार, चीनबाट ७८ हजार, बेलायतबाट ४२ हजार, बङ्गलादेशबाट ४५ हजार, अस्ट्रेलियाबाट ३८ हजार, श्रीलङ्काबाट ३२ हजार, जर्मनीबाट २४ हजार, थाइल्यान्डबाट ११ हजार र उत्तर कोरियाबाट १९ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

जेनजी आन्दोलनका कारण सेप्टेम्बरमा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या १८ प्रतिशतले घटेको थियो । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख याम मानिन्छ । पर्यटक आगमनको मुख्य यामको प्रवेशद्वार मानिने सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक मात्रै नेपाल घुम्न आएका थिए । जुन सन् २०२४ को तुलनामा १८.३ प्रतिशत कमी रहे पनि अक्टुबरमा भने आसलाग्दो बढोत्तरी देखिएको छ ।