आऊ हामीसँगै बगौँ
एकै नदी बनेर
तिमी बग्छौ पल्लो पहाडबाट
म बग्छु वल्लो पहाडबाट
भए पनि फरक हाम्रा उद्गम स्थलहरू
मिल्छन् किन हाम्रा पानीका रङ्गहरू ?
जसरी मिल्छन् एकै धर्सामा
इन्द्रेणीका सातै रङ्गहरू
दुरुस्तै चिनी र पानी मिले जस्तै
आऊ हामी थापौँ बाजी
र छुट्याऔँ
दिनलाई आकर्षक उपहार
छुट्याउन सकोस् जसले
तिमीबाट मलाई
र मबाट तिमीलाई
या भनौँ चिनीबाट पानीलाई
र पानीबाट चिनीलाई...
आऊ हामीसँगै हिँडौँ
जहाँ जिन्दगीको यो लामो यात्रा
पनि छोटो लागोस्
आजसम्मको वियोगको पीडा
फुमन्तरमै भागोस्
आऊ म पर्खिरहेछु तिमीलाई
केही मिठा बात गर्नलाई
जहाँ खुल्ने छन् हाम्रा
परेलीहरूसँगै
चल्ने छ ढुकढुकीसँगै
श्वासप्रश्वाससँगै
थाहा छ, जब म पग्लिन्छु
तिमी जम्न सक्ने छैनौँ
इसारामा मेरो नाइँ भन्न सक्ने छैनौँ
भए पनि दुइटै यी आँखाका नानी
आखिर एउटै वस्तुलाई एकै पटक
एकै रूपमा देख्न सक्ने भएपछि
हामी एकअर्काका परिपूरक भयौँ ।
पर्ने छैन आवश्यकता कुनै शब्दको
बन्द नै भए पनि
हाम्रा ओठहरू बोलिरहने छन्
युगले नबोलेका शब्दहरू
बन्द नै भए पनि हाम्रा परेलीहरू
नियाल्ने छन्
युगले नदेखेका दृश्यहरू
त्यसैले आऊ हामी मिसियौँ
एक दोभानमा
एक सिङ्गो नदी बनेर
जसरी मिसिन्छन् सेती र मादी
अनि त्रिशूली र कालीगण्डकी
अनि मात्र यात्रा हाम्रो सुरु हुने छ
अनन्त कालसम्म ।
तपस्यारत तिमी पनि थियौ
तपस्यारत म पनि थिएँ
आखिर मागेको वरदान
एउटै त थियो
प्रेमको चुली बराबरै थियो
न अग्लो न होचो
न ठुलो न सानो
न कालो न सेतो
निचोरिँदा तिमी प्रेम नै त झथ्र्यो
निचोरिँदा म उसै प्रेम नै त बग्थ्यो
आखिर सबै बराबर !
बस् बराबर ! सब बराबर !
त्यसैले आऊ हामीसँगै
बग्दै बग्दै जाऔँ
अनेकौँ पानीका लहर बनेर
लहरिँदै लहरिँदै एकाकार भएर
जहाँ पर्खेर बसेको छ
एक विशाल समुद्र
हाम्रो स्वागतार्थ
मनाउनलाई खुसियाली
हामी एक भई
बग्दै आएको अवसरमा
हामी एकअर्कामा
विलीन भएको अवसरमा
एउटै भएको अवसरमा
हामी दुई नदी !!