• १२ पुस २०८२, शनिबार

अनुमति बिना सञ्चालनमा रहेका एग्रोभेट कारबाहीको दायरामा

blog

बर्दिवासस्थित एग्रोभेट पसलको निरीक्षण गर्दै कृषि अनुगमन टोली । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिवास, पुस १२ गते ।
महोत्तरी जिल्लाका विभिन्न बजार क्षेत्रमा सञ्चालनमा रहेका अधिकांस एग्रोभेट पसलहरू बिना अनुमसत तथा अव्यवस्थित रूपमा सञ्चालनमा रहेको पाइएको छ । बीउ बिजन प्रयोगशाला, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र तथा सम्बन्धित स्थानीय तहको कृषि शाखाको संयुक्त अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा गम्भीर कमजोरीहरू फेला परेका हुन् ।

बीउ बिजन प्रयोगशाला जलेश्वरका प्रमुख मनिष पालको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार दिनभर बर्दिवासका ४, औरहीका २ र गौशाला बजारका ५ गरी ११ वटा एग्रोभेट पसलको निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा अनुमति पत्र नलिइ कारोबार गर्ने, म्याद सकिएका कागजात नवीकरण नगर्ने, तालिम प्राप्त व्यक्ति बिना विषादी बिक्री गर्ने तथा बीउ भण्डारण कक्ष व्यवस्थित नराखिएको जस्ता अनेकन कमजोरी भेटिएको टोलीले जनाएको छ । अनुगमन टोली आएको थाहा पाएपछि बर्दिवासस्थित एभरेष्ट एग्रो सेन्टरका सञ्चालकले पसल बन्द गरी भागेका जनाइएको छ ।

औरही नगरपालिकामा गरिएको निरीक्षणका क्रममा बीउ व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात नराखी कारोबार गरिएको पाइएको छ । सोही क्रममा रामप्रित चौधरीले सञ्चालन गरेको जयसवाल किसान पसलमा मलखाद र विषादीसँगै बिस्कुट, पेय पदार्थ लगायतका खाद्य सामग्रीहरू समेत एकै स्थानबाट बिक्री गरिएको भेटिएको थियो । यसलाई गम्भीर लापरबाही ठहर गर्दै सुधारका लागि तत्काल निर्देशन दिइएको र कारबाही प्रक्रिया अघि बढाइएको अनुगमन टोली प्रमुख पालले जानकारी दिनुभयो ।

यस्तै, गौशाला नगरपालिकामा गरिएको निरीक्षणमा धेरैजसो एग्रोभेटमा अनुमति पत्र भए पनि भण्डारण कक्ष अव्यवस्थित रहेको तथा कतिपयले अनुमति पत्र विना नै व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ । गौशालास्थित रोशन बीज भण्डार ले बर्दिवास–१४ र बर्दिवास–५ टुटेश्वरमा एउटै नामबाट तीन वटा एग्रोभेट सञ्चालन गरे पनि तालिम प्राप्त व्यक्ति बिना विषादी बिक्री गरेको र बीउ व्यवसाय अनुमति पत्र नवीकरण नगरेको भेटिएपछि सञ्चालक बीरेन्द्रकुमार महतोलाई स्पष्टिकरण सोधिएको छ ।

त्यस्तै, बर्दिवास नगरपालिकामा रहेका दाहाल एग्रो ट्रेड कन्सर्न, फुँयाल एग्रोभेट सेन्टर, किसान एग्रो ट्रेडर्स तथा रोशन खाद बीज भण्डारमा पनि बीउ व्यवसाय अनुमति पत्र नलिइ वा समयमै नवीकरण नगरी कारोबार गरिएको पाइएको छ । कतिपय पसलमा तालिम प्राप्त व्यक्ति उपस्थित नरहेको तथा बीउ भण्डारण कक्ष व्यवस्थित नभएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोली प्रमुख मनिष पालले किसानको हित र गुणस्तरीय कृषि सामग्रीको सुनिश्चितताका लागि नियम विपरीत सञ्चालन भएका एग्रोभेटलाई सुधारका लागि निर्देशन दिइएको र आगामी दिनमा अनुगमनलाई थप कडाइका साथ निरन्तरता दिइने बताउनुभयो ।