• १२ पुस २०८२, शनिबार

वर्षभन्दा दिन लामो रहस्यमयी उल्टो ग्रह शुक्र

blog

राति आकाश अवलोकन गर्दा चन्द्रमापछिको सबैभन्दा चम्किलो पिण्डका रूपमा शुक्र ग्रह रहेको छ । प्राचीन रूपमा हिन्दु, मिश्र, रोम जस्ता सभ्यताले समेत यस ग्रहलाई उषाकालीन तथा सायङ्कालीन ताराका रूपमा पूजा गर्दै आएको पाइन्छ ।

सौर्यमण्डलमा अवस्थित आठ वटा ग्रहको आफ्नै विशेष प्रकारको आकृति संरचना एवं विशिष्टता रहेको छ । यी आठ वटा ग्रहमध्ये पनि सूर्यबाट दुरीका आधारमा दोस्रो ग्रह शुक्र अत्यधिक रहस्यमय एवं अन्य ग्रहको प्रकृतिभन्दा निकै पृथक् रहेको पाइन्छ । प्राचीनकालदेखि अर्वाचीनकालसम्म यसका विविध विशेषता उजागर हुँदै आएका छन् । सायङ्कालीन समयमा सूर्यास्त हुँदै गर्दा या उषाकालीन समयमा पूर्व आकाशमा चम्किने मनमोहक ताराका रूपमा आमजनमानसले परिभाषित गर्ने यो अकाशीय पिण्ड तारा नभएर एक ग्रह हो । 

हिन्दुहरूको पौराणिक कथामा शुक्रलाई राक्षसहरूको गुरु शुक्राचार्यका रूपमा चित्रित गरिएको छ । ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई भगवान् शुक्रको प्रतीकका रूपमा प्रस्तुत गर्दै यस राशिले सुखशान्ति, धन तथा समृद्धि ल्याउने ग्रहको प्रतीकका रूपमा मानिने गरिएको छ । सात वटा बारलाई विभिन्न ग्रहका नाममा राखिए अनुरूप शुक्रबारलाई शुक्रको नाममा राखिएको पाइन्छ । संस्कृतमा शुक्रको अर्थ शुक्राणु अर्थात् वीर्य हुन्छ; जुन जीवत्व तथा ऊर्जाको एक अर्को रूप हो । साथै प्रेम र सौन्दर्य कि रोमन देवीको नाममा यस ग्रहलाई अङ्ग्रेजीमा ‘भिनस’ भनिन्छ । त्यसैले अहिले पनि स्त्री र पुरुषको आपसी मिलनबाट हुने ‘यौन’ सम्बन्धी रोगहरूलाई ‘भेनरल डिजिज’ भनिन्छ । 

राति आकाश अवलोकन गर्दा चन्द्रमापछिको सबैभन्दा चम्किलो पिण्डका रूपमा शुशुक्र ग्रह रहेको छ । प्राचीन रूपमा हिन्दु, मिश्र, रोम जस्ता सभ्यताले समेत यस ग्रहलाई उषाकालीन तथा सायङ्कालीन ताराका रूपमा पूजा गर्दै आएको पाइन्छ ।  

सूर्यबाट शुक्र ग्रहको दुरी लगभग १० करोड ८० लाख किलोमिटर रहेको छ । यस ग्रहले पृथ्वीबाट तीन करोड ८० लाख किलोमिटरदेखि २६ करोड १० लाख किलोमिटरको दुरीमा सूर्यको परिभ्रमण गरिरहन्छ । यसले गर्दा परिभ्रमण गर्ने क्रममा पृथ्वीको निकटस्थ आउँदा यो पृथ्वीको सबभन्दा नजिकको छिमेकी ग्रह हुन आउँछ । 

यस ग्रहको पिण्ड पृथ्वीको भन्दा केही कम अर्थात् ८२ प्रतिशत र व्यास पृथ्वीको भन्दा ९५ प्रतिशत मात्र छ । एउटा ग्रहले सूर्यको वरिपरि एक फन्को लगाउने समयलाई हामी त्यस ग्रहको वर्ष भन्छौँ । आफ्नो अक्षमा एक फन्को लगाउने समयलाई दिन भन्छौँ । शुक्र ग्रहको एउटा विचित्र कुरा के छ भने यसले सूर्यको वरिपरि एक फन्को लगाउन पृथ्वीको २२४ दिन बराबर समय लगाउँछ । आफ्नो अक्षमा एक फन्को लगाउन पृथ्वीको बराबर २४३ दिन लगाउँछ । त्यसैले गर्दा यसको २२४ दिनको वर्ष हुन्छ । २४३ पृथ्वीको दिन बराबर एक दिन हुन्छ अर्थात् शुक्र ग्रहमा वर्षभन्दा दिन लामो हुन्छ ।

हामीले पृथ्वीबाट शुक्र ग्रह अवलोकन गर्दा चन्द्रमा जस्तै यसका पनि कलाहरू देखिन्छन् । यो पनि चन्द्रमा जस्तै पूर्णशुक्र, अर्धशुक्र तथा बालशुक्रका रूपमा विभिन्न आकृतिमा चन्द्रमा जस्तै देखिन्छ । 

शुक्र ग्रह पृथ्वी जस्तै एउटा ठोस धरातल भएको ग्रह हो । वैज्ञानिक रूपमा पृथ्वीसँग धेरै समानता भए पनि यसको वातावरण, सतहको स्थिति र तापक्रम अत्यन्तै उष्ण भएकाले यसमा जीवनको सम्भावना अत्यन्त न्यून छ । पृथ्वीको व्यास (आकार) १२७५६.२ किलोमिटर तथा शुक्र ग्रहको व्यास १२१०३.६ किलोमिटर रहेको छ । यसले यिनीहरूको आकार लगभग समान जस्तो रहेको देखाउँछ । पृथ्वीको वायुमण्डलमा नाइट्रोजन तथा अक्सिजनको बाहुल्य छ । शुक्र ग्रहमा कार्बनडाइअक्साइडको वायुमण्डल तथा सल्फ्युरिक एसिड जस्ता कडा अम्लका बादल छन् । शुक्र ग्रहको औसत तापक्रम ४५०० देखि ४७०० सम्म रहेको छ । यो यति उच्च तापक्रम हो कि यस तापक्रममा सिसा पनि सजिलैसँग पग्लिन्छ । यसको वायुमण्डलमा ९६ प्रतिशत कार्बनडाइअक्साइड साथै तीन प्रतिशत नाइट्रोजन र बाँकी एक प्रतिशत सल्फरडाइअक्साइड, पानीका अणुहरू तथा आर्गन आदि पदार्थ छन् । ग्रहलाई सल्फ्युरिक एसिडका बादलहरूले पूर्ण रूपमा छोपेको हुनाले ‘हरितगृह प्रभाव’ हुन गई सूर्यको तापक्रम शुक्र ग्रहभित्र प्रवेश गर्छ तर बाहिर निस्कन सक्दैन । यसले गर्दा यसमा अनियन्त्रित तरिकाले तापक्रम वृद्धि भएर एउटा नरक जस्तो उष्ण पारिस्थितिकीय प्रणाली उत्पन्न हुन जान्छ । शुक्र ग्रहको अध्ययन गर्ने क्रममा त्यहाँ ‘हरितगृह’ प्रभाव देखेपछि पृथ्वीमा पनि कार्बनडाइअक्साइडले हरितगृह प्रभाव पारिरहेको तथ्यलाई अध्ययन गर्न सहज हुनुका साथै यससँग सम्बन्धित विभिन्न तथ्य पनि उजागर भएका छन् । हरितगृह प्रभावले कसरी शुक्र ग्रहलाई अत्यधिक तप्त ग्रहमा परिणत गरेको छ । शुक्र ग्रहको अध्ययनले ‘हरितगृह प्रभाव’ ले एउटा ग्रहमा कस्तो डरलाग्दो स्थिति प्रादुर्भाव हुन सक्छ भन्ने तथ्य अध्ययन गर्न सहज भएको छ । साथै पृथ्वीमा पनि यस्तो भयावह स्थिति उत्पन्न नहोस् भनेर पृथ्वीको पारिस्थितिकीय प्रणालीको संरक्षणका लागि विशेष कदम चाल्न मानव प्रजातिलाई अभिप्रेरित गरेको छ । 

यसको अध्ययनबाट भविष्यमा पृथ्वीमा हरितगृह प्रभाव बढ्दै गएमा शुक्र ग्रह जस्तै पृथ्वी पनि एक निर्जीव ग्रहमा रूपान्तरण हुन सक्ने चेतावनीका रूपमा पनि रहन गएको छ । यी सब कारणले गर्दा शुक्र ग्रह सौर्यमण्डलको सबभन्दा तातो ग्रह पनि हो । सूर्यको सबभन्दा नजिकको ग्रह बुध ग्रहको तापक्रम पनि शुक्र ग्रहभन्दा कम रहेको छ । यसको अत्यधिक ताप, चाप र अम्लताले गर्दा यो पृथ्वीको भगिनी (सिस्टर प्लानेट) ग्रह भए पनि यहाँ जीवनको सम्भाव्यता अति न्यून छ ।


शुक्रको सतहभन्दा ५०–७० किलोमिटर माथिसम्म रहेको सल्फ्युरिक एसिडको बादलले सूर्यबाट आएको प्रकाशलाई ठुलो मात्रामा परावर्तित गर्नाले शुक्र ग्रहलाई एउटा चम्किलो पिण्डका रूपमा देखिन गएको हो । त्यसै गरी यसको वायुमण्डलीय दबाब पनि पृथ्वीभन्दा ९३ गुणा बढी छ । यसले गर्दा यसमा जीवन त के हाम्रा सामान्य यानहरूसमेत रहन नसक्ने अवस्था छ । यस ग्रहमा विशाल मैदान, ठुला ठुला पहाड, ज्वालामुखी तथा ज्वालामुखीबाट प्रवाहित लावाबाट निर्मित ससाना पहाडहरू आदि छन् । 

पृथ्वीको निकटस्थ, ठोस धरातल, घनत्व, आकार र गुरुत्वाकर्षणमा सामीप्य रहे पनि वातावरण जीवनका लागि चरम अवस्थामा रहेकाले वैज्ञानिकहरूले शुक्र सतहभन्दा ५० किलोमिटरमाथिका बादलहरूको तापक्रम तथा दबाब पृथ्वीको ताप तथा दबाबको बराबर रहने हुनाले त्यहाँ सूक्ष्म जीवाणुहरूको सम्भाव्यता प्रबल हुन सक्ने केही वैज्ञानिकको धारणा रहँदै आएको छ । शुक्र ग्रहको वायुमण्डलको माथिल्लो तहमा चरम वातावरणमा बाँच्ने (इक्सट्रिमोफिल) सूक्ष्म जीव रहन सक्ने सम्भाव्यताबारे अध्ययन भइरहे पनि हालसम्म विवादरहित तथ्यहरू फेला पर्न सकेका छैनन् । 

सौर्यमण्डलका छ वटा ग्रह पश्चिमदेखि पूर्व अर्थात् घडी घुम्ने दिशाको उल्टो दिशामा सूर्यको वरिपरि घुम्छन् । शुक्र ग्रह ठिक उल्टो दिशामा अर्थात् पूर्वदेखि पश्चिम दिशामा सूर्यको वरिपरि घुम्ने गर्छ । यसको अर्थ शुक्र ग्रहमा सूर्य पश्चिममा उदाएर पूर्वमा अस्त हुन्छ; जब कि पृथ्वीमा सूर्य पूर्वमा उदाएर पश्चिममा अस्ताउने गर्छ । यसरी उल्टो घुम्ने प्रक्रियालाई प्रतिघुर्णनन् (रेट्रोग्रेड रोटेसन) भनिन्छ । 

शुक्र ग्रह किन अन्य ग्रहको तुलनामा उल्टो घुम्छ भन्नेबारे विभिन्न सिद्धान्त प्रतिपादन भए पनि सर्वमान्य सिद्धान्तको अद्यापि अभाव देखिन्छ । सौर्य निर्माणको प्रारम्भमा शुक्र ग्रह पनि पृथ्वी, बुध, मङ्गल, वृहस्पति, शनि जस्तै पश्चिमदेखि पूर्वमा अर्थात् घडी घुम्ने विपरीत दिशामा घुर्णनन् गर्ने गथ्र्याे तर कालान्तरमा कुनै खगोलीय घटनाले गर्दा यसको आफ्नो अक्षमा घुम्ने दिशामा परिवर्तन आएको मानिन्छ । 

खगोलीय वैज्ञानिकहरूको बिचमा सबभन्दा लोकप्रिय सिद्धान्त ‘महाकाय ठक्कर’ को सिद्धान्त बढी प्रचलित छ । यस अनुसार प्रारम्भिक सौर्यमण्डलको निर्माणपश्चात्को युगमा एक भीमकाय उल्का पिण्ड वा आदि ग्रह (ग्रह निर्माणका क्रममा रहेको पिण्ड) आएर शुक्र ग्रहसँग ठोकिएको अनुमान गरिन्छ । किनभने उक्त कालमा निष्फल ग्रहका भीमकाय पिण्डहरू सौर्यमण्डलमा निरन्तर रूपमा वृष्टि भइरहेको हुन्थ्यो । उक्त ठक्कर कति शक्तिशाली थियो भने त्यसले शुव्रm ग्रहको गतिलाई पूर्ण रूपमा परिवर्तित गरिदियो वा यसले पूर्ण रूपमा ग्रहलाई नै उल्टो बनाइदियो । यसले गर्दा ग्रहको घुम्ने दिशा नै पूर्ण रूपमा परिवर्तित हुन गयो । 

अर्को सिद्धान्त अनुसार यसमा निहित अत्यन्त भारी वायुमण्डल (पृथ्वीभन्दा ९० गुणा भारी वायुमण्डल) तथा सूर्यबाट निरन्तर रूपमा प्रवाहित ऊर्जाले वायुमण्डल अत्यधिक तातिनुका साथै सूर्य गुरुत्व प्रभावले गर्दा अन्यन्त शक्तिशाली ज्वारभाटा तथा शक्तिशाली वायुको प्रवाह सृजित भएर वायुमण्डलीय प्रवाह शुक्र ग्रहको गतिभन्दा पनि तीव्र रूपमा प्रवाहित हुन थालेपछि ग्रह र वायुमण्डलको शक्तिशाली घर्षणले गर्दा विपरीत बल (टर्क) उत्पन्न भएर लाखौँ वर्षको अवधिमा ग्रहको गति बिस्तारै कम हुँदै गई अन्त्यमा रोकिन गई कालान्तरमा बिस्तारै विपरीत दिशामा घुम्न थालेको अनुमान गरिन्छ । त्यही कारणले शुक्र ग्रहको आफ्नो अक्षमा घुम्ने गति पृथ्वीको तुलनामा ज्यादै कम छ र पृथ्वीले २४ घण्टामा घुमेर एक दिन बनाउँछ । शुक्र ग्रहमा एक दिन हुन पृथ्वीको २४३ दिन लाग्छ । शुक्र ग्रहको सुस्त गति हुनुमा अतीव सघन वायुमण्डलबाट निरन्तर रूपमा उत्पन्न घर्षणबल, सूर्यको उक्त भारी वायुमण्डलमा (चन्द्रमाले पृथ्वीमा पार्ने ज्वारको बल जस्तै) पर्ने ज्वारीय शक्ति तथा महाकाय टक्करबाट उत्पन्न प्रभावको असरले गर्दा यसको गति सुस्त भएको मानिन्छ । मानव सभ्यताले निरन्तर रूपमा शुक्र ग्रहको अन्वेषण गर्दै आइरहेको छ । तत्कालीन सोभियत सङ्घले ‘भेनेरा’ अभियान अन्तर्गत २० वटाभन्दा बढी यान उक्त ग्रहमा पठाए पनि धेरै जसो यान उच्च दबाबका कारण केही क्षणमै नष्ट भएका थिए । 

‘भेनेरा मिसन’ अन्तर्गत शुक्र ग्रहमा अन्तरिक्ष यान प्रक्षेपण गरिए पनि भेनेरा–७ ले सन् १९७० मा शुक्र ग्रहमा अवतरण गरेर शुक्र ग्रहको चित्र पठाउन सफल भएको थियो । त्यसै गरी सन् १९८५ मा अमेरिकाले ‘मागेलान मिसन’ अन्तर्गत लगभग सम्पूर्ण शुक्र ग्रहलाई राडारबाट अध्ययन गरेर यसको नक्सा बनाउन सफल भएको थियो । यस अध्ययनबाट शुक्र सतहमा अत्यधिक रूपमा ज्वालामुखीय क्रियाकलाप रहेको पत्ता लाग्न गएको थियो । त्यसै गरी जापानबाट प्रक्षेपित यानले यस ग्रहको बादल तथा त्यहाँको हावापानी अध्ययन गर्न सफल भएको छ ।  भविष्यमा भारतको ‘आइएसआरओ’ तथा नासाले विभिन्न शुक्र मिसन सञ्चालन गर्न गइरहेका छन् । यी अध्ययनले शुक्र ग्रहको भौगोलिक इतिहास, यसको वायुमण्डल, मौसम आदिको अध्ययनका साथै विगतमा यसमा जीवन रहेको सम्भाव्यताबारे र स्वयम् सौर्यमण्डल तथा पृथ्वीको विकासक्रमबारे समेत धेरै प्रकाश पार्न सक्ने छ ।    

लेखक बाट थप