किएभ, पुस १२ गते । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नु भएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पुर्याउने प्रयास गरेको आरोप लगाएको छ ।
उक्त भेटमा नयाँ शान्ति प्रस्तावबारे छलफल हुने छ, जसले युद्धलाई हालको मोर्चामा स्थिर राख्ने र पूर्वी युक्रेनमा सैनिक रहित क्षेत्र सिर्जना गर्ने लक्ष्य राखेको छ । भर्खरै किएभमा केही विस्फोटका समाचार आएकोले अधिकारीहरूले नागरिकलाई हवाई आक्रमणको सम्भावित चेतावनीका लागि सचेत रहन आग्रह गरेका छन् ।
जेलेन्स्कीले युरोपेली सुरक्षा सङ्गठनका महासचिव, जर्मनीका प्रमुख मन्त्री र अन्य युरोपेली नेतासँग टेलिफोनमा वार्ता गर्नु भएको छ । नयाँ योजनामा युक्रेनले सम्भावित क्षेत्रीय सम्झौतालाई स्वीकार गरेको देखिन्छ । यसमा सुरक्षा प्रत्याभूति, पुनर्निर्माण र अर्थतन्त्र सम्बन्धी विषय समावेश छन् ।
रूसले भेटअघि योजना प्रति आपत्ति जनाएको छ । जेलेन्स्कीले भन्नुभयो,“रूसले सधैँ सहमति नदिने कारण खोज्छ । केही दिनभित्र उनीहरूको आधिकारिक जवाफ पत्ता लाग्ने छ ।” उहाँले युक्रेनले केही क्षेत्र फिर्ता दिनु अघि जनमतसंग्रह गर्ने र परमाणु ऊर्जा केन्द्रमा रूसको सहभागिता आवश्यक नहुने पनि स्पष्ट पार्नुभयो ।
नयाँ योजनाअनुसार युक्रेनले सैनिक सङ्गठनमा सदस्यता लिन खोजेको कानूनी अधिकार त्याग्नु पर्ने वा रूसले सन् २०१४ देखि कब्जा गरेको भूमि मान्यता दिनु पर्ने शर्त हटाइएको छ । यद्यपि रूस अझै डोनबास क्षेत्रबाट पूर्ण फिर्ता लिन र सैनिक सङ्गठनमा सदस्यता प्रयास रोक्न अडिग रहेको देखिन्छ । रासस/एएफपी