• ११ पुस २०८२, शुक्रबार

ताप्लेजुङबाट बुढाक्षेत्रीको एकल नाम सिफारिस

blog

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाद्वारा सिफारिस भएका नेता।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ११ गते। नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ खेलप्रसाद बुढाक्षेत्री (पराग) को एकल नाम सिफारिस गर्ने भएको छ। शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका लागि बुढाक्षेत्रीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्ष उम्मेदवारका लागि बुढाक्षेत्रीको एकल नाम सिफारिस गर्ने बैठकले सर्वसम्मत निर्णय गरेको नेकपाका नेता विष्णुकुमार लिम्बूले जानकारी दिनुभयो। बुढाक्षेत्री तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज रहनुभएको थियो। 

उहाँ यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस माओवादी सम्मिलित वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएको थियो। त्यसबेला एमालेका उम्मेदवार योगेशकुमार भट्टराईसँग बुढाक्षेत्री २०८ मतले पराजित हुनुभएको थियो।

यस्तै नेकपाले समानुपातिकतर्फ रामचन्द्र पोमु, दावाछिरिङ शेर्पा (विशालु), असिम लिम्बू र कल्पना लिम्बूको नाम सिफारिस गर्ने भएको छ। त्यस्तै राष्ट्रिय सभातर्फ पर्शुराम कार्की र नेत्र नेपालीको नाम सिफारिस गर्ने बैठकले निर्णय गरेको नेकपा ताप्लेजुङले जनाएको छ। यसअघि नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ।