क्यान्सर रोगीको मानसिक स्वास्थ्य निकै कमजोर हुन्छ । मानसिक स्वास्थ्यको अवस्था कमजोर हुन दिन हुँदैन ।
१५ वर्षअघि स्तन क्यान्सरसँग लड्दै आउनुभएकी प्रमिता खनाल पनि परिवारको साथ भयो भने क्यान्सरलाई सजिलै परास्त गर्न सकिने बताउनुहुन्छ ।
काठमाडौँ, कात्तिक १७ गते । काठमाडौँ, चाबहिलकी शोभा कार्की आत्मबल भएमा क्यान्सरलाई सजिलै पराजित गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ ।
२३ वर्षअघि सन् २००२ मा शोभाको शरीरभर नीलो डाम देखियो । लक्षण त्यतिमा मात्र सीमित भएन । पेट फुलेर ठुलो हुन थाल्यो । त्यो बेला उहाँ त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्नुहुन्थ्यो । उहाँमा पेट ठुलो हुँदा मानिसले गर्भवती भन्ने हुन् कि भन्ने त्रास थियो । काकाले तँलाई क्षयरोग भए जस्तो छ, अस्पताल गएर देखाउनु भनेपछि उहाँ वीर अस्पताल जानुभयो ।
चिकित्सकले रगत परीक्षण गर्न भने । त्यो समय स्मरण गर्दै कार्कीले भन्नुभयो, “केही दिनपछि रिपोर्ट लिन जाँदा चिकित्सकले यो कसको रिपोर्ट भनेर सोध्नुभयो, मैले मेरो भनेपछि चिकित्सक आत्तिनुभयो । चिकित्सकले पुनः सोध्नुभयो– तपाईंलाई केही भएको छैन ? मलाई केही भएको छैन भनेपछि चिकित्सकले तत्काल तपाईं भर्ना हुनुपर्ने भयो भन्नुभयो । मैले किन भर्ना हुने भनेँ । तपाईंको रिपोर्ट अनुसार भर्ना गर्नु पर्छ भनेपछि मलाई भोक लागेको छ, खाना खाएर आउँछु भनेर निस्केँ ।”
“पछि थाहा भयो, मलाई रक्त क्यान्सर भएको रहेछ,” कार्कीले भन्नुभयो, “क्यान्सर होला भनेर सोचेकै थिइनँ ।” शोभालाई वीर अस्पताल हुँदै भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पतालमा उपचार गराएपछि रक्त क्यान्सर पूर्ण रूपमा ठिक भएको छ ।
रक्त क्यान्सरबाट मुक्त भए पनि उहाँलाई फेरि सन् २०१९ मा स्तन क्यान्सर देखापर्यो । स्तन क्यान्सरलाई पनि उहाँले जित्नुभएको छ । शोभा अहिले क्यान्सरविरुद्ध सचेतना जगाउँदै आउनुभएको छ । कार्कीले क्यान्सरबारे जनचेतना फैलाउने कामसँगै ट्राभल एजेन्सीमा काम गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “क्यान्सरसँगको लडाइँ जारी छ तर आत्मविश्वास भए क्यान्सरलाई जित्न सकिने रहेछ ।”
पाठेघरको मुखको क्यान्सर जित्न सफल राधिका ढुङ्गानाको व्यथा उस्तै छ । उहाँ भन्नुहुन्छ, “क्यान्सर भएर पाठेघर निकालेको १७ दिनमा काममा गएकी छु ।” एकल महिला भएर पनि क्यान्सरलाई जित्न सफल उहाँ ७६ वर्षको बुबा र ७० वर्षकी आमासँग बस्दै आउनुभएको छ । उहाँले कहिल्यै बुवाआमासँग आफ्नो पीडा नसुनाई बस्ने गरेको बताउनुभयो ।
यसै गरी १५ वर्षअघि स्तन क्यान्सरसँग लड्दै आउनुभएकी प्रमिता खनाल पनि परिवारको साथ भयो भने क्यान्सरलाई सजिलै परास्त गर्न सकिने बताउनुहुन्छ । क्यान्सर रोगीको मानसिक स्वास्थ्य निकै कमजोर हुने भन्दै उहाँले मानसिक स्वास्थ्यको अवस्था कमजोर हुन दिन नहुने बताउनुभयो । उहाँले परिवारको सहयोग र आत्मबलले क्यान्सरलाई जित्न सकिने बताउनुभयो ।
क्यान्सर रोग विशेषज्ञ डा. आरपी बराल क्यान्सरको सबैभन्दा ठुलो औषधी भनेकै आत्मबल हो भन्नुहुन्छ । उहाँले क्यान्सरको पहिचान समयमै हुनुपर्ने भन्दै समयमा पहिचान गरेर उपचार भएमा क्यान्सर पूर्ण रूपमा निको हुने बताउनुभयो ।
उहाँले नेपालमै उच्चतम प्रविधिबाट क्यान्सरको उपचार हुने भन्दै विदेशमा क्यान्सर उपचारका लागि जानु पैसा मात्र सक्नु हो भन्नुभयो । उहाँले नेपालमा क्यान्सर रोगबारे सचेतना नभएको जानकारी दिँदै क्यान्सर रोगबारे सबैले बुझ्नुपर्ने बताउनुभयो । क्यान्सरसम्बन्धी सचेतना भएमा मानिस क्यान्सरबाट बच्ने र क्यान्सर पहिलो चरणमै थाहा पाउन सकिने बताउनुभयो । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पनि क्यान्सरबाट बच्न आत्मविश्वास हुनुपर्ने बताउनुहुन्छ ।