• १५ कात्तिक २०८२, शनिबार

भूकम्प [कथा]

blog

आज बिहान ऊ कतै डुल्न गएन । सधैँ बिहान ऊ कतै न कतै गइरहन्थ्यो । आज बिहानै भूकम्प गएपछि ऊ डरायो । कतै हिँडिरहेको बेला भूकम्प आएर थिचिने पो हो कि ? उसको डेरा पनि साँगुरो गल्लीको अन्तिम अन्तिमतिर छ । कोठाबाट निस्कँदैमा दुई अग्ला अग्ला बिल्डिङहरूको चेपबाट हिँड्नुपर्ने हुन्छ । धेरै लामो अन्तरालसम्म भूकम्पको भयावहता उसले बिर्सिसकेको थियो भन्न सकिन्न किनभने अन्तरमनमा कतै कम्पको भय दबेर बसेको थियो । ऊ झस्किन्थ्यो पनि कम्प गयो कि भनेर तर आज बिहान वास्तवमै भूकम्प गएपछि उसलाई अत्यन्त डर लाग्यो । 

समय जाडोको छ । पुस महिना हो यो । आजै फेरि भूकम्प जान तय भएकोे रहेछ । प्रकृतिको कुनै भरोसा छैन । प्रकृति क्रुद्ध भएको छ भनिन्थ्यो । बर्खामा भने उसको गल्लीभित्र पानी जमेको हो । धन्न उसले माथिल्लो तलामा कोठा लिएको थियो– दुई कोठा एक भान्सा तर चर्पीका लागि तलै जान पथ्र्यो । सस्तो पाइयो भनेर लिएको थियो कोठा । घाम पर्दैनथ्यो । पुसको महिनामा मात्र घाम नपर्ने होइन, चैत वैशाखमा पनि घामको अनुहार देख्न पाइँदैनथ्यो । पत्नी करकर गरिरहन्थी– बरु एक छाक खाने, अर्को कोठा खोजेर सरौँ । भन्न त सजिलो थियो, केटाकेटी भोक लाग्यो भनेर चम्चाले थाल बजाउन थाल्थे । हुन त उसको विचार पनि यही थियो, भने जस्तो अर्को कोठा पाएसम्म सर्ने तर त्यो भइरहेको थिएन ।

त्यसमाथि आज बिहान एकाएक भूकम्प गइदियो । कमको होइन, सात रेक्टर स्केलको । शक्तिशाली नै हो । जति रेक्टरको गए पनि भूकम्प भनेपछि मन काम्दो रहेछ डरले । यो अनुभव उसलाई भइरहन्थ्यो, भूकम्प जाने आशङ्काले । उसको परिवारले भूकम्पको अनुभव गरेको थिएन । मधेशबाट यसै वर्ष उसले लिएर आएको थियो । मधेशमा शीतलहरको प्रकोप थियो । गरिब र विपन्न मान्द्रो र बोरा ओढेर जाडोबाट बच्ने उपाय गर्थे । परिवारसहित पछि सरुवा मागेर मधेश झर्ने उसको विचार थियो । काठमाडौँमा खर्च धान्नै गाह्रो । 

खर्च त जसोतसो धानिराखेको थियो, तलका खेतको उब्जनी धानको चामल कुटाएर छ महिनालाई पुग्ने गरी उसका बाआमाले पठाइदिन्थे । आज भने बिहान गएको भूकम्पले उसलाई काठमाडौँको बसाइ छोट्याउन बाध्य पार्ला जस्तो थियो । भूकम्पले भत्केको घरले किचिएर मरिने हो कि भन्ने भयले उसलाई र परिवारलाई सताउन थालेको छ । अफिस पुगेपछि उसले मधेशतिर लाग्ने विचार सुनायो । सरुवा पाएसम्म मधेशतिरै जाने । उसको साथी उमेश भने यसमा सहमत हुन सकेन, भन्यो, “कालगति भनेको जहाँ पनि एकैनासको हुन्छ । जहाँ पनि सङ्कष्ट आउँछ । मधेश गएर अजम्बरी भइने होइन ।” उसका कुरा यस्तै ठाडा हुने गर्छन् । के गर्नु, एउटै फाँटमा काम गर्ने सहकर्मी हो । त्यसैले ऊ चुप लाग्यो । उमेशले भनेको हुन त हो– कहाँ गएर के हुने हो र ? मृत्युवरण गर्नेहरू जता पनि जसरी पनि मृत्युको मुखमा पुगेकै हुन्छन् । 

कोही त्रिवेणीमा बससहित खसेर बेपत्ता भएका हुन्छन् । कोही बोलेरो जिपबाट चार सय मिटर तल खसेर ठहरै भएका हुन्छन् त कोही करेन्ट सर्ट भएको आगलागीमा परेर, कोही ग्यास सिलिन्डर विस्फोट भएर त कोही फालेको बम खोस्रेर हेर्ने हुँदा पड्केर, कोही उपचारकै क्रममा वैकुण्ठवासी भएका हुन्छन् । मृत्युको भरोसा छैन । ‘आयो टप्प टिप्यो लग्यो’ भन्ने प्रसिद्ध कविताको पङ्क्ति छँदै छ तर उसको मनले मानिरहेको छैन । कालले टिपेको क्षणदेखि नै मृत्यु भइसकेको हुन्छ तर मृत्यु हुनुमा फरक छ । भूकम्पको मृत्यु र दुर्घटनाको मृत्यु अलग हो तर कसरी ? उसले फरक गर्न सकेन । दिमागमा मृत्युसम्बन्धी चिन्तनले खलबली ल्याइदियो । उसले आफ्नो आसनमा बस्नुअघि सहकर्मीहरूको कुरा सुन्यो । भूकम्पले गरेको जनधनको क्षतिको विवरण आउनै बाँकी छ भनियो तर भूकम्प नेपाल–चीन सीमामा गएको भन्ने समाचार प्रसारमा आइसकेको थियो । 

एउटा अनौठैको अनुभव हुने रहेछ भूकम्प भन्नु । उसको बिहानै उठ्ने बानी थियो र ‘मर्निङ वाक’ मा निस्कने पनि गथ्र्यो । दुध एक प्याकेट किनेर घर फर्कन्थ्यो तर आज त्यसो हुन पाएन । दुध पत्नीले नै डराई डराई तलको रासन पसलबाट ल्याई । सिँढी ओर्लन पनि उसलाई हतार भएको थियो, भूकम्पको डरले । उसले चेतायो पनि, “सिँढीबाट बल्ड्याङ खाइएला, सचेत भएर ओर्ल !” मधेशकी थिई पत्नी । भूकम्पको पहिलो अनुभव थियो । ओछ्यानमै बसेर रुन थाली– अब प्रलय आउन थाल्यो । हामी कोही पनि बाँच्दैनाँै भन्ने त्रासले ।   

भूकम्पले घर हल्लियो । हल्लिएपछि भूकम्प शान्त भएपछि घर स्थिर पनि भयो । उनीहरू पनि बाहिर निस्के । बाहिर झन् साँगुरो थियो, बिल्डिङैबिल्डिङ । एकमाथि अर्को खप्टिएर गल्लीमा त्राण खोज्न उभिएकाहरूलाई थिचेर एकै चिहान बनाउला जस्तो । ७२ सालको भूकम्पको अनुभव छ उसलाई । त्यसैले पनि उसलाई अरू दुर्घटनाभन्दा यो प्राकृतिक प्रकोप भूकम्पको अति डर लाग्छ । यो त राति मस्त निद्रामा भएको बेला एक्कासि आइदिन पनि सक्छ । आउने गर्छ । आज बिहान पनि यो पूर्वसूचना नदिएरै आएको हो । भूकम्प आएको पहिले उसले नै अनुभव ग¥यो । सुदूरपश्चिमतिर गइरहेको थियो भूकम्प । कहिले बझाङ, कहिले अछाम त कहिले मुगु । अफवाह थियो यस पटक सुदूरपश्चिमको पालो हो ठुलो भूकम्प खेप्ने । भूकम्प जाने पालो तोकिएको थियो । त्यो सूचनाले उसको दिमागमा डरको छेनी–हतौडाले कपेर बसेको रहेछ ।

आज बिहानको भूकम्प यसरी आउला भन्ने त थिएन तर उसले देख्यो एकाएक झ्यालका पर्दाहरू हल्लन थालेका छन् । ऊ सुतेको थिएन । जागिसकेको थियो । हातमुुख धोइवरि पलङमाथि बसेको थियो । पत्नी हिजो बचाएर राखेको दुध मिसाएर चिया पकाउन लागेकी थिई । ऊ दुध नभए कालै पनि पिउँथ्यो । पलङ हल्लियो । कोव्रmो सुस्त सुस्त हल्लाए जसरी तर भूकम्पको झट्काको अनुभव फरक फरक हुन सक्छ । उसले निदाउन कोव्रmोमा हालिएको बच्चालाई सुस्त सुस्त हल्लाए सरह घर हल्लिएको अनुभव ग¥यो । ७२ को भूकम्प भने तीव्र गतिको थियो– एक मिनेट जति घटट हल्लाएरै गयो ।  अति धेरै जनधनको क्षति र संहार गरेरै गयो । 

उसले एक्कासि घरभरिकाले सुन्ने गरी ठुलो स्वरमा भन्यो, “भूकम्प ! भूकम्प !!” ऊभित्र एउटा भयावह आशङ्का थियो, भूकम्प आज नभए भोलि त आउँछ आउँछ । भोलि भन्नु अनिश्चित हुन्छ तर जे भए पनि भूकम्पको त्रास उसभित्र थियो । मनमा लुकेर बसेको । उसले यो भन्न सक्तैनथ्यो, आजै भूकम्प जान्छ । तर वातावरण यस्तो थियो– चारैतिरबाट भूकम्पका समाचार आइरहेका थिए । हिजो दिउँसोभरि बिहान घाम पनि देखिएको होइन । त्यो मन अत्याउने खालको थियो । त्यसैको दुष्प्रभावमा ऊ थियो । 

उसले ठुलो स्वरमा भूकम्प भनेपछि पत्नी चिया छान्न छाडेर दौडँदै ऊ छेउ आई र सोधी, “खै ?” त्यो यति छोटो समयमा घटित भएको थियो, पत्नीले सोधिरहँदा पनि भूकम्प गइरहेकै थियो, चलायमान । धेरै तीव्र गतिमा होइन । सुस्त सुस्त भए पनि गम्भीर घात गर्ने चालले । उसले सोच्यो, भूकम्पको घात गहिरो हुन्छ । उसले विचार ग¥यो, यो परकम्प होइन । बहत्तरपछि धेरै भूकम्पका परकम्प जाने गर्थे । ती छोटा तर तीव्र वा कम अनुभव हुने खालका हुन्थे । 

पत्नीले जीवनमा पहिलो पटक भूकम्पको अनुभव गरिरहेकी थिई । ऊ थचक्क उसको छेउमा बसी । केटाकेटी निद्रामै थिए । ऊबाहेक अर्को सहारा थिएन यस राजधानीमा उसको । “अब के हुन्छ ?” हुनु के छ र ? उनीहरू झट्टै तल ओर्लन सकेनन् । पछि ओर्ले । कुनै दुर्घटना भएको होइन । भूकम्प गइसकेको थियो । उसले भन्यो, “यो सामान्य हो ।” पत्नीले अविश्वासले उसलाई हेरी । के पतिले साँच्चै भनिरहेका छन् ? यत्रो कम्प जाँदा पनि यो सामान्य हो भनिरहेछन् । भनाइ सही हो ? उसले पत्नीलाई अभयदान दिन सम्झाइबुझाइ ग¥यो । चिया खायो । अनि पत्नी पनि अलि सामान्य भई तर भनी, “यहाँ नबस्ने ?” यहाँ नबसे कहाँ जाने ? उसले प्रकटमा सोधेन तर काठमाडौँमा यो अनौठो घटना हुँदैनथ्यो । भूकम्प आइरहन्छन्, भूकम्प गइरहन्छन् । बाँच्नु नबाँच्नु भाग्य भरोसा । पत्नीलाई उसले ढाडस दिन भन्यो, “अफिसबाट चाँडै फर्कूंला ।” पत्नी डराएकी थिई । भातसँग एक थोक दाल र एक थोक तरकारी खुवाउँथी । छेउमा चटनी हुन्थ्यो, अमिलो पिरो । आज एउटा झोलवाला तरकारी मात्र खाए तिनले । “तपाईं अफिस जाने ? आज घरै बसे हुन्न ?” अफिस नगएर कति डराएर बस्ने ? अफिसमा एउटा जरुरी फाइल पनि थियो । त्यसको निप्टारा गर्नु थियो । उसले भन्यो, “म अफिस गए पनि चाँडै फर्कन्छु । डराउनुपर्ने कुरो होइन यो । यस्तो त भइरहन्छ ।” पत्नी चकित परी । भनी, “भइरहन्छ ? सालभरिमा कि वर्ष दिनमा । कति पटक ?” उसले सोच्यो– पत्नीलाई डराउनु दिनु छैन । भन्यो, “ठेगान हुँदैन । नहुन पनि सक्छ तर तिमी नडराऊ । सरुवाको चाँजो मिलाउँछु ।” यति भनेर ऊ अफिसतिर हिँड्यो । पत्नी घरमा डरले खुम्चिएर बसिरही । अर्को पटक अहिले पनि भूकम्प आउन सक्छ र यो सबै तहसनहस पारेर जान सक्छ भन्ने मानिरही । केटाकेटी स्कुल गए । पति काममा । अब भेट नहुन सक्छ । पक्कै पनि भेट हुँदैन होला भन्ने संशयमा अलमलिइरही । भूकम्पको ठेगान हुँदो रहेनछ । घरको काम ठिकसँग गर्न सकिनँ । भान्सामा कचौरा र रिकापी घरि घरि उसका हातबाट छुटिरहे । ऊ बाहिर निस्केर कुर्सीमा बसेर भूकम्पको डरले एकछिन रोई । केहीबेरपछि जिउ केही हलुङ्गो भयो र काममा लागी । काममा मन बहलाउनु ठिक देखी, अर्को उपाय देखिन । 

अर्को दिन ऊ अफिस गयो, नियमित समयमा । चिया ल्याएर दिई पत्नीले दैनिक समयमा । केटाकेटी पनि स्कुल गए । हिजो स्कुलबाट केटाकेटी फर्केर यति मात्र भनेका थिए, “भूकम्प हो कि मामु ? कस्तो हैन ?” आज त्यो कुरो उप्किएन । हिजो केटाकेटीको स्वरमा उत्सुकता मात्र थियो, रमाइलो मान्न पनि सक्थे । आज सामान्य दिनचर्यामा छन् । सबै सबै सामान्य दिनचर्यामा छन् । पूरै पृथ्वी हल्लिनु भनेको विनाशको सङ्केत हुन सक्छ तर कसले हो हल्लाएको ? एउटा केटाकेटी जिज्ञासा !

अर्को दिन सबै सामान्य भइसकेको थियो । सामान्य त भूकम्प गएकै दिन भइसकेको थियो । आज मात्र पत्नीको अनुहारबाट भयको छाया हटेको होे । उसको मनमा भने आशङ्का र भय थियो, “ठुलै भूकम्प जाने हो !” तर हाललाई उसकी पत्नीसमेतले भूकम्प पचाइसकेकी थिई ।