काठमाडौँ, कात्तिक १७ गते । यस वर्ष वर्षा र बाढीपहिरोका कारण कृषि क्षेत्रका ठुलो क्षति भएको छ । मनसुन सक्रिय हुने समयमा वर्षा कम वा बढी र बाहिरिने समयमा पनि असोजमा भएको वर्षाले नै ठुलो क्षति पुर्याएको थियो । बाली उठाउने बेलामा फेरि कात्तिकमा परेको पानीले पाकेको धान बालीमा क्षति पुगेको छ । सबै क्षतिको वास्तविक तथ्याङ्क प्राप्त भइनसके पनि लगभग पाँच अर्बको हाराहारीमा क्षति पुग्ने अनुमान गरिएको छ । असोजको तेस्रो साताको वर्षा, बाढीपहिरोबाट कृषि क्षेत्रमा पुगेको तथ्याङ्क सङ्कलन भइसक्न नपाउँदै कात्तिकमा क्षति भएको छ ।
असोजमा मात्र साढे तीन अर्ब रुपियाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जनाएको छ । तीन प्रदेशमा तीन अर्ब ५५ करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
कात्तिकमा भएको क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको मन्त्रालयले जनाएको छ । वर्षाका कारणले धान बाली र तरकारी बालीमा क्षति पुगेको छ ।
असोजमा आएको बाढीपहिरोबाट कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित भएका छन् । गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य क्षति भए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्षति नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढीपहिरोका कारण बालीमा तीन अर्ब रुपियाँभन्दा बढीको क्षति भएको छ । यस्तै पशुपन्छीमा १४ करोड ९० लाख ५२ हजार, कृषि पूर्वाधारतर्फ चार करोड ५९ लाख पाँच हजार र बिउबिजनतर्फ २७ करोड ९४ लाख चार हजार रुपियाँको क्षति भएको छ । सबैभन्दा धेरै मधेश प्रदेशमा दुई अर्ब ९८ करोड ४९ लाख रुपियाँ बराबरको क्षति भएको मन्त्रालयको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
बाढीले मधेश प्रदेशका सबै जिल्ला प्रभावित भई नौ हजार १८६ हेक्टर क्षेत्रफलमा डुबान तथा कटान भई धान, तरकारी, फलफूल, उखुमा क्षति पुगेको छ । उक्त प्रदेशमा ९९ हजार ८३३ मेट्रिक टन बाली वस्तुमा क्षति भएको छ । दुई लाख ७७ हजार ८५२ केजी बराबरको माछा र दुई हजार कुखुरामा क्षति पुगेको छ । मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले तीन प्रदेशमा सबैभन्दा धेरै धान बालीमा क्षति भएको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार कोशी प्रदेशमा एक हजार ४१४ हेक्टर क्षेत्रफलमा लगाएको धान, तरकारी, अलैँची, अदुवा, केरा आलु, चिया र कोदोमा क्षति भएको छ । कोशी प्रदेश मात्र ३४ करोड २४ लाख २५ हजार रुपियाँ बराबरको क्षति भएको छ । बाढीपहिरोको कारण एक हजार ७१३ हाँस, कुखुरा चार हजार ६९३ केजी माछा नष्ट भएका छन् ।
यस्तै बागमती प्रदेशमा १२ करोड ४६ लाख तीन हजार रुपियाँको क्षति भएको छ । डुबान र कटानका कारण ८७ हेक्टर क्षेत्रफलमा लगाएको धान, मकै, तरकारी र कोदोमा क्षति पुगेको छ । बागमती प्रदेशको नुवाकोटमा ४० हेक्टर, काभ्रेमा १० हेक्टर र सिन्धुलीमा ३७ हेक्टर क्षेत्रफलमा लगाएको धान, मकै र तरकारी बालीमा क्षति पुगेको छ ।
यस्तै गण्डकी प्रदेशमा एक हेक्टर क्षेत्रफलमा धान, तरकारी, सुन्तला र केरामा क्षति पुगेको तथ्याङ्कले देखाएको छ । लुम्बिनी प्रदेशमा तीन हेक्टर क्षेत्रफलमा लगाएको धान बाली बालुवाले पुरेको र डुबानमा परेको छ ।