प्रेमराज सिम्खडा
कालीकोट, फागुन ३० गते । कालीकोट, जुम्ला लगायतका हिमाली जिल्लामा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन् । कालीकोटमा ग्यास अभाव हुँदा आजैदेखि दाउराको जोहोतिर उपभोक्ता लाग्न थालेका छन् भने जुम्ला बजारमा ग्यास आपूर्ति अनियमित भएपछि बिहानैदेखि पसल तथा डिपो अगाडि उपभोक्ताहरूको लामो लाइन देखिन थालेको छ ।
कालीकोटको सदरमुकाम मान्म बस्दै आएका गणेश धमालाले ग्यासको अभाव देखिन थालेको बताउनुभयो । बजारमा ग्यासको अभाव हुने हल्ला र यथार्थ दुवै विषयमा छलफल चलिरहेको र उपभोक्ता ग्यास नभएमा दाउरा ल्याउन सुरु गर्नुपर्ने भन्दै आपसमा कुरा गर्ने गरेको बताउनुभयो । तर कालीकोटका ग्यास विक्रेता नन्दबहादुर शाहीले अभाव खासै नभएको, हल्लाका कारणले मौज्दात (स्टक) राख्नका लागि उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर समेत साट्ने गरेकाले अपुग भएको बताउनुभयो । उहाँले सुर्खेतबाट ग्यास आउँदै गरेकाले नआतिन अनुरोध समेत गर्नुभयो ।
उता जुम्ला बजारका विभिन्न स्थानमा भने महिला, बालबालिका देखि वृद्धवृद्धासम्म ग्यास सिलिन्डर लिएर पालो कुर्दै बसेको पाइएको छ । जुम्ला बजार बस्दै आउनुभएका रामबहादुर रावतले कुनै अफवाह नभएर यथार्थमा जुम्लामा ग्यास अभाव भएको प्रमाण यो लाइनले पुष्टि गरेको बताउनुभयो । केही दिनयता ग्यास आपूर्ति कम भएपछि दैनिक खाना पकाउनै समस्या परेको उपभोक्ताहरूको गुनासो छ ।
जुम्ला खलङ्गा बस्दै आउनुभएका व्यापारी धनप्रसाद न्यौपानेले एक सातादेखि ग्यासको अभाव भइरहेको बताउनुभयो । न्यौपानेले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा देखिएको तनाव र लडाइँका कारणले नेपालमा पनि प्रभाव परेको र द्वन्द्वको प्रभावका कारण अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली प्रभावित भएकाले अभाव भएको आफूले सुनेको बताउनुभयो । त्यसको असर नेपालसम्म आइपुगेकाले ग्यास ढुवानी र आपूर्तिमा ढिलाइ भएको ग्यास विक्रेता तथा डिपोहरूको भनाइ रहेको न्यौपानेले सुनाउनुभयो ।
माग अनुसार ग्यास नआउँदा कालीकोट, जुम्ला जस्ता दुर्गम जिल्लामा समस्या झन् बढी देखिएको स्थानीयको भनाइ छ । “घण्टौँ लाइन बसेपछि मात्रै ग्यास पाइन्छ, कतिपय दिन त नपाइने अवस्था पनि हुन्छ,” एक उपभोक्ताले सुनाउनुभयो । स्थानीयवासीले ग्यास आपूर्ति नियमित बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् । बजारमा ग्यास अभाव लम्बिँदै गए दैनिक जीवन झनै प्रभावित हुने चिन्ता सर्वसाधारणमा छ ।