चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ३० गते । ताप्लेजुङका नौ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सिरिजङ्घा गाउँपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा सबैभन्दा बढी अङ्क प्राप्त गरी सिरिजङ्घा गाउँपालिका प्रथम भएको हो ।
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ६८.१० अङ्क प्राप्त गरी सिरिजङ्घा प्रथम भएको हो । यसअघि वित्त आयोगको प्रारम्भिक मूल्याङ्कन नतिजामा पनि जिल्लामा सिरिजङ्घा गाउँपालिका नै प्रथम भएको थियो । यस्तै ६५.७० अङ्क प्राप्त गरेर पाथीभरा याङ्वरक गाउँपालिका दोस्रो भएको छ।
प्रारम्भिक नतिजाभन्दा पाँच अङ्कले सुधार गर्दै मैवाखोला गाउँपालिका तेस्रो भएको छ । मैवाखोलाले प्रारम्भिक नतिजामा ५८.६८ अङ्क ल्याएको थियो भने अन्तिम नतिजामा ६३.६८ अङ्क पाएको छ । त्यस्तै ६० अङ्क प्राप्त गरेर मेरिङ्देन गाउँपालिका चौथो र ५८.५८ अङ्क प्राप्त गरी मिक्वाखोला गाउँपालिका पाँचौँ भएको छ ।
यसैगरी आयोगको अन्तिम नतिजामा सिदिङ्वा गाउँपालिकाले ५७.८८ अङ्क र फक्ताङ्लुङ गाउँपालिकाले ५६.७४ अङ्क प्राप्त गर्दै क्रमशः छैटौँ र सातौँ भएका छन् । जिल्लाको एक मात्र फुङ्लिङ नगरपालिकाले ५०.६२ अङ्क पाएर आठौँ भएको छ भने सबैभन्दा कम ४९.३१ अङ्क प्राप्त गरेर आठराई त्रिवेणी गाउँपालिका नवौँ अर्थात् अन्तिम भएको छ ।
प्रदेश सरकार तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधिअनुसार विभिन्न १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नतिजा प्रकाशन गर्ने गरेको छ । आयोगले गत माघ २९ गते प्रारम्भिक नतिजा प्रकाशित गर्दै पुनरावलोकनका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई समय दिएको थियो ।
कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजा भने आयोगले यही बुधबार सार्वजनिक गरेको हो । यता प्रदेश तथा स्थानीय तहले प्राप्त गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान बजेट उपलब्ध गराउने गर्दछ ।