• १६ कात्तिक २०८२, आइतबार

निर्वाचन राष्ट्रकै अर्जुनदृष्टि

blog

एउटा विषम परिस्थितिले निम्त्याएको जेनजी आन्दोलन सम्भावित ठुलो दुर्घटना टार्दै जसरी ‘सेफ ल्यान्डिङ’ भएको छ । आन्दोलनबाट सिर्जित परिस्थिति सहज बन्दै अधिकतम परिणाममुखी हुनुपर्ने थियो तर विकसित घटनाक्रम नियाल्दा यस्तो हुन सकिरहेको छैन । राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिनुपर्नेमा अझै पनि व्यक्तिगत, गुटगत र दलगत स्वार्थलाई प्राथमिकता दिँदै त्यसैलाई सर्वोपरि ठान्ने प्रवृत्ति देखिएको छ । 

आन्दोलनपश्चात् पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । घोषित मिति २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराएर निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नु यसको प्रमुख काम हो । तसर्थ अन्य मुद्दामा नअल्झी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर त्यसैमा पूर्ण रूपमा लागि पर्नु जरुरी हुन्छ । यसका लागि जेनजी समूह, राजनीतिक दल, नागरिक समाज सबैले सक्दो सहयोग पुर्‍याउनु अपरिहार्य छ । यसको विपरीत जो कोहीले पनि अनावश्यक बखडा निकालेर आआफ्नो स्वार्थलाई अगाडि सारेर सरकारलाई दबाब दिनु, तनाव सिर्जना गर्नु उचित ठहरिँदैन । सरकार अन्य मुद्दामा अल्मलिन निर्वाचन सफल बनाउने अभियानमा लाग्नु पर्छ । 

यति बेला त्यो वा यो मानेमा कसैको चाहनामा जो कसैलाई कारबाही गर्ने, मुद्दा लगाउने, जेल हाल्ने जस्ता क्रियाकलापबाट सरकार अलग रहनु पर्छ । सरकार परिपक्व भएर आफ्नो मिसन सफल बनाउनतर्फ लाग्नु पर्छ । यदाकदा सुनिनमा आउँछ–फलाना, फलाना भ्रष्टाचारीलाई कारबाही गर । जेल हाल । नभए प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ । कानुनी रूपमा छानबिन गरेपश्चात् दोषी प्रमाणित भएपछि कारबाही गर्नुपर्ने कानुनी प्रावधान होला । यही सरकारले छानबिन गरी कारबाही गरे कारबाही हुने नभए नहुने भन्ने पक्कै होइन । यसका लागि निर्वाचित सरकार बनिसकेपश्चात् पनि कारबाही गर्न सकिन्छ । दोषी प्रमाणित हुनु प¥यो । आवेगमा, आक्रोशमा आएर कसैले पनि सरकारलाई अनावश्यक दबाब दिनु उपर्युक्त हुँदैन । मनोगत ढङ्गले होइन वस्तुवादी भएर यो चुनावी सरकारलाई सहयोग पु¥याउँदा राष्ट्र र जनता दुवैको भलो हुने छ । प्रतिनिधि सभा भङ्ग भएको परिस्थितिमा यो सरकारको पहिलो प्राथमिकता भनेको प्रतिनिधि सभाको निर्वाचन गराएर देशलाई चाँडोभन्दा चाँडो निकास दिनु हो । यसका लागि सबै एकजुट भएर लाग्नु जरुरी छ । 

हो, भ्रष्टाचारीलाई, अपराधीलाई कानुनी कठघरामा उभ्याएर देशको कानुनबमोजिम सजायको भागी बनाउनै पर्छ । चाहे जोसुकै किन नहोस् । यसमा दुई मत नै छैन । यति बेला उपर्युक्त समय होइन भन्न खोजिएको मात्र हो । अबका दिनमा दण्डहीनताले प्रश्रय पाउनु हुँदैन । अपराधीले छुट पाउनु हुँदैन । निर्दोषले दण्ड पाउनु हुँदैन । जनताले कानुनी राज्यको महसुस गर्न पाउनु पर्छ । ‘ठुलालाई चैन, सानालाई ऐन’ को अहिलेको अवस्थाको अन्त्य हुनु पर्छ । जसले गर्दा अबका दिनमा कसैले पनि भ्रष्टाचार गर्ने हिम्मत गर्न नसकोस् । अपराध गर्ने आँट गर्न नसकोस् । त्यसपश्चात् बल्ल हामीले चाहेको सुशासन, शान्ति, अमनचयनसहितको समृद्ध नेपाल बन्न सक्छ । एउटा सुन्दर समाजको निर्माण हुन सक्छ । यसका लागि हामी सबै एकजुट भएर अब आउने निर्वाचन सफल बनाउनुपर्ने छ । निर्वाचनमा मत दिँदा ‘हाम्रो मान्छे होइन, राम्रो मान्छे’ लाई मत दिएर निर्वाचित गराउनु जरुरी छ । जसका कारण हाम्रो अमूल्य मत खेर नजाओस् । मतको दुरुपयोग नहोस् । 

आगामी निर्वाचित सरकार नेपाली जनताले परिकल्पना गरेको, चाहेको बनोस् जसले देशमा सुशासन, शान्ति, अमनचयन, समानता कायम गरी देशलाई समृद्ध बनाएर सुन्दर, शान्त र विशाल नेपालको निर्माण गरोस् । अबको नेपाल परनिर्भर होइन, यहाँका असीमित स्रोतसाधनको सदुपयोग गरी अत्मनिर्भर बनोस् । हरेक सामान आयात गर्ने होइन, निर्यात गर्न सक्ने बनोस् र रेमिट्यान्सले देश चलाउने अवस्थाको अन्त्य होस् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक हाम्रो देशमा अनगन्ती धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक धरोहर रहेका छन् । हाम्रो देश अनुपम सुन्दर उत्कृष्ट कलाकृतिले सिङ्गारिएको छ । प्राकृतिक रूपमा त्यत्तिकै सुन्दर र रमणीय छ । यी सबै धरोहरलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गरौँ । त्यसै गरी हाम्रो देश कृषिप्रधान हो । हामीसँग थुप्रै कृषियोग्य जमिन छन् । आज ती सबै बाँझिएका छन । बन्जर बनेका छन् । अब बन्ने सरकारले एउटा दह्रो राष्ट्रिय नीति बनाओस् र ती बन्जर बनेका सबै कृषियोग्य जमिन पुनर्उत्पादनका लागि तयार गरोस् । यसका लागि कृषकलाई सहुलियत ऋणको व्यवस्था, उत्पादित वस्तु उचित मूल्यमा बिक्री गर्नका लागि बजारको व्यवस्था (ताकी दलालले कृषकलाई ठगी गर्न नपाओस्), आधुनिक कृषि औजारको व्यवस्था, समयमै मल, बिजनको व्यवस्था मिलाओस् । 

हाम्रो देश संसारमै भिन्न विशेषता बोकेको देशको रूपमा परिचित छ । हामीसँग हिमाल, पहाड र तराई अलग अलग भूगोल रहेका छन् । केवल आधा घण्टाको फरकमा रहेको बुधबारेमा अखण्ड गर्मी हुन्छ भने आधा घण्टाकै फरकमा रहेको इलामको भूभागमा जाडो हुन्छ । जकेट लगाउनु पर्छ । संसारमै नपाइने विशेषता हो यो । यिनै विशेषतासँगै हामीसँग प्रसस्तै प्राकृतिक स्रोतसाधन रहेका छन् । अलग अलग भूगोलमा अलग अलग वन्यजन्तु, वनस्पति, रुख बिरुवा, चराचुरुङ्गी, कीटपतङ्ग, हावापानी पाइन्छ । मानिसको संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, लवाइखवाइ पनि अलग अलग भेटिन्छ । तिनै भिन्न विशेषता भएका प्राकृतिक स्रोतसाधनको सदुपयोग गरेर जडीबुटीजन्य, कृषिजन्य, वनस्पतिजन्य उद्योग सञ्चालन गरेर रोजगारीको सिर्जना गर्न सके रोजगारीका लागि युवा बिदेसिनुपर्ने अवस्था रहँदैन । आगामी निर्वाचित सरकारले यिनै विषयमा गम्भीर भएर ध्यान पु¥याओस् र एउटा आत्मनिर्भर, स्वाभिमान र सबल राष्ट्र निर्माण गरोस् । यसका लागि आगामी निर्वाचित जनप्रतिनिधि व्यक्तिगत, दलगत स्वार्थभन्दा माथि उठ्नु जरुरी हुन्छ । आफ्नो, आफ्नो परिवारको, आफन्तको हितका लागि पद र कुर्सीको दुरुपयोग होइन, राष्ट्रको हितका लागि पदको सदुपयोग गर्नुपर्ने हुन्छ । इच्छाशक्तिलाई देश निर्माणमा लगाउनुपर्ने हुन्छ । यसैमा सबैको हित हुन्छ, भलो हुन्छ ।