• १६ कात्तिक २०८२, आइतबार

पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको म्याद थप्ने तयारी

blog

प्रवीणकुमार शर्मा 
रौतहट, कात्तिक १६ गते ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रौतहटका स्थानीय तहमा साविकको निमित्त प्रमुख प्रशासकीय अधिकृतको म्याद थप्ने तयारी गरेको छ । मन्त्रालयले गत भदौ १२ गते नै दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाए पनि खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नमानेपछि बाध्य भएर साविकको निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निरन्तरता दिनुपरेको मन्त्रालयका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

हाललाई एक महिनाको म्याद थप गरिने उहाँले बताउनुभयो । यस अघि असोज मसान्तसम्मका लागि मन्त्रालयले म्याद थप गरेको थियो । म्याद सकिएपछि हाल रौतहटका १२ वटा स्थानीय तहको खाता रोक्का छ ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्नुपर्नेमा सो गर्न नसकेको नगर प्रमुखहरुको गुनासो छ ।

बौधीमाइ नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादवका अनुसार  हाल पालिकाको खाता बन्द रहेकाले साविकको निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निरन्तरता दिनका लागि मन्त्रालयले पत्र लेख्न लगाएको गुनासो पोख्नुभयो । देवाही गोनाही नगरपालिका र गुजरा नगरपालिकाका साविकका प्रमुख प्रशासकीय अधिकृत रमाना लिएर गएपछि त्यहाँ पनि हाललाई वरिष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने तयारीमा मन्त्रालय पुगेको छ ।

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुका अनुसार मन्त्रालयले वरिष्ठ कर्मचारीलाई जिम्मेवारी दिन खोजे पनि आफू सङ्घीय सरकारको अधिकृत या उपसचिवकै खोजीमा काठमाडौँ आएको बताउनुभयो ।

उहाँका अनुसार आफूले शाखा अधिकृत सञ्जीव साहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन अनुरोध गर्दा मन्त्रालयले नमानेको बताउनुभयो ।

पालिकाको काम छोडेर काठमाडौँ आएर उपसचिव खोज्ने कार्यमा जुटेको उहाँले गुनासो पोख्नुभयो । दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको सबै काम ठप्प भएको उहाँले बताउनुभयो ।

अर्कातिर कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव गणेश नेपाली बिदामा बसेका छन् ।

नगरपालिकामा काम गर्ने वातावरण नभएको भन्दै बाध्य भएर बिदामा बस्नुपरेको उपसचिव नेपालीले बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पालिकाको वस्तुस्थिति जानकारी गराएर बिदामा बसेको र नगरपालिकाका नगर प्रमुख अजय प्रकाशलाई अनुकूलको प्रमुख प्रशासकीय अधिकृत खोजी गर्न भनि सकेको उहाँले बताउनुभयो ।

कटहरिया नगरपालिकामा करिब एक सय ७० जना करारको कर्मचारीको तीन वर्षदेखिको बक्यौता तलबसम्बन्धी विवाद रहेको उपसचिव नेपालीको भनाइ छ । कतिपयको नियुक्ति पत्र लगायतका कागजात नरहेको अवस्था रहेको बताउनुहुँदै उपसचिव नेपालीले यतिका दिनसम्म कर्मचारीलाई तलब भत्ता नदिनुको पर्याप्त कारण समेत आफूले बुझ्न नसकेको बताउनुभयो ।

सबै प्रक्रिया पुगेका करारका कर्मचारीलाई कार्यपालिका निर्णयको आधारमा तलब भत्ता दिन आफू नगर प्रमुख अजय प्रकाशलाई आग्रह गर्दा उहाँले सबैको एकै पटक दिन दबाब दिनुभएकाले हाजिर भएको डेढ महिना नबित्दै पालिका छोड्नुपरेको उपसचिव नेपालीले गुनासो पोख्नुभयो ।

नियम कानुन बाहिर गएर काम गर्न सक्ने अवस्था नरहेकाले आफूले बिदामै बस्ने विकल्प रोजेको उहाँले बताउनुभयो ।

कटहरिया नगरपालिकाका करारका कर्मचारी तलब नपाएर आन्दोलित छन् । यस अघि वडा कार्यालयमा तालाबन्दी गरेका करारका कर्मचारी छठपर्व लगत्तै नगरपालिका तथा वडा कार्यालय ठप्प पारेका छन् ।